साझा चौतारी

साझाचौतारी – रामजी बराल

भारतले माओवादी हावी भएको संविधान हेर्न चाहँदैन- अध्यक्ष खनाल

Posted by shajhachautari on November 11, 2009

काठमाडौं,२५ कात्तिक/ नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले भारतले नेपालमा माओवादी हावी भएको संविधान हेर्न नचाहेको बताउनुभएको छ । उहाँले कुनै एक दलको बर्चस्व मात्र नभई सहमतिको आधारमा संविधान निर्माण गर्न सुझाव दिएको जानकारी दिनुभयो । साताब्यापी भारत भ्रमण सकेर आज स्वदेश र्फकनुभएका अध्यक्ष खनालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भन्नुभयो, ‘भारतले माओवादी हावी भएको संविधान हेर्न चाहदैन । सहमतिको आधारमा सबै दललाई मान्य हुने संविधान निर्माण होस् भन्ने उसको चाहना छ ।’ अध्यक्ष खनालले आफ्नो भारत भ्रमण उपलब्धिमूलक रहेको बताउनुभयो । नेपालको शान्ति र संविधान निर्माण प्रक्रियामा भारतको उच्च सदभाव नै भ्रमणको मुख्य उपलब्धि भएको खनालको भनाइ छ । भारतीयहरुले नेपाली जनताको फैसला भारतले समर्थन गर्ने बचन दिएको बताउँदै अध्यक्ष खनालले नेपालको आन्तरिक समस्या समाधान गर्न विदेश जाने प्रचलन भएपनि नेपालमा राजनीतिक दलहरु मिलुन् भन्ने चाहना भारतले राखेको जानकारी दिनुभयो । भेटका क्रममा भारतीय अधिकारीहरुले नेपाली भुमी प्रयोग गरेर भारतीय सुरक्षामा खतरा हुनसक्नेबारे जिज्ञासा राखेको र आफूले नेपालको भुमी कुनै पनि छिमेकीविरुद्ध प्रयोग हुन नदिने सरकारी धारणा प्रस्तुत गरेको खनालले स्पष्ट पार्नुभयो ।

भेटघाटका क्रममा भारतीय नेताहरुले नेपालको संविधान निर्माण, शान्तिप्रक्रिया, शान्ति सुरक्षा, राजनीतिक दलहरुबीचको समझदारी लगाएतका विषयमा जिज्ञासा राखेको उहाँले जानकारी दिनुभयो । भारतले नेपालमा शान्ति, स्थिरता र प्रगति चाहेको भन्दै उहाँले आफ्नो भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाएको दावी गर्नुभयो । पत्रकार सम्मेलनमा अध्यक्ष खनालले राष्ट्रिय सहमतिका लागि सबै दलहरु एक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आन्दोलन छाडेर वार्ता र सहमतिमा आउन माओवादीलाई आग्रह पनि गर्नुभयो । भारत भ्रमणका क्रममा अध्यक्ष खनालले त्यहाँका प्रधानमन्त्री डा. मनमोहन सिंह, गृहमन्त्री पी. चितम्वरम्, अर्थमन्त्री प्रणव मुखर्जी, विदेशमन्त्री एसएम कृष्णा र विदेश सचिव निरुपमा राव लगायतसँग उच्च राजनीतिक भेटघाट गर्नु भएको थियो । भारत भ्रमणबाट फर्केका खनाललाई अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्न उपाध्यक्ष बामदेब गौतम, अशोक राई लगाएतका नेता गए पनि केपी ओली गुटका भने कोही नेता गएका थिएनन् ।

Posted in ‘समाचार’ | Leave a Comment »

प्रहरी कार्यालय नै भ्रष्टाचारको अखडा

Posted by shajhachautari on November 10, 2009

प्रायः भन्सार र राजस्वका कार्यालयमा मात्रै बढी भ्रष्टाचार भएको अनुमान आम जनताले गरिरहेका हुन्छन्। तर, महिनावारी उठाउने मामिलामा उपत्यकाभित्रका प्रहरीका कथित लाइनका नाममा भ्रष्टाचार तिनीहरुभन्दा कम छैन। उपत्यकाका प्रहरी लाइनमा बस्ने हाकिमहरुले राजस्वका कार्यालयका हाकिमभन्दा कम कमाउँदैनन्। प्रहरीका हाकिमहरुले मासिक १० लाखभन्दा बढी रकम असुल गर्छन्। तर, प्रहरीका लाइनमा बस्ने हाकिमले यति रकम त महिनावारीको रुपमा नै सजिलै हात पार्छन्। अझै तल्लो स्तरमा गिरेर काम गरेमा २/५ लाख थपिन्छ। महानगरीय प्रहरी आयुक्तको कार्यालयमा हाल अतिरिक्त प्रहरी महानिरीक्षक एआईजी कल्याण तिमिल्सना कार्यरत छन्। उनकै विभागअन्तर्गत महानगरीय प्रहरी परिसर हनुमानढोकामा प्रहरी उपरीक्षक नवराज सिलवाल कार्यरत छन्। यी दुबै निकायले महिनावारी उठाएको रकमको निश्चित रकम प्राप्त गर्दछन्। महानगरीय प्रहरी प्रभाग दरबारमार्गमा मासिक ८ लाख नियमित कमाइ छ। यस प्रभागमा हाल प्रहरी निरीक्षक बामदेव गौतम कार्यरत छन्। उनलाई पूर्व गृहमन्त्री बामदेव गौतमले मन्त्री भएको १५ दिनमै एक वर्षअघि सरुवा गरेर मालदार लाइनमा ल्याएका थिए। यस प्रभागअन्तर्गत मुख्यतः क्यासिनो पर्दछन्। यस प्रभागअन्तर्गत पर्ने प्रत्येक क्यासिनोले महिनाको घटीमा मात्रै एक लाख महिनावारी अग्रिम पेस्कीका रुपमा बुझाउँछन्। यसबाहेक खाजा र मदिराका बोटलको त हिसाबकिताब नै छैन। यसअन्तर्गत डान्सबारदेखि रात्रिक्लबहरु पनि असंख्य छन्। यस्तै, प्रहरीको सबैभन्दा बढी चुस्त पैसा कमाउने कार्यालयको रुपमा महानगरीय प्रहरी प्रभाग सोर्हकखुट्टे छ। यस प्रभागको मासिक आम्दानी कम्तीमा १० लाख हो। यस प्रभाग अन्तर्गत ठमेलका डान्सबारदेखि क्यासिनो आदि पर्दछन्। यसको मुख्य आम्दानीको स्रोत भनेको अमेरिकी र भारतीय राजदुतावास पर्दछन्। अमेरिकी राजदुतावासले सरक्षाका नाममा पहिले पहिले यस प्रभागलाई मासिक ६ लाखसम्म दिन्थ्यो। अहिले मासिक ३ लाख नियमित दिइरहेको छ। अमेरिकी दुतावासले निर्वाचन आयोगभित्र रहेको सशस्त्र प्रहरीको बाघभैरब गुल्मलाई मासिक ३ लाख दिनुपरेका कारण सोह्रखुट्टे प्रहरी कार्यालयको भाग काटेर ६ लाख रुपैयाँलाई ३ लाखमा झारेको हो। यस्तै भारतीय राजदुतावासले महिनावारी दुई लाख र चाहिएजति इन्धन दिन्छ। यस प्रभागमा हाल प्रहरी निरीक्षक रुगम कुँवर कार्यरत छन्। निरीक्षक कुँवरलाई दुई महिनाअघि मात्रै गृहमन्त्री भीम रावल र प्रहरी महानिरीक्षक रमेश चन्द ठुकुरीको संयुक्त सल्लाहमा ल्याइएको हो। यस अघि सोह्खुट्टे प्रभागमा बसेर दयानिधि ज्ञवालीले चुस्त पैसा कमाएका थिए। प्रहरीभित्र धेरै चर्चित अर्को प्रभाग महानगरीय प्रहरी प्रभाग जनसेवा न्युरोड हो। यस प्रभागले मासिक ६ लाख महिनावारी कम्तीमा उठाउँछ। यस प्रभागमा सबैभन्दा बढी मारवाडीको व्यापारसम्बन्धी मुद्दा आउँछन्। यसले न्युरोडका मारवाडी व्यापारीदेखि डान्सबार हुँदै कर छल्न व्यापारीहरुबाट महिनावारी उठाउँछ। यस प्रभागमा हाल प्रहरी निरीक्षक तुलबहादुर कार्की कार्यरत छन्। कार्कीलाई पुर्व गृहमन्त्री बामदेव गौतमका पालामा एमाले सभासद डीबी कार्कीको ठाडो सिफारिसमा ल्याइएको थियो। काठमाडौ उपत्यका भित्रिने प्रमुख नाका थानकोट प्रहरी प्रभागको मासिक आम्दानी ६ लाख हो। यस प्रभागमा हाल प्रहरी निरिक्षक अंगुर जिसी कार्यरत छन्। उपत्यका प्रहरीमा डीएसपीको मातहतमा ५ वटा महानगरीय बृत्त छन्।

nepalpoliceमहानगरीय प्रहरी बृत्त बालाजु, बौद्ध, महाराजगंज, नयाँवानेश्वरदेखि कालिमाटी सबैलाई कमाउ कार्यालयको रुपमा लिइन्छ। महानगरीय प्रहरी वृत बालाजुमा डीएसपी बसन्तराज कुँवर कार्यरत छन्। यसभन्दा अघि मीरा चौधरी थिइन्। यस बृत्तको पनि मासिक आम्दानी अरु कुनै बृत्तभन्दा कम मानिदैन। यसले नागार्जुनका जंगलमा चलिरहेका कथित रिसोर्टदेखि बसपार्कका बेश्याबृत्ति गराउने होटेलबाट महिनावारी उठाउँछ। महानगरीय प्रहरी बृत्त महाराजगंजमा डीएसपी शरद खत्री कार्यरत छन्। नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सरुवा गरेर लिएका हुन्। उनलाई डीएसपी खत्रीले महिनावारी बुझाउँछन्। महानगरीय प्रहरी बृत्त बौद्धमा डीएसपी गोविन्दराम परियार कार्यरत छन्। उनलाई प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीले जिल्लाबासी भएका कारण बौद्धमा सरुवा गरिदिएका थिए। यस बृत्तमा तारा क्यासिनोदेखि बालुवाखानीले महिनावारी बुझाउँछन्। महानगरीय प्रहरी बृत्त कालीमाटीमा डीएसपी सुकदेव न्यौपाने कार्यरत छन्। यस प्रभागले पनि सोल्टी क्यासिनोदेखि डान्सबार र कालिमाटी तरकारी बजारबाट महिनावारी उठाउँछ। न्यौपाने प्रहरी संगठनमा विभिन्न लाइन बसेर अकुत सम्पति कमाएका अधिकृत हुन्। महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरमा दिलिपकुमार चौधरी कार्यरत छन्। उपप्रधानमन्त्री विजय गच्छदारको सिफारिसमा उनी यस बृतमा सरुवा भएर गएका हुन्। यस बृत्तअन्तर्गत एभरेष्ट क्यासिनोदेखि डान्सबार आदि पर्दछन्। महानगरीय प्रभाग गौशालामा हाल प्रहरी निरीक्षक सुमित खडका कार्यरत छन्। काठमाडौ उपत्यकाभरिमा सबैभन्दा बढी क्याबिन भएको क्षेत्र यही पर्दछ। महानगरीय प्रहरी प्रभाग कमलपोखरीमा हाल प्रहरी निरीक्षक मिलन केसी कार्यरत छन। यस्तै महानगरीय प्रभाग सिहंदरबारमा प्रहरी निरिक्षक पदमा बिर बहादुर बुढामगर कार्यरत छन्। यसलाई पनि महानगरभित्र कमौती प्रभागको रुपमा लिइन्छ। यस प्रभागमा पनि एआइजी कल्याण तिमल्सिनाले आफनो नजिकको अधिकृतलाई पठाएका हुन्। अस्थायी प्रहरी पोष्ट नागढुंगामा सई अरुणप्रसाद उप्रेती कार्यरत छन्। उनलाई महानगरीय प्रहरी परिसरका प्रमुख एसपी नवराज सिलवालले पठाएका हुन्। नागढुंगामा बस्ने सईले मासिक कम्तीमा १ लाखभन्दा बढी कमाउने गर्छन्। यस्तै राजमार्गमा पर्ने महानगरिय प्रहरी प्रभाग बलम्बु पनि कमौतीको स्रोत मानिन्छ। यसमा हाल सई दाताराम अधिकारी कार्यरत छन्। महानगरीय प्रहरी प्रभाग गौशालामा हाल प्रहरी निरीक्षकका रुपमा सुमित खडका कार्यरत छन्। खड्कालाई एआइजी कल्याण तिमिल्सिनाले पठाएका हुन्। कोटेश्वर प्रहरी चौकीमा मासिक ३ लाख कमाई हुन्छ। प्रहरी महानिरीक्षकको सिफारिसमा यस प्रभागमा हाल सई वीरबहादुर थापा कार्यरत छन्। बालुवा चोर्ने गिरोह र खासाका व्यापारीहरुको मिलेमितोमा यस नाकामा पनि व्यापक रुपमा पैसा उठाइन्छ। यस प्रभागमा उठने अबैध रकमको धेरैजसो प्रतिशत प्रत्यक्ष रुपमा आईजीपीकहाँ जान्छ। महानगरभित्रका अन्य प्रहरी प्रभाग र चौकीलाई खुत्रुकेको रुपमा लिइन्छ। मालदार लाइनको तुलनामा यस्ता प्रभागमा नियमित महिनावारी आए पनि रकमको संख्या ठूलो हुँदैन। महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठ, तिलङगेटार, सुन्दरीजल, गोकर्ण, कपन, कीर्तिपुर, मच्छेगाउँ, स्वयम्भु, सीतापाइला, फर्पिङ, थली, स्युचाटार, बल्खु, भीमढुंगा, मुडखु, भण्डारखर्क, धर्मस्थली, नाङलेभार आदिलाई खुत्रुके कमौतीका रुपमा लिइन्छ। स्रोतहरु

Posted in - खोजमुलक समाचार | Leave a Comment »

गणराज्य घोषणा पार्टी नीति विपरित- जर्नादन शर्मा

Posted by shajhachautari on November 10, 2009

काठमाण्डौ,२४ कात्तिक/ एकीकृत नेकपा माओवादीका पोलिटब्यूरो सदस्य जर्नादन शर्मा प्रभाकरले गणराज्य घोषणा पार्टीको नीति विपरित भएको बताएका छन् । काठमाण्डौमा मंगलबार आयोजित साक्षात्कारमा बोल्दै उनले पार्टीभित्र त्यसबारे समिक्षा हुने बताए । ‘गणराज्य घोषणा पार्टीको निर्णय विपरित हो ,’ प्रभाकरले भने,’पार्टीभित्र त्यसबारे समिक्षा हुन्छ ।’ किरांत गणराज्य घोषणा गर्ने पोलिटब्यूरो सदस्य गोपाल किरांतीमाथि कारबाही हुन्छ भन्ने प्रश्नमा पार्टीले त्यसको निर्णय लिने बताए । साक्षात्कारमा बोल्दै प्रभाकरले राष्ट्रपति शासन ल्याएर देखाउन चुनौती दिएका छन् । कांग्रेसले राष्ट्रपति शासन लगाउन खोजेको भन्दै त्यसो गरेमा कडा कदम चाल्ने चेतावनी दिए । माओवादीमाथि सेना परिचालन गराउन खोज्नेहरुमाथिनै सेना परिचालन गराउने चेतावनी दिए । उनले भने, ‘जो जो सेना परिचालन गराउने भन्दै हिडेका छन्, सेना तीनीहरुमाथि परिचालन हुन्छ ।’ संविधान नबनाउने षड्यन्त्र भइरहेको बताए । षड्यन्त्रसंग जुध्नकै लागि आन्दोलन छेडेको बताए । नागरिक सर्वोच्चता कायम नहुञ्जेल आन्दोलन नरोकिने बताए ।

सहमतिका लागि शान्ति प्रक्रियामा नयां सहमति, नयां संविधान निर्माणको आधारहरु तयार गर्नुपर्ने र अनियमितताहरु अन्त गर्नुपर्ने बताए । नेपाली कांग्रेसका प्रवक्ता अर्जुननरसिंह केसीले गणराज्य घोषणा सत्ता कब्जा गर्ने उद्देश्यबाट प्रेरित रहेको आरोप लगाए । उनले भने, ‘माओवादी सत्ता कब्जा गर्ने ध्येयले शान्ति प्रक्रिया विपरित गणराज्य घोषणा गर्न थालेको छ ।’ सहमति विपरित क्रियाकलाप गरेर आन्दोलन शुरु गरेको बताए । माओवादी आन्दोलनको अर्थ नभएको भन्दै सहमतिका लागि हठ त्याग्न आग्रह गरे । माओवादीले बेतुकको अडान राखेर सर्वसत्तावाद लाद्न खोजेको बताए । राष्ट्रपतिको कदमबारे कुरा दोहोर्‍याउदै अप्ठ्यारोमा पारेको बताए । सहमति बनाउने हो भने राष्ट्रपतिको कदमबारे अडान छाडेर आउन आग्रह गरे । माओवादीलाई निषेध गरेर संविधान नबन्ने बताए । नेकपा एमालेका सचिव युवराज ज्ञवालीले संविधान समयमै बन्नेमा शंका व्यक्त गरे । दलहरुले संविधान निर्माणमा ध्यान नदिएर जनतालाई ढांट्ने काम गरिरहेको बताए । उनले भने,’संविधानसभा लम्ब्याउने र राष्ट्रपति शासन गर्ने प्रतिक्रान्तिकारी कदम चाल्ने षड्यन्त्र भइरहेछ ।’ माओवादीको बन्द हडतालले प्रतिक्रान्ति र षड्यन्त्रकारीलाई फाइदा पुगेको बताए । तत्काल आन्दोलन फिर्ता लिई सहमतिमा आउन आग्रह गरे । माओवादीनिकट किरात मोर्चाले गणराज्य घोषणा गरेर शान्ति सम्झौता विपरितका कामहरु गरेको बताए । मुलुक अन्यौलमा रहेको भन्दै तत्काल सहमति नगरे र्दुघटना हुने खतरा औल्याए । एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री बन्न भारत भ्रमणमा नगएको बताए । उनले भने, ‘अध्यक्ष झलनाथ खनाल माधवकुमार नेपाललाई विस्थापित गरी प्रधानमन्त्री बन्न भारत गएको भन्नु वाइयात हो ।’ माधव नेपाललाई प्रधानमन्त्रीका लागि खनाललेनै समर्थन गरेको स्मरण गराए ।

Posted in ‘समाचार’ | Leave a Comment »

सिडिओलाई ५ झापड हानिन् मन्त्री वेगमले

Posted by shajhachautari on November 10, 2009

वीरगन्ज,२३ कात्तिक/ कृषि तथा सहकारी राज्य मन्त्री करिमा वेगमले मङ्गलबार दिउसो पर्साका प्रमुख जिल्ला अधिकारीलाई जिल्ला प्रशासन कार्यालयभित्रै हातपात गरेकी छिन्। वीरगन्जमा आयोजित एक कार्यक्रममा सहभागी हुन राजधानीबाट आएकी वेगमले सिमरा एयरपोर्टमा आफ्नो लागि पुरानो गाडी पठाएको भन्दै आक्रमण गरेकी हुन्। कार्यकर्तासहित जिल्ला प्रशासन कार्यलय पुगेकी मन्त्री वेगमले स्वागत गर्न बसेका भण्डारीलाई लगातार ५ झापड हानेकी थिइन्। ‘हो मैले सिडिओ पिटे’, घटनालगत्तै सचारकर्मीसँगको प्रतिक्रियामा वेगमले भनिन् – कठालो समातेर ५ झापड हानें।’ उनले सिडिओले आफ्नो टेलिफोन राम्रोसँग रिसिभ नगरेको, जिल्लामा अपराध नियन्त्रण नगरेकोलगायतका आरोपसमेत लगाइन्। पर्सा क्षेत्र नम्बर १ बाट सभासदमा विजयी वेगम फोरम लोकतान्त्रिक पार्टीकी हुन्। आक्रमणलगत्तै जिल्ला प्रशासन कार्यलयका सबै काम बन्द भएको छ। प्रमुख जिल्ला अधिकारी भण्डारीले स्वागत गर्न बसेका बेला आफूलाई मन्त्रीले एकाएक पिट्न थालेपछि अचम्ममा परेको बताए। ‘मैले केही भन्न पाइन्’, उनले भने – उनले पटापट पिट्न थालिन्।’ आफूले पिटाई खाए पनि मन्त्री तथा सभासद् भएकाले केही प्रतिकार नगरेको उनले बताए।

Posted in ‘समाचार’ | Leave a Comment »

आन्दोलन नियन्त्रण गर्न सेना परिचालन गर्न सकिन्छ-उपप्रधानमन्त्री गच्छेदार

Posted by shajhachautari on November 4, 2009

काठमाडौं, १८ कात्तिक/ उपप्रधानमन्त्री विजयकुमार गच्छेदारले एकीकृत नेकपा माओवादीको आन्दोलन हिंसात्मक हुदै गएको भन्दै सेना परिचालन गरेर नियन्त्रण गर्ने चेतावनी दिएका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै जिल्ला कब्जा गर्ने देखि तोडफोड र विध्वंस मच्चाउन थालेकाले सेना परिचालन गर्ने अवस्था आउनसक्ने बताएका हुन् । ‘माओवादी आन्दोलन हिंसात्मक बन्दै गएको छ,’ मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष समेत रहेका गच्छेदारले भने,’हिंसा रोक्न सेना परिचालन हुनसक्छ ।’ सेना राज्यको सुरक्षाका लागि भएकाले आवश्यक पर्दा परिचालन गर्न सकिने बताए । माओवादी आन्दोलन बदनामित हुदै गएकाले फिर्ता लिनुको विकल्प नभएको बताए । आन्दोलनले राष्ट्रिय अन्तराष्ट्रिय आलोचना खेप्नुपरेकाले फिर्ता लिएमा माओवादीकै हित हुने बताए । ‘माओवादीका सामु आन्दोलन फिर्ता लिनुको विकल्प छैन,’ मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष समेत रहेका गच्छेदारले भने,’आन्दोलन फिर्ता लिए माओवादीकै लागि हितकर हुन्छ ।’ माओवादीले लोकतान्त्रिक आचरणविपरितको गतिविधि गरिरहेको भन्दै जनताबाट बदनामित भएको तर्क गरे । माओवादी गतिविधि शतप्रतिशत गलत रहेकाले कसैले पनि र्समर्थन गर्न नसक्ने बताए । बजेट पारित हुन नदिने, उपत्यका नाकाबन्दी गर्ने देखि स्वायत्त राज्य घोषणा गर्नु लोकतन्त्र र वृस्तृत शान्ति सम्झौता विपरित हुने भन्दै कडा रुपमा प्रस्तुत हुने चेतावनी दिए । रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको बताए । माओवादीले सिंहदरबार घेराऊ गर्दैमा कसैले राजीनामा नदिने प्रष्ट पारे । उनले भने,’सदनको बाटो हुदाहुदै कसैले गलत बाटोबाट धम्क्याउंदैमा सरकार परिवर्तन हुदैन ।’ सरकार परिवर्तनका लागि बहुमत पुर्‍याएर देखाउन चुनौती दिए । माओवादीले गरेका गतिविधि र्सवसत्तावादी भएको आरोप लगाए ।  एक अर्को प्रश्नमा उनले वृहत प्रजातान्त्रिक एकताको आवश्यकता औल्याए ।

माओवादीले सैनिक र अर्धसैनिक बल देखाएर प्रजातन्त्रमाथि चुनौती दिइरहेको भन्दै त्यसविरुद्ध प्रजातान्त्रिक एकता गर्नुपर्नेमा जोड दिए । मधेशी जनअधिकार फोरमलाई पनि सरकारमा ल्याउने पहल भइरहेको खुलासा गरे । उनले भने,’विगतको गल्ती सच्याउदै फोरम पनि सरकारमा आउनुपर्छ, त्यसको लागि पहल भइरहेको छ ।’ देशमा सहमति र एकताको विकल्प नभएको भन्दै सबै दल गम्भीर हुनुपर्ने बताए । माओवादीलाई अलोकतान्त्रिक गतिविधि छाड्न दबाब सृजना गर्नुपर्ने बताए । माओवादीसंग सेना, हतियार र अर्धसैनिक बल रहेकाले समस्या आएको बताए । उनले भने,’माओवादीको सैनिक र अर्धसैनिब बल तत्काल अन्त गर्नुपर्छ ।’ माओवादी लडाकुलाई नेपाली सेनामा नभई अन्यत्र व्यवस्थापन गर्नुपर्ने तर्क गरे । सेना समायोजन भन्ने शब्दप्रति आफू सन्तुष्ट नभएको भन्दै समाजका विभिन्न निकायमा व्यवस्थापन गर्नुपर्ने बताए । संविधान बनाउनु अघि लडाकु व्यवस्थापन अनिवार्य रहेको बताए । रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले सहमति, सहकार्य र एकताको विकल्प नभएको बताए । सहमतिका साथ सबै दल संविधान निर्माणमा जानुपर्नेमा उनको जोड थियो । पछिल्लो असमझदारी तत्काल हट्नुपर्ने र त्यसका लागि सबैले आफ्नो अडान छाड्नुपर्ने बताए

Posted in ‘समाचार’ | Leave a Comment »

Posted by shajhachautari on November 3, 2009

२०१० मा यात्रा गर्न पर्ने १० देशहरुमा नेपाल पनि समावेश

काठमाडौं, १७ कार्तिक (दैनिकी)

बिश्व प्रसिद्ध लोनली प्लानेट (Lonely Planet)नामक यात्रा सम्बन्धि वेव तथा पत्रिकाले २०१० मा यात्रा गर्नै पर्ने १० देशहरुमा नेपाललाई पनि समावेश गरेको छ। यस पत्रिकाको पाँचौ बर्षगाठँमा निस्केको सो अंकमा नेपाललाई भौगोलिक तथा सास्कृतिक बिविधताले भरिएको नेपाललाई यात्रै गर्नुपर्ने देशको रुपमा चित्रण गरेको छ।
तर देशको बर्तमान परिपेक्षले बिदेशी यात्रीहरुलाई यश सुन्दर देशमा गरिने भ्रमण प्रति कत्तिको ईच्छा जाग्ने हो त्यो हेर्न नै बाँकी छ। देशमा जबजब बिदेशी पर्यटकहरुको आवत बढ्न थाल्छ देशमा बन्द तथा हडताल हुने गर्दछ। माओवादीहरु मुलधारमा फर्केपछी पर्यटकहरुको आगमणमा उल्लेखनिए रुपमा बृद्धी हुन थालेको अवस्थामा फेरी एक पटक भइरहेको दोस्रो जनआन्दोलनले कस्तो प्रभाव पार्ने हो भन्ने चिन्ता छाएको

Posted in - संकलित संग्रह | Leave a Comment »

ओली कामरेडको कांग्रेस प्रवेश र मेरो माओवादी प्रवेश

Posted by shajhachautari on November 3, 2009

fc1c2bamdev_gautam1

म एकीकृत नेकपा (माओवादी) मा प्रवेश गर्दै छु भन्ने हल्ला आफ्नै पार्टीभित्र गएको आठौं महाधिवेशनमा अध्यक्षकाविरुद्ध जुन समूह निर्माण भयो, त्यो समूहभित्रबाट चलाइएको हो । र, कता-कता माओवादीले पनि यो हल्लालाई साथ दिएजस्तो मैले पाएको छु । यो हल्ला कति असत्य, कति निराधार छ भन्ने कुरा हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, कम्युनिस्ट आन्दोलनकै एकजना वरिष्ठ नेता कमरेड केपी शर्मा ओलीलाई कांग्रेसमा प्रवेश गर्दै हुनुहुन्छ भन्ने कुरा जति झुटा हो, त्योभन्दा हजार गुना झुटा हो ।

केन्द्रीय कमिटीको दोस्रो बैठकमा केही मानिसले मेरो नामै लिएर ‘अहिले वामदेव कमरेडले माओवादीको बफादारी गरिरहनुभएको छ’ भन्नुभयो । उहाँहरू एउटा समूहलाई समर्थन गर्ने व्यक्ति हुनुहुन्छ । त्यो पक्षमा बारबार बोल्ने साथीहरूले नाम नलिईकन, मलाई संकेत गरेर ‘शरीर एमाले, मन माओवादी’ भन्ने गर्नुभएको छ । उहाँहरूबाट ‘एमाले भएर माओवादीको सेवा पुर्‍याउने’ र ‘वरिष्ठ नेता भएर माओवादीकहाँ सूचना पुर्‍याउने’ जस्ता आरोप लगाइन्छ । ती सबै आरोपलाई मैले एउटा कानबाट सुनेर अर्को कानबाट उडाउने काम गरेँ, त्यसको प्रतिक्रियामा मैले केही पनि बोलिनँ । पार्टीभित्र माओवादी आन्दोलनलाई हामीले एउटा समस्या देख्यौँ, त्यसलाई समाधान गर्ने दृष्टिकोण र उपायमा हामीबीच मतभिन्नता भए । म ठान्छु, यस्तो हुनु स्वाभाविक हो ।

एकाएक अर्को हल्ला आयो, यो सरकारलाई वामदेवको समर्थन छैन भनेर । मैले कतै पनि, कुनै पनि बहानामा यस्तो कुरा बोलेको छैन, बोल्ने पनि छैन । बरु मैले के भनेको हो भने, प्रचण्ड नेतृत्वको समीकरण गिराउन र गैरमाओवादी समीकरण निर्माण गर्नका निम्ति लाग्ने हाम्रो पार्टी स्थायी कमिटीको निर्णय गलत छ । यसबाट दक्षिणपन्थीलाई माथि उठाउने काम भएको छ ।

नेपालमा कम्युनिस्ट आन्दोलनको भविष्य ज्यादै उज्ज्वल र सुन्दर छ । त्यसका लागि नेकपा एमाले र एनेकपा माओवादीले गम्भीर भएर सोच्नुपर्ने वेला आएको छ । कम्युनिस्ट एकताका निम्ति माओवादीभित्रको उग्रवामपन्थी भड्काव र एमालेभित्रको दक्षिणपन्थी भड्काव मुख्य बाधकका रूपमा रहेका छन् । दुवै पार्टीभित्रका सच्चा क्रान्तिकारी साथीहरूबीचको मजबुत एकता र सहकार्य समयको माग पनि हो । तर, तत्कालीन घटनाक्रमलाई हेर्दा नेपालमा वामपन्थी एकताको वरिपरि लोकतान्त्रिक शक्तिलाई गोलबन्द गर्ने कामको अन्त्य भएको छ । अब दक्षिणपन्थी नेतृत्वको वरिपरि वामपन्थीहरू जाने र देशलाई अग्रगामी परिवर्तनको पक्षमा होइन, यथास्थिति र प्रतिगमनतर्फ लैजाने कामको सुरुवात भएको छ । यसमा म अहिले पनि अडिग छु ।

प्रधानमन्त्री प्रचण्डको राजीनामा राष्ट्रपतिले स्वीकृत गर्नुभयो, त्यसपछि बनेको शून्यतामा तुरुन्त फेरि प्रचण्ड वा माओवादी प्रधानमन्त्री भएको सरकार बन्ने अवस्था थिएन । त्यस्तो अवस्थामा नेपाली कांग्रेसको तर्फबाट हाम्रो पार्टीलाई जब प्रस्ताव आयो, हामीले सर्वसम्मत रूपमा माधव नेपाललाई अघि सार्‍यौँ, यो कुरालाई सर्वसम्मत बनाउन मैले उल्लेख्य भूमिका निर्वाह गरेको छु । म गैरमाओवादी राजनीतिक समीकरणको विपक्षमा हुँ । नीतिगत, वैचारिक पक्षमा असहमत भएर आफ्नो फरक मत लेखे पनि पार्टीले निर्णय गरिसकेको नीतिलाई कार्यान्वयन गर्ने क्षेत्रमा सहमत भएरै जानुपर्छ । म सरकारलाई समर्थन छैन भन्दै हिँड्नेवाला होइन । यो सरकारले सही काम गर्दै अगाडि जाओस् भन्ने मेरो चाहना छ, तर अहिलेसम्म त्यस्तो गरेको छैन । यही सरकारमा माओवादीलाई ल्याउने हो भने यही सरकार राष्ट्रिय सरकार बन्छ । हामीले त्यसका लागि पहल गर्नुपर्छ, तर अहिलेसम्म गरिएको छैन । बाहिर ओठे जवाफ दिन त भनिएको छ, तर भित्र यो सरकारलाई राष्ट्रिय स्वरूप दिऔँ भनेर कुनै पनि प्रस्ताव आएको छैन ।

अहिले राष्ट्रिय सहमति भन्नाले माओवादीसहितको सहमति मात्र राष्ट्रिय सहमति हुन सक्छ । माओवादी असहमत भएको अवस्था राष्ट्रिय सहमति हुन सक्दैन । यसको सान्दर्भिकता भनेको के हो भने, संविधान निर्माण गर्दा पनि माओवादीसहित निर्माण हुन सक्ने यथार्थ हो, शान्तिप्रक्रियाको टुंगो लगाउने कुरा त झनै अपरिहार्य आवश्यकताको कुरा हो । जब राष्ट्रिय कार्यभार नै ऊसहित संलग्न भएर मात्रै सम्पन्न गर्न सकिन्छ भने यो यथार्थलाई पन्छाउनुको कुनै औचित्य छैन । पन्छाउन खोज्नु भनेको राष्ट्रिय कार्यभार पूरा नगर्नु हो । सहमतिको वातावरण निर्माण गर्न पार्टीले मलाई जिम्मेवारी दियो भने म वफादारीपूर्वक बहन गर्न तयार छु । तर, मलाई यस्तो जिम्मेवारी पार्टीले दिन्छ भन्ने विश्वास छैन । अहिले पनि कैयन् वार्ता भइरहेका छन्, ती वार्तामा मलाई सामेल गरिएको छैन । यो अपमान पनि हो । अपमान नै सही, तर पार्टीको पाँचौँ महाधिवेशनले पारित गरेको राजनीतिक कार्यदिशा, ०६२/६३ को जनआन्दोलनको दिशा र त्यसपछि नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने निर्णयमा मेरो महत्त्वपूर्ण एवं उल्लेख्य भूमिका रह्यो । यिनलाई स्थापित गर्न गरिएका सम्पूर्ण व्यवहारमा मैले रगत, पसिना बगाएको छु, मैले मेरो विचार र समय पनि लगाएको छु । त्यसैले म यहाँ बसेर लडिरहन्छु । अन्तिम वेलासम्म पनि विचारलाई स्थापित गर्ने कोसिसमा म लाग्छु । मलाई मानिसहरूले विभिन्न किसिमले एक्लो पारे पनि म मेरो विचारमा एक्लो छैन । मेरो विचारलाई नेकपा एमालेका समर्थन/शुभचिन्तकहरूको ठूलो समर्थन छ ।

नलुकेको यथार्थ के हो भने, हाम्रो पार्टीभित्र माओवादीलाई शान्तिप्रक्रियामा सामेल गर्न र राजतन्त्रविरुद्ध आन्दोलनमा संलग्न गराउन कुनै पनि हालतमा हुन्न भन्ने विचारका नेता हुनुहुन्थ्यो । म कार्यवाहक महासचिव भएको अवस्थामा महासचिव माधवकुमार नेपालको सल्लाहमा माओवादीसित वार्ता गर्न स्थायी समिति सदस्य युवराज ज्ञवालीको साथमा रोल्पा गएँ । माओवादीले युद्ध सुरु गरेपछि त्यसवेलासम्मको इतिहासमा दुईवटा पार्टी बसेर लिखित सहमति गरेको पहिलो घटना नै त्यही बन्यो । दुवै पार्टीलाई राजतन्त्र उन्मूलन गर्ने र लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कुरामा प्रतिबद्ध गरायौँ । र, त्यो दिशामा नेपालका सम्पूर्ण राजनीतिक पार्टीलाई बृहत् एकता कायम गरेर ल्याउने सहमति भयो । त्यसवेला राजाले सञ्चालन गरेको स्थानीय निकाय -नगरपालिका) निर्वाचनलाई नौटंकी सावित गराउँदै असफल पार्ने, ध्वंस गर्ने कुरा हामीले गर्‍यौँ । त्यो घटनापछि हाम्रो पार्टीको स्थायी समितिको बैठकमा ‘वामदेव गौतमलाई कारबाही गर्नुपर्छ, वामदेव गौतमले एमालेलाई लगेर माओवादीमा मिलायो, गणतन्त्र माओवादीको मुद्दा हो, एमालेको मुद्दा संवैधानिक राजतन्त्र हो, हामी ०४७ सालको संविधानमा प्रतिबद्ध छौँ, त्यही संविधानअन्तर्गत नै आजको समस्याको खोजी गरिनुपर्छ’ भनियो । त्यसपछि राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरियो । त्यो भेलामा नियोजित रूपमा मेरोविरुद्ध क्याम्पेनिङ गरियो, राष्ट्रिय कार्यकर्ता भेलाबाटै मलाई कारबाही गरिनुपर्छ भन्दै कानेखुसी गरियो । ती साथीहरूले भनेबमोजिम जाने अवस्था त्यसवेला थिएन । निरंकुश राजतन्त्रविरुद्ध नै अगाडि बढ्ने अवस्था थियो । त्यहीअनुसारको राजनीतिक कार्यदिशा निश्चित भयो । जब नेकपा एमाले मुलुकको समस्या समाधान गर्नका निम्ति सकारात्मक ढंगले जाने कोसिस गरिरहेको थियो, त्यसवेला एउटा पक्ष त्यसको विपक्षमा थियो । तर, हामीले लक्ष्य पूरा गरेरै छाड्यौँ । हाम्रै पहलकदमीले संविधानसभाको रजिस्टरमा मत दर्ज गरेर राजतन्त्रलाई अन्त्य गरियो । नेपाललाई दुई हजार वर्षदेखि नेतृत्व गर्दै आएको राजतन्त्र र दुई सय ४० वर्षदेखि शासन गर्दै आएको शाहवंशीय परम्परालाई हामीले ढाल्यौँ । कसैले ठूलो कुरा नगरे हुन्छ, यो सब काम एमालेको पहलकदमीबाट मात्र सम्भव भएको हो । आन्दोलनको भूमिका, निरंकुश राजतन्त्र ढाल्ने नीति, माओवादीलाई शान्तिप्रक्रियामा ल्याउने नीति, माओवादीका उग्रवामपन्थी विचार-व्यवहारको विरोध गर्दै शान्तिप्रक्रियामा ल्याउन प्रेरित गर्ने एमालेका प्रयत्नहरूकै प्रमुख रूपमा जिम्मेवारी रहेको छ । यद्यपि, यसमा माओवादीको आफ्नो ठाउँको भूमिका प्रमुख छ । त्यसबाहिर एमालेको भूमिका प्रमुख हो । हाम्रै प्रयत्नबाट नेपाली कांग्रेस राजतन्त्रप्रति निरपेक्ष हुने, माओवादी शान्तिपूर्ण आन्दोलनमा सामेल हुने र अन्य राजनीतिक पार्टीहरू गणतन्त्रको दिशातर्फ अगाडि बढ्ने अवस्था भएको हो । यी सबै प्रक्रियामा हामी जाँदा एमालेभित्र दुई दृष्टिकोण र दुई धार रहिरह्यो । जब हामी आन्दोलनमा थियौँ, अर्को पक्ष आन्दोलन गर्न हुन्न भन्ने पक्षमा थियो, जब राजतन्त्रको उन्मूलन गरिँदै थियो, अर्को पक्ष्ँ गर्नुहुँदैन भनिरहेको थियो, जतिवेला एमाले माओवादीसित सहकार्य गर्नुपर्छ भन्ने पक्षमा थियो, अर्को पक्ष त्यसो गर्नुहुँदैन भन्ने पक्षमा थियो र, त्यो पक्ष माओवादीलाई युद्धद्वारा नै समाप्त गर्नुपर्छ भनिरहन्थ्यो । त्यो व्यवहारका विरुद्ध नेकपा एमालेभित्र कुनै पनि व्यक्ति आमने-सामने भएर लडेको छ भने त्यो एक्लो वामदेव गौतम मात्र हो । मैले कहिल्यै पनि गुटबन्दी गरिनँ, मैले कहिल्यै पनि समूह निर्माण गरिनँ, मैले लागेको कुरा भनेँ । पार्टीभित्र हावी भएको यथास्थितिवादी विचारका विरुद्ध पार्टीभित्रै लड्दै यो पार्टीलाई नेपालको कम्युनिस्ट आन्दोलनको मात्र होइन, लोकतान्त्रिक आन्दोलनकै नेताका रूपमा स्थापित गर्नका निम्ति महत्त्वपूर्ण भूमिका खेलेँ ।

आज हाम्रो पार्टी संविधानसभामा तेस्रो पार्टी छ । यो पार्टीलाई संविधानसभाको पहिलो बहुमतको पार्टी बनाउने योजना मैले स्थायी समितिमा प्रस्तुत गरेँ । तर, त्यसलाई ठाडै इन्कार गर्ने काम भयो । त्यसवेला ६०-६५ प्रतिशत सिटमा एमालेलाई र ३५-४० सिटमा माओवादीलाई निर्वाचन क्षेत्र बाँड्नेगरी निर्वाचन कार्यगत एकता कायम गरेर जाऔँ भन्ने प्रस्ताव मैले राखेको थिएँ । त्यो प्रस्ताव माओवादीले मञ्जुर गरेको थियो । हाम्रो पार्टीको नेतृत्वले भने त्यसलाई ठाडै इन्कार गर्‍यो, दुत्कार्‍यो, व्यंग्य गर्‍यो र मखल ओढाउने काम गर्‍यो । र, देशव्यापी रूपमा त्यस्तो विचारको विरोध गरियो । आज नेपाली जनताले चाहेको, नेपाली वातावरणले खोजेको, युगले खोजेको नेकपा एमालेका यिनै विचारसहितको समीकरण, नेतृत्व, परिवर्तन तथा बहुदलीय प्रतिस्पर्धासहितको वैज्ञानिक समाजवादमा लैजाने आवश्यकता थियो । र, त्यो भूमिकाबाट यो पार्टीलाई वञ्चित गराउने काम त्यही विचार र त्यही समूहबाट भयो । अहिले माओवादीलाई विभिन्न बहानामा शान्तिप्रक्रियाबाट अलग गर्ने र ऊभित्र रहेको कमी-कमजोरी तथा ज्यादतीपूर्ण गलत व्यवहारको आडमा सिंगो माओवादीलाई युद्धको अवस्थामा फर्काउने अनि युद्धद्वारा नै समाप्त गर्ने नीति बोकेर हिँड्ने साथीहरू र विचारहरूको विरुद्धमा म सशक्त रूपमा पार्टीभित्र खडा भएको छु । त्यो विचार बोक्ने साथीहरूले मलाई ‘एमालेभित्र घुसेको माओवादी’ भन्ने आरोप लगाइरहेका छन् । इतिहासले फैसला गर्नेछ, आज मलाई माओवादी भन्नेहरू माओवादीका कमी-कमजोरीका कारण हाम्रो देशका प्रतिगामीलाई सहयोग गरिरहेका छन्, हाम्रो देशका दक्षिणपन्थीलाई सहयोग गरिरहेका छन् । र, इतिहासले सावित गर्नेछ, मेरो विचार सही छ, म अहिले पनि सही अडानमा छु । यो यथार्थलाई जगजाहेर गरिदिन चाहन्छु, म माओवादी होइन, मलाई माओवादीको आरोप लगाउँदै सिंगो एमालेलाई दक्षिणपन्थीहरूको चंगुलमा फसाउने षड्यन्त्र भइरहेको छ । त्यही षड्यन्त्रको हिस्साका रूपमा वामदेव माओवादी बन्दै छ भन्ने हल्ला चलाइएको हो ।

जहाँसम्म पार्टीभित्र अपमानका प्रसंग उठ्ने गरेका छन्, केन्द्रीय कमिटीमा कार्यविभाजन गर्दा नै त्यो कुरा देखिएको हो । मेरा लागि पार्टी स्कुल विभाग उपयुक्त छ भन्ने कुरा भयो । तर, त्यो कुरा मेरो पक्षमा प्रस्तुत भएन । पार्टी विभाजनमा एउटा पक्ष बनेर गएको, आइसकेर पनि फरक-फरक विचार बोकेर हिँडेको भनेर दिइएन । पार्टीभित्र मैले सञ्चालन गर्न नसक्ने विभाग कुनै पनि छैनन् । अहिले मैले जुन दृष्टिकोण अगाडि सारेको छु, नेपाली जनआन्दोलनको सम्बन्धमा, नेपालमा विकसित घटनाक्रमका विषयमा जिम्मेवारी बहन गर्न नदिने र पाइला-पाइलामा अपमान गर्ने काम भइरहेको छ । त्यस्तो व्यवहार सहन नसकेर कतिपय मान्छे लाखा-पाखा लाग्न सक्छन्, तर मसित कसैले आएर त्यस्तो कुरा गर्नुभएको छैन । यदि, उहाँहरू (पार्टी छाडेर गएका) अपमानले पोलेरै जानुभएको हो भने पनि त्यस्तो अपमान, जो मैले भोगेको छु, त्यस्तो त पक्कै पनि उहाँहरूलाई भएन होला । म त यही पार्टीमा बसेर संघर्ष गरिरहेको छु, गरिरहन्छु । माओवादीसित अहिले पनि मेरा गम्भीर मतभिन्नता छन् । म माओवाद मान्न सक्दिनँ, मार्गदर्शक सिद्धान्त त झनै मान्न सक्दिनँ । प्रचण्डपथ स्विकार्ने त कल्पना पनि गर्न सकिन्न । माओवादीका व्यक्तिहत्या र व्यक्तिप्रति गरिने ज्यादतीपूर्ण व्यवहारसित सहमत हुने कुनै ठाउँ छैन । यसै कारण अहिले पनि सिद्धान्त र व्यवहारका कारण ऊ उग्रवामपन्थी भड्काउ भएको पार्टी हो । तर, पनि म कम्युनिस्ट पार्टी मान्छु । र, अहिले नेपालको निम्ति त्यो अपरिहार्य शक्ति बनेको छ । यिनै यथार्थले गर्दा माओवादीसित एकातिर सहकार्य गरेर चल्नुपर्ने बाध्यता छ, अर्कोतिर माओवादी पार्टीसित गम्भीरखाले असहमति राख्नैपर्ने हुन्छ । यति गम्भीर कुरामा मतभिन्नता छ भन्ने यथार्थलाई बुझ्दाबुझ्दै मेरोबारे यसरी हल्ला गर्नु अरूको चरित्रहत्या गर्ने खेती गर्न पल्किएका बद्मासहरूको कामभन्दा अरू केही होइन ।

प्रधानसेनापतिका सम्बन्धमा विगत प्रचण्ड नेतृत्वको सरकारले स्पष्टीकरण माग्ने निर्णयमा मेरो सहमति हो, समर्थन हो, म त्यसवेला पार्टीको कार्यवाहक अध्यक्षको हैसियतमा पनि थिएँ । पार्टी अध्यक्ष चीन जानुभएको थियो, जानुअघि मलाई त्यसो गर्न निर्देशन नै दिनुभएको हो । म अध्यक्षसित प्रधानसेनापति बर्खास्त गर्ने निर्णय लिएर गएको होइन कि अध्यक्षले नै मलाई त्यो प्रस्ताव राख्नुभएको हो । प्रचण्डले त मंसिरदेखि कटवाललाई कारबाही गर्नुपर्‍यो भन्दै हुनुहुन्थ्यो । मैले नै हो, लामो समयसम्म इन्कार गर्दै आएको । मैले यो कुरा कसैलाई पनि भनिनँ । किनभने, म एकजनाले इन्कार गरिदिँदा त्यो निर्णय हुन सक्दैनथ्यो । त्यसैले त्यसलाई हल्लाको विषय बनाउनु उपयुक्त लागेन । मलाई अध्यक्षले भन्दा पहिला महासचिवले भन्नुभयो, त्यसपछि प्रचण्डले प्रस्ताव ल्याउनुभयो र हामीले समर्थन गर्‍यौँ । त्यसो गरेर सही गरेको भए पनि, गलत गरेको भए पनि त्यसमा म पूर्णरूपले जवाफदेही छु ।

दुःखको कुरा, हामीले प्रधानसेनापतिलाई बर्खास्त गर्ने निर्णय गर्दागर्दै हाम्रो पार्टी राष्ट्रपतिलाई कदम चाल्नका निम्ति उक्साउने काममा फेरि १८ दलमा सामेल भयो । दुःखका साथ म भन्छु, यसमा नेकपा एमालेको अडान पीपलपाते नै हो । नेपाली उखानमा पीपलपाते व्यवहारलाई कौडीबराबरको महत्त्व दिइन्न । यद्यपि, १८ पार्टीले प्रधानसेनापतिलाई पुनर्नियुक्ति गर्नु भनेको थिएन, एउटा उपायले समस्या समाधान गर्नु भनेको मात्रै थियो । यसरी राजनीतिक पार्टीहरूले राष्ट्रपतिलाई उचित कदम चाल्नुस् भन्न मिल्दैन । १८ पार्टीले राष्ट्रपतिलाई अनुचित कदम चाल्न प्रेरित गरे । राष्ट्रपतिले गरेको काम नेपालको अन्तरिम संविधानको अक्षर र भावनाको खुलमखुल्ला विरुद्धमा छ । संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछि पहिलोचोटि सबभन्दा माथिल्लो ठाउँमा रहेको सम्मानित संस्थाले गरेको असंवैधानिक काम हो । सरकारले प्रधानसेनापतिलाई बर्खास्त गर्‍यो । प्रधानसेनापतिलाई पुनर्नियुक्ति गर्ने काम राष्ट्रपतिले गर्न सक्दैनथे । त्यो संविधानसम्मत थिएन भने त्यसलाई पुनर्बहाली गर्ने निर्णय सर्वोच्च अदालतले मात्र गर्न सक्थ्यो या त्यो संसद्को बहसको विषय बन्न सक्थ्यो । पहिलो ऐतिहासिक भूल यहाँबाट सुरु भएको छ । सेरेमोनियल राष्ट्रपतिले जुन कार्यकारी अधिकार प्रयोग गरेका छन्, त्यसका दुस्परिणाम भोलिका दिनमा हामीले भोग्दै जानुपर्नेछ । राष्ट्रपतिले क्याबिनेटमा -प्रधानमन्त्रीमा) निहित अधिकार राष्ट्रपतिमा फर्काउने अर्को गल्ती अहिलेको सरकारले गरेको छ । यसपटक प्रधानसेनापतिलाई सरकारले हटायो र राष्ट्रपतिले पुनर्बहाली गर्नुभयो, त्यसपछि बनेको सरकारले राष्ट्रपतिले चालेको कदम एकदम सही हो भन्यो । भोलि स्वयं माधव नेपाललाई राष्ट्रपतिले हटाइदिनेछन्, र त्यसपछि बन्ने सरकारले राष्ट्रपतिको कदम सही हो भन्नेछ । यो संविधानको र परम्पराको विरुद्धमा छ ।

हाम्रो पार्टी सरकारबाट हट्ने मामिलामा जब बुटवलमा हाम्रा साथी प्रचण्ड थैवको हत्या भयो, त्यसविरुद्धको आन्दोलनकै क्रममा एउटा खेमा सरकारबाट अलग्गिन चाहन्थ्यो । निरन्तर क्याबिनेट बहिष्कार गर्ने निर्णय भयो । त्यो भनेको सरकारमा नबस्ने नै भनेको हो । हाम्रो पार्टीभित्रको त्यो समूह ऐतिहासिक कालदेखि नै राजनीतिक स्थितिलाई नेतृत्व गर्ने सम्बन्धमा फरक विचारको वाहक बनेर आएको छ । त्यही समूहले माओवादी नेतृत्वको सरकारबाट एमालेलाई अलग गर्न चाहन्थ्यो । प्रधानसेनापति प्रकरणलाई निहँु बनाइयो । त्यसमा नेपाली कांग्रेस र अन्य राजनीतिक पार्टीबाट पनि समर्थन प्राप्त हुने भएपछि यो घटनालाई प्रयोग गरियो । क्याबिनेटमा माओवादीले एक्लै प्रधानसेनापति हटाउने विषयमा निर्णय गर्न थाल्यो भने क्याबिनेट बहिष्कार गर्ने भन्ने अडान लिइयो । वैशाख २० गते आएर सरकारबाट हट्ने, माओवादी सरकारलाई दिएको समर्थन फिर्ता लिने र राजनीतिक समीकरणको नयाँ विकल्पमा जाने भन्ने जुन निर्णय गरियो, त्यसमा मेरो गम्भीर आपत्ति छ । त्यो त्रुटिपूर्ण र ऐतिहासिक भूल हो । घटनाक्रमले त्यसलाई गलत सावित गर्नेछ भन्ने मलाई विश्वास छ ।

(जनआस्था साप्ताहिकका विश्वमणि सुवेदीसँगको कुराकानी)

Posted in ‘समाचार’ | Leave a Comment »

छठ पर्व

Posted by shajhachautari on October 27, 2009

पोखरापोखरा नारायण स्थान स्थित सेती नहरको किनारमा आयोजित छठ पर्वमा सहभागी महिला भक्तजनहरु सुर्यदेवको पूजा गर्दै ।तस्विर chad नारायण स्थान स्थित सेती नहरको किनारमा आयोजित छठ पर्वमा सहभागी महिला भक्तजनहरु सुर्यदेवको पूजा गर्दै ।तस्विर

Posted in - फोटो ग्यालरी | Leave a Comment »

अल्ट्रालाइट विमान सम्भावित ठूलो दुर्घटनाबाट टर्‍र्यो

Posted by shajhachautari on October 27, 2009

पोखरा, १० कात्तिक/ पोखरा विमानस्थलमा अवतरण हुने क्रममा मङ्गलबार एक अल्ट्रालाइट विमान सम्भावित ठूलो दुर्घटनाबाट जोगिएको छ । पोखरामा पर्यटकहरुलाई दृश्यावलोकनका लागि प्रयोग गरिने एभियन क्लबको अल्ट्रालाइट विमानको अगाडिको पाङ्ग्राको पेच बिहान साढे ८ बजे फुस्किएको थियो । घटनामा कुनै मानवीय क्षति भएको छैन । दुईजनामात्र अट्ने सो अल्ट्रालाइट विमानमा रहेकी रुसी पर्यटक एरिना र पाइलट सकुशल छन् । पाइलटको नाम दिइएको छैन । दुर्घटनाको तस्बिर खिच्न र समाचार सङ्कलनका क्रममा पोखरा विमानस्थल पुगेका सञ्चारकर्मीहरुलाई घटनाको अनुसन्धान गरिन लागिएको भन्दै तस्बिर खिच्न रोक लगाइएको छ

Posted in - ‘राष्ट्र्यि समाचार’ | Leave a Comment »

नेपाली भूमिमा भारत बिरोधी गतिविधि भएको छैन-सरकारका प्रवक्ता

Posted by shajhachautari on October 27, 2009

नेपालगन्ज, १० कात्तिक/ नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शङ्कर पोखरेलले नेपालको भूमिबाट भारतविरोधी कुनै गतिविधि नभएको बताउनुभएको छ । प्रेस चौतारी, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो- “यदि नेपालमा कुनै पनि प्रकारको भारतविरोधी कार्य भएमा नेपाल सरकारले त्यसलाई नियन्त्रण गर्न कुनै कसर बाँकी राख्दैन ।”संसद अवरुद्ध गर्ने, व्रि्रोहको धम्की दिने, मन्त्रीलाई कालोझन्डा देखाउने तथा ढुङ्गामुढा गर्ने एकीकृत नेकपा -माओवादी) को अहिलेको क्रियाकलाप सरकार छाड्नु परेको कुण्ठामात्र भएको बताउँदै मन्त्री पोखरेलले एकीकृत माओवादी आफ्ना यिनै क्रियाकलापले जनतामाझ एक्लिँदैगएको छ भन्नुभयो ।उहाँको थप भनाइ थियो- “उग्र वामपन्थी चिन्तनबाट मुक्त हुन नसकेको एकीकृत माओवादीको नेतृत्वमा अहिले सरकार गठन हुने कुनै सम्भावना छैन ।”सडकबाट धम्की दिएर सत्ता प्राप्त नहुने स्पष्ट पार्दै मन्त्री पोखरेलले एकीकृत माओवादीलाई सत्ता चाहिएको छ भने संसदमा बहुमत प्रमाणित गर्न कसैले रोकेको छैन भन्नुभयो । तत्कालीन प्रधानसेनापति प्रकरण एकीकृत माओवादी अध्यक्ष प्रचण्डको योजनाको उपज भएको खुलासा गर्दै उहाँको थप भनाइ थियो- “प्रचण्डको त्यो योजना शान्ति सम्झौता तथा प्रक्रिया विपरीत पनि थियो ।”लोकतान्त्रिक मूल्य, मान्यताका आधारमा राजनीतिमा इमानदार हुनुबाहेक एकीकृत माओवादीसँग अर्को कुनै विकल्प नभएको बताउँदै मन्त्री पोखरेलले विवादलाई थाँती राखेर एकीकृत माओवादी सहमतिको बाटोमा आउनेमा सरकार र अन्य राजनीतिक दलहरु अझै आशावादी नै रहेका छन् भन्नुभयो । पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा मन्त्री पोखरेलको भनाइ थियो-”सरकारमा सहभागी २२ राजनीतिक दल राष्ट्रपतिलाई अपमान होइन सम्मान र स्थापित गर्ने पक्षमा छन् ।”‘निर्धारित समयमा संविधान निर्माण हुन्छ त -’ भनि पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उहाँले शङ्का गर्ने केही आधार भए पनि संविधान निर्माण विशेष समिति तथा संवैधानिक समितिको काम भने रोकिएको छैन भन्नुभयो । संविधान निर्माणमा मात्र केन्द्रित हुने गरी प्रमुख राजनीतिक दलको उच्चस्तरीय संयन्त्र निर्माण गर्ने प्रस्ताव नेकपा -एमाले) ले राखेको बताउँदै नेकपा -एमाले) का केन्द्रीय सचिवसमेत रहनुभएका मन्त्री पोखरेलको भनाइ थियो- “सो प्रस्तावका विषयमा अन्य दलहरु पनि सकारात्मक र सहयोगी देखिएका छन् ।”सञ्चार क्षेत्रका विकासमा सूचना तथा सञ्चार मन्त्रालयसँग के-कस्तो योजना छ भनी रासस प्रतिनिधिद्वारा सोधिएको प्रश्नको जवाफमा उहाँले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराउने, ७५ जिल्लामा अप्टिकल फाइबर विस्तार गर्ने, पत्रिकालाई व्यवस्थित गरी लोककल्याणकारी बिज्ञापन उपलब्ध गराउने, हुलाक सेवाको सुधार गर्नेलगायतका विषयमा मन्त्रालयले कार्य प्रारम्भ गरिसकेको छ भन्नुभयो

Posted in - ‘राष्ट्र्यि समाचार’ | Leave a Comment »