साझा चौतारी – नया बिचारको खोजि

- रामजी बराल

नव-उपनिवेश उन्मुख नेपालको कूटनीतिक चुनौती

Posted by shajhachautari on December 7, 2011

(केशरबहादुर भण्डारी), एक्काइसौं शताब्दीको द्रुत आर्थिक विकासको नमुना देश भारत र चीनबीचको नेपाललाई प्रधानमन्त्री बाबुराम भट्टराइकॊ नेपालको आर्थिक विकासको लागि दुई देशबीचको पुल -बनाउने परिकल्पनालाई बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सामरिक सोचको परिभाषा दुई ढुड्डाबीचको तरुल -सँग समाहित वा फ्यूजन गर्न सकेको खण्डमा यो नै नेपालको सही तथा व्यावहाकि आर्थिक सुरक्षा नीति कुटनीतिक सुरक्षा नीति र प्रतिरक्षा नीतिको आधार बन्नेछ।

कोशी गण्डकी र महाकाली सन्धिहरु नेपाली नेतृत्वहरुभित्रकॊ हीन भावना र दास मानसिकताको कारण हुन पुगेको र निरन्तर शोषित हुनुपरिरहेको अवस्थामा अहिलेको बिप्पा सम्झौतालाई पनि नेपालको राष्ट्रिय हित अनुकूल प्रयोगमा ल्याउन सकेनौं भने यसलॆ पनि अप्रत्यक्षरुपमा नेपालको आर्थिक शोषण गर्नेछ।

मधेशवादी दलहरु निःसन्देह नेपाली राजनीतिको एक प्रमुख स्टेक होल्डर हुन्। अहिले सत्ता टिकाउन र सत्तामा रहनकै लागि जुन प्रकारले एमाओवादी र मधेशवादी दलहरुले एक-अर्कालाई प्रयोग गरिरहेका छन् यसमा मधेशवादी दलहरुले प्रत्यक्षँरुपमा अल्पकालीन र दीर्घकालीन दुवै लाभ उठाउन सफल भएका छन्। अरु दलहरुको तुलनामा विभिन्न कारणले मधेशवादी दलहरु दक्षिणी छिमेकीको बढी सामीप्य र प्रभावमा छन् तापनि सत्ताको खेलमा सबै दलहरुलाई छिमेकको शक्तिले प्रभावमा पार्ने गरेको कुरा लुकेको पनि छैन। यो जगजाहेर कुरा हो कि उत्तरी र दक्षिणी दुवै छिमेकीको फरक-फरक सुरक्षा चासोका कुरा नेपालसँग जोडिएको छ। तर दक्षिणी छिमेकीको चासोको दायरा सुरक्षा क्षेत्रको अलावा नेपालको जलस्रोत आर्थिक राजनीतिक र सामाजिक क्षेत्रमा पनि उत्तिकै छ। यिनै धेरै चासोहरुका कारण दक्षिणी छिमेकीले उत्तरी छिमेकीको तुलनामा नेपालमाथि हरकिसिमबाट बढी प्रभाव जमाउन खोज्नु स्वाभाविक पनि हो। कुनै पनि राष्ट्र सम्पन्न र शक्तिशाली भएपछि उसले आफ्नो प्रभाव अन्य मुलुकहरुमा बढाउन खोज्छ नै। हाम्रो उत्तरी र दक्षिणी दुवै छिमेकीहरुको यिनै चासो तथा स्वार्थहरुका बीच नेपालले कसरी आफ्नो राटि्रय हित र स्वार्थ अनुकूलका नीतिहरु अख्तियार गरी फाइदा लिन सक्छ त्यसैमा नेपालको भविष्य निर्भर हुन्छ।

भारतले नेपालसँग गर्ने कुटनीतिक व्यवहार तथा मर्यादामा पनि एकरुपता पाइएको छैन। २०४६ सालपछिकै कुरा गर्दा पनि कुनै प्रधानमन्त्रीलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री आफैं विमानस्थलसम्म पुगेका थिए भने पछि ती नै प्रधानमन्त्री पुनः भारत भ्रमणमा जाँदा पहिलॆसरह व्यवहार गरिएन। कुटनीतिक मर्यादाअनुसार दिइँदै आएको सेनाको सम्मान गारत दिने प्रथा पनि ती नै प्रधानमन्त्रीको दोस्रो भ्रमणदेखि रोकियो र यसले अहिलेसम्म पनि निरन्तरता पाइनै रहेको छ। जब कि १९७२ मा मात्र भारतले नै जन्माएको बंगलादेशको प्रधानमन्त्रीलाई भारत सरकारले पूर्ण सैनिक सम्मान गारदसहित औपचारिक सम्मान दिन चुकेको छैन। यसरी भारतले नेपाललाई बंगलादेशसरह कुटनीतिक मर्यादामा स्थान दिएको छैन भने यसलाई नेपालले कसरी बुझ्ने ?

हाम्रा प्रधानमन्त्री भट्टराईको औपचारिक भारत भ्रमणको बेला इन्दिरा गन्धी विमानस्थलमा स्वागत गर्न विदेश मन्त्री वा अन्य कुनै मन्त्री आउने कुटनीतिक चलनलाई स्थगन गरी भारत सरकारले शिष्टाचार महापालजस्तो जुनियर कर्मचारी मात्र पठाई स्वागत वा अपमान गर्नु सेनाको सम्मान गारत नहुनु तथा कांग्रेस अध्यक्ष सोनिया गान्धीले भेटसमेत नदिनु आदि घटनालाई भारतले हामीलाई कुन औकातमा राख्न खोजेको छ यो बुझ्न सक्नुचाहिँ गहन कुरा हो। यस भ्रमणमा अपेक्षाकृत धेरै कुराहरु हुन नसक्नुमा हाम्रा प्रधानमन्त्रीको कतिपय गैरकुटनीति क्रियाकलाप अभिव्यक्ति र भाषण पनि एउटा कारण थियो। हाम्रा प्रधानमन्त्रीहरुले आफू प्रधानमन्त्री भएपछि दक्षिणी समकक्षीसमक्ष दाम राखी अनुमोदन खोज्ने मानसिकताबाट माथि उठ्न नसकुन्जेल हामीले समानस्तरको कुटनीतिक सम्बन्ध तथा व्यवहार खोज्नै सक्दैनौं। गहिरेर हेर्ने नै हो भने हाम्रो राजनीतिक तथा कुटनीतिक व्यवहारमा कमी-कमजोरी र अन्तर्राष्ट्रिय र विशेष गरी भारतप्रति हामीभित्र हुर्किएको हीनताको भावना नै यसको कारण हो भन्नुमा अतिशयुक्ति नहोला। हाम्रा प्रधानमन्त्रीले भारतका राष्ट्रपति प्रधानमन्त्री मन्त्री र विपक्षी नेताहरुसमेत सबैको विदेश नीतिका सम्बन्धमा समान धारणा र चासो हुँदोरहेछ भन्ने कुरा अहिले आएर मात्र बुझ्नुलाई के भन्ने अझ विडम्बनाको कुरा त छिमेकको विदेशमन्त्री एक दिनको कार्य-भ्रमणमा नेपाल आउँदासमेत उर्दीसमानको निम्तामा कुटनीतिक मर्यादाको वास्ता नै नगरी पूर्वप्रधानमन्त्रीदेखि सबै पार्टीका नेताहरु उहाँलाई आफ्नो देशको र पार्टीको परिस्थितिबारे जाहेरी गर्न तँ छाड म छाड गरी भेट्न पुग्नुलाई कसरी हेर्ने ?

सामाजिक तथा सांस्कृतिक हिसाबले पनि हामी निकै हदसम्म थाहै नपाई भारतको कुनै हिस्सामा नै भएजस्तो भइसक्यौं। हाम्रा अधिकांश घरहरुमा हिन्दी सिरियल मनोराजनको पर्यायजस्तो भइसकेको छ भने बाहिर हिन्दी सिनेमा। पार्टी आदिमा हिन्दी सिनेमाको गीतमा नाच्नु पार्टीको एक अभिन्न अंग भइसकेको छ। नक्कल गर्दागर्दै बिहेवारीमा हुने तडकभडक तथा पोशाक पूजा प्रतिष्ठान गर्दा राखिने पाल-सायर तथा काठमाडौंमा समेत पाण्डालको प्रचलन नेपाली सिनेमा तथा अन्य श्रव्यदृश्य सबैमा प्रचुर मात्रामा बढ्दै गएको भारतीय प्रभाव आदि मननयोग्य छन्। कुखुरा-हाँसको फुल भन्नुको साटो अण्डा अहिले हाम्रो बोलिचालीको भाषा भइसकेको छ।

पहिले तराईसम्म सीमित रहेको छिमेकमा बोलिनॆ केही शब्द दोकान नास्ता चाबी सब्जी आदि अहिले हाम्रै भाषाजस्तै भइसक्यो। विज्ञापन सुन्दासुन्दै युवतीहरु छाला भन्नुको सट्टा त्वचा र गोरो भन्नुको सट्टा निखार भन्न बिस्तारै रुचाउँदै छन्। भारतबाट आएका भैयाहरुले साइकलमा सब्जी घरको ढोकामै ल्याई सेवा पुर्याइदिनाले हामीमा अलि बासी र केही महँगो सब्जी खाने बानी परिसकेको छ। उनै साइकलवाला भैयाहरुले खाली सिसी पुरानो कागज र टुक्रा फलाम उठाइदिनाले हाम्रो नगरपालिकालाई निकै हदसम्म राहत पनि पुगेको छ। पत्रिकाका सौखिन र साँझमा रमाइलो गर्ने बानी परेकाहरुको लागि वर्षको एकाध महिनाको पत्रिका खर्च र यसो एक क्वाटर दारु खान पुग्ने खर्च पनि यिनै भैयाले नै पुर्याइदिएका छन्। सिलाइका लागि मास्टरजी र निर्माण कार्य गर्नुपरेमा पनि उनै मिस्त्री भैया’ नभई हाम्रो व्यवहार चल्दैन। नामैले मिस्त्री तथा मास्टर उनको देशमा नबिके पनि यहाँ आएर सिक्दासिक्दै पछि अच्छा मिस्त्री र मास्टर हुन्छन्। यिनै साइकलवाला भैया तथा मिस्त्री भैया’ नहुने हो भने हामी धेरै घर-परिवारको दैनिकी र अत्यावश्यक कार्यहरु नै अलपत्र हुने गरी भैया निर्भर भइसक्यौं। साइकलवाला भैयाहरुले घर-घरमा गई धेरैलाई हिन्दी भाषा बोल्न जान्ने बनाएका कारण तीर्थ-व्रत गर्न जाँदा अलि सजिलो पनि बनाइदिएका छन्। अब यिनै ँपि्रय भैया’हरु पनि विहारका मुख्यमन्त्री नीतीश कुमारका कारण हाम्रो सेवामा उपलब्ध हुन गाह्रो भइसक्यो। त्यस्तै भारतमा प्रयोग हुन छाडिसकेको पुरानो जेनेरेसनको औषधिको भरमा नेपालीहरुले स्वास्थ्य उपचार गर्नुपर्ने बाध्यता त छँदै छ।

हामीमा स्वाभिमानको नाउँमा हुर्केको नाथे अहंकार चिन्ने ठाउँमा काम गर्दा लाज हुने आडम्बरी संस्कार र लाहुरे प्रवृत्ति हाबी भएकाले पनि जोखिमपूर्ण थ्री-डी काम गर्न विदेशिने होडबाजी त थामेर थामी नसक्नु भएको छ। यिनीहरुले नै पठाएको रेमिट्यान्सको भरमा देश चलेको भनी अथ्र्याउने अर्थशास्त्रीहरु र देश हाँक्नेहरुलाई रेमिट्यान्सको साथै दैनिक लासको बक्सा र विदेशमा निरन्तर अत्याचार खेपी विक्षिप्त अवस्थामा त्रिभुवन विमानस्थलमा आइपुग्ने गरेका नेपाली चेलिबेटीबारे कसैलाई सोच्ने फुस्रद नै छैन। वर्षौंदेखि नेपालीहरुको भारतमा गई काम गर्ने चलन भए तापनि भैयाहरुको कारणले नेपाल पनि भारतको लागि एउटा महत्वपूर्ण रेमिट्यान्सको स्रोत मुलुक बनेको छ।

हाम्रो तराई-मधेशमा बोलिने भाषा बोल्नेहरुले नै हिन्दी भाषालाई स्थापित गर्न खोज्नु अर्को विडम्बना हो। कुनै पनि देशमा अनेक राष्ट्रिय पोशाक भए पनि एउटा औपचारिक पोशाक भन्ने पनि हुन्छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत स्थापित औपचारिक पहिचानको नेपाली दौरा-सुरुवाललाई राजाले लाउने पोशाक भनी दुराशयपूर्वक विस्थापित गरी सरकारले महापाखण्डीपन देखाएको छ। यही कारण कुनै दिन विदेशीको राजकीय वा औपचारिक समारोहमा औपचारिक पोशाकको अभावमा नौ थरी पहिरनमा पुग्ने हाम्रा नेताले उपयुक्त पोशाक नभएको भनी प्रवेश निषेधको अपमान-बेइजती खेप्नु नपरोस्।

दिनानुदिन बढ्दै गएको भारतप्रतिको राजनीतिक आर्थिक सामाजिक तथा सांस्कृतिक निर्भरताका कारण हामी नजानिदो पाराले अप्रत्यक्षरुपमा विस्तारवाद नीतिको नयाँ रुप परनिर्भरवादतर्फ उन्मुख हुदै छौं। सुरक्षाकै कुरा गर्दा भारतले आफ्नो रक्षा-नीतिमा उत्तरको हिमालसम्मलाई आफ्नो सुरक्षा छाताभित्रै राखेको छ। आन्तरिक सुरक्षाको सम्बन्धमा राजधानीको मुटुमा दिनदहाडै सीमापारिका पेसेवर अपराधीले नेपालीलाई गोली हानी हत्या गर्दासमेत हामी केही गर्न नसक्ने निरीह अवस्थामा पुगेका छौं। यसैले त होला हामीकहाँ मन्त्री हुँनासाथ ज्ञान-बुद्धिको सिंग-जुरो नै उम्रने र राजनीतिक हस्तक्षेप गर्न माहिर वरिष्ठ मन्त्री आफैं राजनीतिक हस्तक्षेप नभए केही वर्षमै नेपाल सिंगापुर हुन्छ भनी भाषण गर्न लाजै पनि मान्दैनन्।

स्वाभिमानी नेपालीको चासो आफ्नॊ पहिचान नगुमोस् भन्ने नै हो र यसप्रति राज्य उत्तरदायी हुनै पर्छ। एउटा पराजित राजा पौरषलाई विजयी सम्राट सिकन्दरले तिमीप्रति कस्तो व्यवहार गरुँ भनी सोध्दा राजा पौरषले एउटा राजाले अर्को राजाप्रति जस्तो व्यवहार गर्नुपर्छ सोहीअनुसार गर्नू भनी उत्तर दिँदा सिकन्दरबाट जुन इज्जत पाएका थिए नेपालले पनि यही पाठको अनुसरण गर्नु उपयुक्त हुन्छ।

(लेखक भण्डारी नेपाली सेनाका पूर्वसहायक रथी तथा नेपाल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिजका निर्देशक हुनुहुन्छ।)

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

 
Follow

Get every new post delivered to your Inbox.