Category Archives: - कला / साहित्य
कबिता.कथा,गीत
पोखरा: मेरो सुन्दर यात्रामा
त्यो मिनिबस चिप्लिरह्यो; सुलुलु सुलुलु। साँझको ६ बज्यो। बन्दिपुर जाने दोबाटो काटियो। ब्यास गुफा जाने दोबाटो पनि। बिस्तारै अंध्यारोले ढाक्न थाले पनि सगरमा अलेली उज्यालोपन बाँकि नै थियो। मैले एकैछिन पर्दा लगाएँ। झ्यालको। भित्र गण्डकि भेकका लोक भाकाहरु गुन्जायमान छन्। म असिम आभारि छु, ति गुरुजि संग कि उनले हाम्रो यो यात्रलाइ लोक भाकाहरुसंग भिजाइदिए। जवकि धेरै यस्ता बस यात्राहरु हिन्दि गितहरुले भरिएका हुन्छन्। म कदाचित् भन्दिन मलाई “य लाल रंग कब मुझे छोडेगा” मन् परोइन भनेर। तर यस्ता यात्राहरुमा मलाइ लोक भाकाहरुसंग जुन आत्मियता, रोमन्चकता र सामिप्यता गासिएको छ, त्यो अरु केहिमा थिएन, छैन र हुन सक्दैन।
बजिरहेको चक्का सकिएछ क्यारे, लोक भाका रोकियो। खै किन किन वातावरण अचाक्लि उकुसमुकुस लागिरहेछ। फेरि पर्दा खोलें, सायद मुक्ति को खोजि। पर पहाडहरु अलेलि देखिदै थिए, तर ति हरियाबाट अंधेरा काला बनिरहेछन्। पहेँला सगरहरु आफैँ मात्र हो संसार भनेझैं पहेंल्लिरहेछन्। म एकाग्र झ्याल बहिर भुलिरहेछु। हेर्दा हेर्दै मेरो संसार निष्पठ्ठ अंधेरो बनिरहेछ। मानौ अव कहिल्यै घामका किरणहरु फर्किने छैनन्। तर त्यो सानो संसार – यात्रको एउटा फिलिंगो – एक टुक्रा जिन्दगि – त्यो मिनिबस भित्रको संसार; सायद अझै उज्यालो छ। यस्तो लाग्छ, पर्दा बाहिरको निपठ्ठतासंग यसको कुनै साइनो छैन। तर मलाइ किन किन त्यो पर्दा बहिरको अंध्यारोले खेदि रहेछ। यो भित्रको लर्खराउंदो प्रकाशको कुनै मतलव देख्दिन म। पर्दा बाहिरको एक बित्ता संसारलाइ पनि आफ्नो बनाउन नसक्ने यो सिमित प्रकाशको के अर्थ। यो बनावटि प्रकाश को के भर, जुनै बेला पनि झ्याप्प निख्रिदिन सक्छ। मलाइ सुर्यको प्राक्रितिक प्रकाश चाहिन्छ, घामको न्यानोपन सहितको; निस्कपट, निस्छल्, धोका को कुनै गन्ध रहित। मैले कहिल्यै रात ढलेर मिर्मिरे उशाले समपुर्ण संसार नढाकेकि देखेको छैन र मलाइ तेहि सदियौं को निस्छलता चाहिन्छ। यधप्पि, घाम हाललाइ बिलाएकि छिन, र म वर्तमानमा बिलाएको घामलाइ अंगालेर वास्तबिकताबाट भाग्न सक्दिन।
त्यो अँधकार संसारमा एउटा छुट्टै सानो समाज छ। २०-२५ यात्रुहरुको। जहां झलमल्ल बत्तिहरु बालिएका छन्, संगितहरु गुन्जिएका छन्। अफसोस, यो समाज हो झै पनि लाग्दैन फेरि। सबै आ-आफ्नो तालमा आ-आफ्नै जिन्दगिमा गुज्रिरहेका। कोहि गफगाफमा। कोहि अर्को सिटकि किसोरीका चेहराहरुमा। कोहि जिवन साथिका न्याना अंगालाहरुमा। कोहि नवप्रेमि का ढाडसहरुमा। कोहि प्यारि निद्रा देबिसंग। म सर्सरति सबै वातावरण नियाल्छु – मेरो त्यो तत्कालिन सिमित दुनियाको। गुरुजि steering कहिले यता कहिले उता घुमाइरहेछन्, एकोहोरो। लाग्छ उन्को जिवन पनि तेहि steering हो, कहिले यता र कहिले उता घुमिरहेको। तर त्यो मिनिबस र उन्को जिवनमा अतुलनिय फरक महसुस भैरहेछ। उनि चाहुन त सक्छन, झ्याप्प ब्रेक दबाउन – त्यो मिनिबसको। तर उनको आफ्नै जिन्दगि त चलिनै रहन्छ – मेरो जस्तै। यि जिन्दगिका steering र ब्रेकहरु अरु कसैको हातमा छ, हामि त सिर्फ एउटा मिनिबस हौं। कुनै काठ्मन्डु पोखरा चालिरहेका, कोहि पोखरा काठ्मन्डु। आउदा जादा भेट हुने; मुंग्लिन् र आंबु खैरेनिहरुमा।
हैन, यस्तो पनि त हो, यो सानो यात्राका सबै जिन्दगिहरुको steering र ब्रेक त उहि गुरुजि संगै छ। के भर, कतै अरुहरुको यो जमात सहित उनि बिलाउन्, सेतिका गहिराइहरुमा। जिवनको ब्रेक कुनै अद्रिस्य सक्ति (हुन सक्छ त्यो भगवान होस्) संग छ भन्दा एक् किसिमको ढुक्क हुने रहेछ, तर तेहि ब्रेक कुनै अर्को जिवात्मा संग छ भन्दा त जिवन कहालि लाग्दो बन्दो रहेछ। निमेश् भर्को यो उद्बेग पनि कति बिकराल। आखिर जिवन के हो र, फगत अनुभुतिहरु बाहेक। कहिले बोझिला, बफिला। कहिले रमाइला, उन्मक्त। र जिवन फगत एउटा सिंगो यात्रा न हो – हजारौं टुक्रा टुक्रि यात्राहरु जोडिएको। बिचमा सयौं मसिना यात्राहरु आउँछन्। र ति यात्राहरुमा कोहि आफ्नाहरु आउँछन् र पराइ भएर बिलाउँछन्, कोहि पराइहरु आउँछन् र आफ्ना भएर जान्छन्। हजारौं हजार अरु तथाकथित सामुहिक यात्राहरु पनि आउँछन् – जहाँ आफु एक्लै हिडिन्छ तर देख्नेले अरुसंग देखिदिन्छ। ति गुरुजि जिवन भर एक्लै यात्रामा होलान्- आफुमा। तर म देख्छु – उन्को अधिकांस यात्राका टुक्राहरु अरु जिन्दगीहरुसंग गासिएका छन्।
पोखरा: मेरो सुन्दर यात्रामा – २
………………………………………..
जिवन यात्रा हो। कुनै अतिसयोक्ति छैन। अतिसयोक्ति यस मानेमा छ कि चाहेको गोरेटो सधै भेटिदैन। चाहेको रफ्तार सधै मिल्दैन। चाहेको साथ सधै मिल्दैन। चाहेको जिवन सबैलाइ मिल्दैन। अझ यसो होला; चाहेको जिवन कसैलाइ मिल्दैन। त्यहि वास्तबिकताले पोलिरहेको छ। गएका सुनौला ३ दिनहरु अव म संग छैनन्। गएका ३ दिनहरुका चलायमानताहरु म संग अव बाकि छैनन्। पुन: त्यस्तै अवसरहरु आउलान् न-आउलान्, तर यो एउटा याद बनेर जिवन इतिहास कोरिएको छ। म मेरो तेहि यात्रा बिवरण उतार्ने जमर्को गरिरहेको छु। आफ्नो इतिहास लेखिरहेछु। अरुहरुका लागि। सायद हामी जे लेख्छौं, आफ्नो अनुभव् अरुको भन्दा श्रेयस्कर छ भनेर प्रमाणित गर्ने जमर्को हो। तेसैले म जे लेख्ने प्रयास् गरिरहेछु, सायद् भन्न खोजिरहेछु कि मेरो पोखरा भ्रमण अरुको भन्दा अलग थियो। सुन्दर थियो। रोमान्चक थियो। उल्लास र खुसिले भरिएको; एउटा उत्क्रिस्ठ यात्रा थियो। वास्तवमा यि हरफहरु पढिरहने जो कोहि पोखरा यात्रामा गएको छ। र त्यो जो कोहि को अनुभव मेरो भन्दा कम्सल कदाचित होओइन। तर पनि म किन चाहिरहेछु, यो लेखौं? थाहा छ मेरो अनुभव अरु कोहि तथकथित अनुभव भन्दा कुनै अर्थमा श्रेयस्कर छैन। तै पनि किन म सुर् न तालका सब्दहरु जोडेरा काहानिहरु बुनिरहेछु? किन म जिउनु को सट्टा समयको यो सानो टुक्रालाइ इतिहास लेख्नमा खर्चि रहेछु? यत्राको त्यो समय म मेरो अर्थको सुन्दरता जिए। सकियो। याद मनमा हुने हो, छदै छ। मलाइ किन अक्षरहरु संग यो मोह? के छ यि सब्दहरुमा जो सदैब घोचिरहन्छन। यो लेखौं। उ लेखौं। आफुमा जे छ त्यो देखाउन लाएक हैन भन्ने जान्दा जान्दै पनि किन मन आफ्नो हठ छाड्दैन र यो unicode खुलि रहन्छ? यि यावद प्रष्नहरुको तगारो तेर्सिरहेकै भए पनि म थामिन सक्दिन र आफ्ना वाइयत दिन चर्या हरु ओकलि रहन्छु।
छेवै को अर्को सिटमा दल बिर राइ छ, मस्त निद्रामा। म आफ्नो मन मिटर घुमाइरहेछु, तेति पुराना नभैसकेका बिगतहरु तर्फ। करिब् २ महिना अगाडि होला, संगम बस्यालले सुनाएथ्यो – “दाई, बिदाको लगत्तै पछि पोखरामा अन्तर क्याम्पस भलिवल प्रतियोगिता छ। खेल्न जानु पर्छ है।” मलाइ थाहा छैन रगत कसरि बिकसित हुन्छ। मेरा बाबा एउटा कनिस्ठ सरकारि जागिरे थिए। खेलको नाममा तास को “साइटिङ वा फुट्टिकट” बाहेक केहि मन पर्थेन। मेरि आमा जिवन भरकि ग्रिहिणि, उनले खेल के हो कहिल्यै बुझ्ने मोउका पाइनन। मेरो रगत कसरि बिकसित भयो कुन्नि। खेलको नाम सुन्ना साथ कण कण उर्लेर आउँछ। भलिवल होस्, कि ब्याडमिन्टन्, वा फुटवल वा क्यारिम् बोर्ड वा डन्डि बियो वा कवर्दि वा जो कोहि खेल मेरो सम्मुख भएर गुज्रिये, तिनिहरुले मेरो रगत प्रदुसित गराइरहे। कोहि नचिनेको मान्छे उफ्रिरहेको होस् र एउटा खेलाडिको नपुग होस्; म लुत्त छिरिहाल्ने। म असिम असांस्क्रितिक् बिकास भएँ, खेलको मामलामा। अझ यो त जिवनमा पहिलो अवसर थियो, त्यो इस्तरको प्रतियोगितामा भाग लिन पाउने। सहर्स स्विकारे – “भै हाल्छ नि, तिमिले भनेपछि।”
मलाइ थाहा छ, म कुनै उच्च क्षमताको खेलाडि हैन – खेल जुन सुकै होस्। सिक्यो, अलेलि आउँछ, तेसैमा फुर्कियो। बस। सायद लाटो देशको गाँडो तन्नेरि बनिरहें, सधै भरि। खेल्न उत्पाद इच्छा हुनु मात्रै खेलमा उत्क्रिस्ठ दक्षता हुनु हैन। उत्क्रिस्ठ खेलाडि हुन जन्मदै केहि लिएर आउनु पर्छ। मैले जति लिएर आएको छु, त्यो मेरै कलेज भित्रका प्रतियोगिताहरुको लागि मात्र ठिक हो। यो अन्तर क्याम्पस प्रतियोगिताको लागि हैन। अफसोस, हामीमा अलिकता फरियावाद जहापनि चलि हाल्छ। तेसैले म जत्तिकै; वा हुन सक्छ म भन्दा उच्च गुणस्तरका; कति अरु खेलाडिहरु छाडेर संगमले मेरो नाम लियो होला। तर म अझै यो मानेमा इस्पस्ट छैन कि कुन प्रक्रितिको फरियावादमा संगमले मलाई नातेदार ठानिरहेछ। म साधारण Voter बाहेक केहि हैन, उस्को खेमाको। के तेहि पर्याप्त थियो? जसरि सुकै होस्, कसैले मलाइ नातेदार संझेर गुण लगाउछ भने केलाई त्यो कस्तो नाता हो भनेर खोतल्ने जरुरि? म कुनै अलौकिक प्रणि हैन। मानविव स्वार्थलाई म किन अंगिकार नगरौं? हो तेसैले, अरु राम्रा खेलाडि छुटेका हुन् कि नहुन, म बोलाइएँ। तेहि महत्वपुर्ण हो। तेहि सम्पुर्ण हो।
दिनहरु बित्दै थिए। निर्धारित मितिको एक साता जति अघि दल बिर राइले पुन: अन्तिम निधो गर्न खोज्यो – “पोखरा जाने हैन त?” दल बिर टोलिको प्रमुख खेलाडि। मेरुदन्ड भनौ न। पहिलो सर्टर, हाम्रो भलिबल टिमको। तर मेरो परिस्थिति अलिकता प्रतिकुल बन्दै थियो। सहरभरि बिरामिको ताति लागिरहेको थियो। बुबा, दिदि, भाउजु सबै बिरामि। भ्याइ नभ्याइ थियो हामी भचेका दाजु भाइलाई। तैपनि मेरो खेल र त्यो प्रायोजित यात्रा दुबै प्रतिको आकर्षणले घच्घच्याइ रह्यो र लोभि आकांक्षाहरुलाइ मिच्न सकिन। हुन्छ भनिदिएं। टोलि बन्यो – “दल बिर राइ, सुर् न ताल्, दर्पण कार्की, प्रेरित उपध्याय, संगम बस्याल्, लवण सिलवाल, सुमन राम घिमिरे, सम्पुर्ण क्षेत्रि र अरु १-२”। मेरो फोटो लगियो। मेरो नामको जर्सी बन्यो। र म त्यो अन्तिम बिन्दुमा पुगें – जहाँवाट मलाइ यो भ्रमण परित्याग गर्न अधिक असहज थियो।
माघ २२-२५ को प्रतियोगिता कार्यक्रम हुनुपर्छ। प्रेरित उपध्यायको assessment पर्यो रे, २२ मा। हाम्रो खेलहरु २३ देखि मात्रै राख्न आग्रह गरियो। २२ को सांझतिर बाटो लाग्ने सहमति भयो। म तेहि मनस्थितिमा २१ गते बुबालाइ भेट्न तिन्कुने गएं। बुबालाइ कफले अझ च्यापेको रहेछ। होस्टेल फर्कने कुरा भएन त्यो दिन। मन अझै अन्योलमा पर्यो, “बुबालाइ कस्तो हुने हो, पोखरा जानेकि नजाने!” बिहान सम्ममा बुबालाइ अलिक् बिसेक् भयो। होस्टेलमा के पुगेको थियें – “काहा हराएको, हामि त दिउसै जान लागेको” भन्छ दल बिर। Assessment हुने भोलि आउछन् रे, अरु आजै। Assessment त मेरो नि थियो, तर हाप्ने बाहाना मिलिराछ। यस्तो मौका थोरै आउछ, उपयोग गर्नै पर्यो। त्यो उपयोग सदुपयोग हो कि दुरुपयोग त पछि नै थहा होला, अहिले जाँच छल्न पाए पुगि गो नि। सायद वर्तमान सबैभन्दा प्यारो हुने रहेछ। परिक्षा फारम पनि भर्नु थियो, यता उति गरेर ३१०० भेला पारें र गोर्कि भनिने गोबिन्द कार्किलाइ जिम्मा लगाएर १२ बजे क्यम्पस गेट पुगें। हो यहाँ बाट सुरु भयो मेरो प्रायोजित पोखरा यात्रा। खेलाडिको पदवि सहितको; सम्पन्न र संभ्रान्त यात्रा।
हामी ८ जना, त्यो group मा। २ वटा Taxi हरु जावलाखेल हुदै चक्रपथ निस्किए र कलंकितिर हुइकिए। मलाइ अव पैसा कति पर्ला वा यो सस्तो त्यो महंगो संग सरोकार छैन। भ्रमणका नाइकेहरु पनि अरुनै छन्, आफु त ठ्याक्क Taxi आइपुगे पछि चडे पुग्यो। मलाइ चिसो चाहियो वा तातो भन्दे पुग्यो, त्यो तुरुन्त आइपुग्ने। उफ्। मोज् नै होला यो। सायद् अर्काको बाउको श्राध्य हो कि। २ बजेतिर एउटा मिनि बसले हामिलाई सर्लक्क निल्यो – कलंकिमा; र चिप्लन थाल्यो – त्यो पस्चिमतिरका ससाना थुम्काहरु तर्फ। मुग्लिङ सम्मको वाटो उहि हो – धेरै पटक नापिएको। यो ११० KM सडक अर्को एकपटक नापिउन्जेल हामी रमाइला कुराहरुसंगै हाँसिरह्यौं। नौबिसेका पुरि तरकारिहरु, मलेखुका माछाहरु, र गोर्खाबाट झारिएका रसिला सुन्तलाहरुले मुख ब्यस्त बनिरह्यो। यो सडकमा म सायद् २० भन्दा बढि पटक ओहोरदोहोर गरिसकें हुंला। दिवा बस, रात्रि बस, बिहानिमा, सांझमा; सबै संभावित समयहरु। ढल्किंदो मध्यान्नको यो समय त्यो ओरालो झर्न उत्क्रिठ थियो। दक्षिण पस्चिम मुख फर्काएका पहाडहरुम घामको न्यानो पोतिएको छ। थानकोट तलका घुम्तिहरु, बेंसिका फाँटहरु, त्रिसुलिका बगरहरु र किनारै किनार लमतन्न सडकहरु – द्रिश्य मनमोहक छ, आकर्षक छ। कति सुलुत्त चिप्लिएछ समय। दायाँ बायाँ पसलहरु देखिए। मुग्लिङ् आइसकेछ। पाइन्टको खल्तिमा राखेको घडि निकालेँ। त्यो संधै पाइन्टमै हुन्थ्यो। किन चेन फेर्नलाइ खर्च गर्नु? समय हेर्न मिलि हाल्छ। ५ बजेको रहेछ। सांझको।
पोखरा: मेरो सुन्दर यात्रामा – ३
यो बिचमा तेस्रो बर्षको दर्पण कार्की संग नजिकको घुलमेल भयो। उ अनुहारमा अलेली कालो देखिन्छ, तर दिलको बहुत सफेद; शान्त, सौभ्र, गम्भिर तर सरल पनि, र एकदम सहयोगी। अरु त प्राय नजिकैबाट चिनेकाहरु नै थिए।
मेरो लंगडो घडीको सुइ घुमी नै रह्यो र हामीलाई पेटमा राखेर हाम्रो मिनिवस पनि उसरिनै दौडिरह्यो। नारायणी तरेर आँवु खैरेनी तिर हुंकिदै गर्दाको यो भु-बनावट तुलनात्मक हिसाबले नौलो छ। जम्मामा दुइपटक नापेको हुंला मुंग्लिङ पोखरा खन्ड। पहिलो रात्री बस थियो; कास्की नौडडा तिर लागेको, तरुनो र उत्साहित एउटा नयाँ overseer बोकेर। अर्को दिवा बस थियो, उत्साह जती उतै बेचेर फर्किरहेको बुढो Overseer लाई राजधानी धकेलिरहेको। गोर्खा तर्फ छुट्टिने दोवाटो नगिचै पुगेपछी बस रोकियो। चौकी जांच छरे। संकटकालको। वसवाट ओरालियो। बस हामीलाई छोडेर डेड दुई सय मिटर पर पुगेर रोकियो। अगाडिकाहरु हिंड्न थाले। म उनिहरुको पछि पछि लागें। जांच होला भन्यो – भएन। अव त होला भन्यो – भएन। आखिर बस सम्म पुगियो र चढियो। कसैले १ शब्द केही सोधेन। मैले कौतुहलता राखें “खै चेक?” अनि पो थाहा लाग्यो तेही पैदल यात्रा नै checking रहेछ। सैनिकहरुले ब्यक्तिको हिडाइवाट पत्ता लगाउंछन रे; कोही Military training लिएको सैनिक वा छापामार हो कि होइन भनेर। वाउ, रमाईलै भो। कोही भुस्तिग्रे ब्याराके आएर यो गर र उ गर यता फर्कि र उता फर्कि भन्दै लछार पछार नगरिकनै पनि सैनिक जाँच हुने रहेछ; त भैगो।
र पुन: हुंइकियो हाम्रो मिनिबस – गाउँनै गाउँ तर्फ। मलाइ यस्तै यात्राहरु सबैभन्दा रमाइला लाग्छन्। दायाँ बायाँ हल्का भिरालाहरुमा सुन्दर गाउँहरु, खेत र मकैवारिहरु, हरिया चौरहरु र बिचै बिचै चिप्लिएको चिल्लो सडक। कति सुन्दर थियो तनहुको त्यो पाटो। बस दमौलितर्फ दौडिरहेथ्यो र हाम्रा साथिहरु बसमा चुट्किलाहरु दौड्याइरहेथे। धेरैजसो so called non-veg joke हरु। मलाइ गारो यसर्थ हुन्छ यि यात्राहरुमा कि अधिकांस केटाहरु जो संग मेरो सहयात्रा रह्यो – उ drinks गर्छ र अस्लिलता जोडिएका joke हरु भन्छ। यस अर्थमा म जहिले पनि एक्लै पर्छु।
यहांनिर पनि केटाहरु अस्लिल जोकहरु सुरु गरिरहेछन्। सबैलाइ स्वतन्त्रता छ: आ-आफ्नो तवरको रमाइलो गर्न। मलाइ केहि आपत्ति हैन, कस्ले कस्तो जोकहरु भनिरहेछ संग। म प्रायस स्रोता हुं, सुनिदिन्छु। भैगो। तर आपत्ति यस मानेमा भै रहन्छ कि आफ्नो स्वतन्त्रताको प्रयोग सदैव नै अरुको स्वतन्त्रतामाथि दख्खल पुग्ने गरि उपयोग गर्छन्, यि मेरा सहयात्रिहरु। किन कहिल्यै यि तरुनाहरुको भिड यो ख्याल गर्दैन कि आफ्नो क्रियाकलापले अरुहरु कसरि पिल्सिरहेछन्। तेहि बसमा धेरै छोरिमान्छेहरु पनि यात्रा गरिरहेछन्; जहाँ यि मेरा उरन्ठेउले सहयात्रिहरु ठुलो ठुलो स्वरमा अस्लिल संवाद र चुट्किलाहरु गरिरहेछन्। कोहि दिदिबहिनिहरु दाजुभाइ संग होलान्, कोहि बा-आमा संग; उहिहरुलाइ कति उकुस्मुकुस बनिरहेको होला यो यात्रा, यो फोहोरि वातावरण। अफसोस, म मौन छु। किन केहि भन्न सकिरहेको छैन कसैलाई? सायद बहुमत उहिहरुकै थियो र मैले एक्लो ब्रिहस्पति बन्ने प्रयास गरिन।
र मेरा यि निरिहपनहरु सदैव बिझाइ रहन्छन्, यस्ता यात्रहरुमा। तर यो र यस्तै एक्लोपनाहरुलाई, यो पटक भने जहां जहां आवस्यकता पर्थ्यो; दर्पणले कार्कीले हटाइदिन्थ्यो। उ drinks गर्दैन – म संगै; उ चुरोट पिउदैन – म संगै; उ अस्लिल जोकहरु गर्दैन – म संगै; उ तरुनिहरुलाई छेड्छाड् गर्दैन – म संगै। सायद अरुहरुको नजरमा हामि असामयिक थियौं। वा हामिले समय र उमेर बिचको तालमेल बिर्सेका थियौं। तर हाम्रा आफ्नै सिद्धान्तहरु थिए, जिवन र जगत प्रतिका। र कम्तिमा म (किनकि दर्पण को बारेमा त म केहि भन्न सक्दिन) खुसि थिएं र छु, मेरा आफ्नै तौर तरिकाहरुमा। अफसोस्, मैले उस्लाइ सधै साथ दिन सकिन। म मेरिजतिर लाग्थें – प्रत्यक सांझहरुमा र उ बिछ्यौनातर्फ मोडिन्थ्यो मेरिजका खालहरु छाडेर।
“कता हराइ रहनु भएको सुर् न ताल् जि” दलबिरले आफ्नो मौलिकपन कायमै राख्यो। उ सुतिरहेकै मानेथें, कतिबेला ब्युझिएछ। य हो त म त हराएछु, स्म्रितिपटलमा। “हैन तेहि मोरो कठमान्डु घुमिरहन्छ नि, जता गएपनि।” सायद सत्य नै बोलेको हुंला। उस्ले पत्याएन र मैले आफैंले नसुनेको, नदेखेको र नसोचेको आक्रितितिर इंकित गर्यो, “हो कि झ्याल कुमारी तिर हराएको हो?”। के उत्तर दिने सोच्दैथें; उ पुन: तन्द्रा तिर फर्किसकेछ। कस्तो २८६ (Predecessor of Pentium Processors) जस्तो गिदि मेरो, जहिले पनि ढिला चल्ने? अनायस कुनै रोमान्चकताको बर्षा भएझैं। हैन को होलि त्यो झ्याल कुमारि? कोहि त पक्कै होलि, कहिं कतै। तर किन झ्याल कुमारिनै। के उस्को घरमा झ्याल नहुन सक्दैन? उफ्फ्। My stupidity।
राति ७ बजिसकेको रहेछ। डुम्रे पुगेको हुनुपर्छ। मलाइ पहिलो पोखरा भ्रमणबाट फर्किँदाको दिवा बस यात्रा संझना भैरहेछ। पोखराबाट निस्किने बेलामा देखिएको सेतिको गल्छि, नागबेलि सडकको वारि पारि पोक्चा पोक्चि थुम्काहरु, हरिया झाडिहरु; कति रमाइलो द्रिश्य थियो, लेखनाथ नगरपालिका र डुम्रे बिचको। आज त संसार पुरै अंध्यारो छ। क्षितिजका पहाडहरु पनि देखिन छाडिसके। मलाइ त्यो मनमोहकता मिस् भइरहेछ। म सांघुरिएको छु, सानो टुक्रो संसारमा, यहि मिनिबस। कता कता आँखा लोलाएझै भएका रहेछन्। एक्कसि चर्को स्वर गुन्जिएको छ, बहिर। “धोकेवाजहरुलाइ मर्न पनि पर्दैन कि कसो। यिनिहरुले त नर्कमा पनि ठाउ नपाउलान्। ….” के भेछ कुन्नि? कस्ले कस्लाइ कसरि धोका दियो त? कराउने मान्छे अधबैसे अधबैसे सुनिन्छ। हाम्रो पनि बस रोकिएको छ। झ्याल खोलें। एउटा ३५-४० को मान्छे, एउटि ७०-७५ कि बुढि आमै, एउटि ३०-३२ कि अधबैंसे आइमाइ, एउटि २०-२२ कि युवति, २ जना स-साना बालिकाहरु। तुरुन्त दिमागमा एउटा चित्र तयार भयो। धार्दिङ तिरका किसानहरुको एउटा परिवार पोखरातिर कोहि आफन्तलाइ भेट्न निस्केको हुंदोहो। बुढा बाउ खसिसकेका हुंदा हुन। जेठि बहिनिलाइ कोहि ट्रक ड्राइभरले उडाएको हुंदो हो। माइलो भाइ पोखरा तिर हवल्दार हुंदोहो। कान्छो भाइ घरमा बस्तु भाउ गर्न बसेको होला। बुढि आमा, धर्म पत्नि, कान्छि बहिनि र २ वटि छोरिहरु संगै माइलो भाइलाइ पनि भेट्ने र सहर पनि घुम्ने अभिलाशामा निस्केको हुंदोहो, त्यो अधबैंसे मान्छे। अफसोस्, मुंग्लिङमा चडेको उनिहरुको त्यो सरल परिवारलाई पोखरा पुर्याउन दौडिएको बसले डुम्रेमै अलपत्र छाडिदिएछ। सायद उनिहरुको बसमा त्यो परिवार बाहेक अरु कोहि बांकि भएनन् होला त्यहा आइपुग्दा र सोझा देखेर ड्राइभरले बस यहा बाट अगाडि जांदैन भन्दै ओरालेर थकाल्नीको भट्टि पसलतिर मोडियो होला।
हो यस्तै धोकाहरुबिच चिप्लन बाध्य छ यात्रा। बिस्वास नगरेपनि यात्रा चल्दैन। गरेपनि जहांतहिं आफ्ना स्वर्थका लागि सोच्नै नसकिने धोकाहरुले पिरोलिरहन्छ। म चाहन्छु कसैको बिस्वास नगरूँ, अबिस्वास पनि। तिमि जो हौ, तिमिलाइ पनि म बिस्वास नगर्न चाहन्छु। तर के यो संभभ होला? के आधा भन्दा भढि जिन्दगिको प्रस्तावित सहयात्रा बिस्वास बेगर संभव होला? जे होस्, म तिमि जो हौ, तिमिलाइ अविस्वास चाहिं पक्कै गर्न सक्दिन। विस्वासका बारेमा चाहिं उमेरले कुनै पाठ सिकाउदै जाला भन्ढानेको छु।
पोखरा: मेरो सुन्दर यात्रामा – ४
जे होस्, म तिमि जो हौ, तिमिलाइ अविस्वास चाहिं पक्कै गर्न सक्दिन। विस्वासका बारेमा चाहिं उमेरले कुनै पाठ सिकाउदै जाला भन्ढानेको छु।
टाउकोले बसको सिलिंग ठोकेपछि झल्यास्स भएं। बस दौडिरा हो कि भ्यागुतो जस्तो उफ्रिरा हो भन्नै गारो। ७:२५ भएछ। लेखनाथ न. पा.। बाटो भत्किएर लथालिंग रहेछ। यात्राको त्यो एटम अचाक्लि कठिन थियो। तर धेरैबेर त्यो टिकिरहेन र हाम्रो मिनिबस पोखरा बस पार्कमा रोकियो।
————————————
भन्छन् कोहि जिन्दगि यो कर्कलाको पानि जस्तै हो
कोहि भन्छन् जिन्दगी यो डुबि जाने घाम जस्तै हो
म त भन्छु स्रिस्ठिकै अमुल्य उपहार
मानिसको जुनि झै के छ र बराबर
बाचुन्जेल गरौं रमाइलो
हास्तै खेल्दै गरौं रमाइलो
आएका थ्यौं खालि हात जान्छौं नि खाली
बाचुन्जेल आउ न नाचौं रिस राग फालि
दुइ वचन मिठो बोलिदेउ
मिठो बोलि बोल्दैमा के नै हाम्रो जान्छ र
मै हुं भन्ने मान्छेले पनि खै के लान्छ र
बाचुन्जेल गरौं रमाइलो
हास्तै खेल्दै गरौं रमाइलो।
————————-
प्रिस्ठभुमिमा कुन्ति मोक्तानका यि सुमधुर भाकाहरु गुन्जिरहेछन्, रेडियो सगरमाथामा। कति गहकिला सब्दहरु! म यि पानाहरुमा अलमलिएको छु।
हो म पनि नाच्न चाहन्छु, गाउन चाहन्छु, मादल घन्काएर वातावरण उमंगित बनाउन चाहन्छु; मेरो यो पोखरा यात्रामा। तर मेरा यि चाहनाहरु पुरा हुने संभवना क्षिण छ। म त्यस्तो माहोलमा आफुलाइ पाइरहेको छु जो नाचगान भन्दा अरु नै केहि रुचाउंछ।
बसबाट ओर्लेकै थिएनौं हामी। बिभिन्न होटलका एजेन्टहरु यता र उता भन्दै तान्न आइपुगे – मेरो होटल र तेरो होटल। मलाइ यस्ता पलहरु बहुत तिता लाग्छन्। कस्को पछि लाग्ने? र मलाइ यस्तो पेशा सबै भन्दा घ्रिणित लाग्छ जहाँ कसैको सामुन्य नै उस्को वा उन्को बिरोध गर्नु परोस्। प्रतिद्वन्दिको घटिया पनको बनावटि बिरोध।
बाँच्नु छ, तेसैले केहि गर्नु पर्छ। सायद तेसैले सबै मान्छे केहि न केहि गर्छन्; कोहि चोरि गर्छन्, कोहि दान; तथाकथित पाप वा धर्महरु। धेरै पटक मरेर जिउन बाध्य छ यो जिन्दगी। कति सपनाहरु मरिरहन्छन्। कति इच्छा – आकंक्षाहरु मरिरहन्छन्। कति रहर अनि चाहानाहरु मरिरहन्छन्। कति आशा र अभिलाशाहरु मरिरहन्छन्। कति लक्ष तथा उदेश्यहरु मरिरहन्छन्। कति भवनाहरु, मनहरु र मुटुहरु मरिरहन्छन्। तै पनि तन प्रतिको लालशा बांच्न खोजिरहन्छ। सयौं आत्मसम्मानहरु, इमानहरु, नैतिकताहरु, अपनत्वहरु र आत्मिय साथहरुको मृत्यु सहंदै पनि यो शरिर बाँच्न चाहन्छ। बिवस। खै के को लोभ हो यो; जहाँ सम्पुर्णत प्राक्रितिक अहं र गर्भहरुलाई सेलाएर एउटा मुढो जिन्दगीको मृत्युसंग सदैव डराइरहन्छु म, तिमि, उनि र संसार। तेसैले त ति होटलका एजेन्टहरु हाम्लाई पाखुरामा समाएर भनिरहेछन् – “मेरोमा आउनुस हजुर्। उस्को होटल भन्दा मेरो धेरै उत्क्रिठ छ।” र तेहिं अर्को पाखुरामा झुन्डिएको अर्को एजेन्ट भनिरहेछ, “तेस्को कुरा नपत्यानुस् सर। आउनुस् एकपटक कोठा त हेर्नुस्। आफै थाहा पाइहाल्नु हुन्छ नि।”
हाम्रो टोलिका अगुवाहरुले प्रजातन्त्र प्रयोग गर्ने भए। सबैका होटलहरु अवलोकन गरिने भए। भाउ र तेस्मा आउने सुभिधाहरु तुलना गरिने भए र मात्रै निर्णय लिइने भयो। पछुवाहरु तेहिं उभिनु पर्ने भयो: पोखर प्रिथ्भि चोक। के गरौं के गरौं भै राथ्यो। आफुलाइ डाएरि लेख्नु पर्ने, सम्झें डाएरि हाल्न भुलेको छु। नजिकै को खुद्रा पसल पुगें र एउटा सानो कापि किनें; रु. ५। र एउटा कालो लेख्ने मोनामी डटपेन पनि; रु. ४। किन किन मलाइ सधै कालो मसि मन पर्यो; बिध्यालय महाबिध्यालयहरुमा। सायद म कालोपनमा घुल्न चाहन्छु, ताकि जिवन गोरेटोका अन्धकारहरु आत्मिय मित्र बन्न सकुन्।
टोलिका माउतेहरु फर्किए। राम्रो ठहरिएको होटल छानिएछ। दरवार होटल, या नि Hotel Palace. कसरि कस्तो अवलोक गरियो, थाहा छैन। तुलनाको कस्तो जोड घटाउ भयो, त्यो पनि बुझ्या छैन। बुझ्नु जरुरि पनि थिएन। होटल प्रिथ्भि चोकैमा थियो। हिड्नु परेन, थाकेझैं भैराथ्यो, तेहि राम्रो भो। २ वटा कोठाहरु; ८ जना तोरि लाहुरेहरु। पछाडि भिरेका झोलाहरु फ्यालिए, एउटा कुना तिर, र खाटहरु जोडिए। थप सिरक र सिरानिहरु मगाइए। र सामुहिक ओछ्यान् तयार भयो। कस्को कुन स्थान हो भनेर छिनिफानो चाहि भएकै थिएन। आफुले आफ्नो पैसे थैलो सबै भन्दा छेउको सिरानि मुनि घुसारेर त्यो स्थान मेरो हो भन्ने सो-घोसणा गरें। हेरौँ कोहि बिरोधि आउने हुन् कि हैनन!
होटल एउटा लामो कटेरो जस्तो आकारको थियो। दुइतले कटेरो। माथिल्लो तल्लामा पुर्व फर्किएको एउटा लामो वार्दलि थियो र तेसैमा लहरै जोडिएका थिए हाम्रा र अरुहरुका कोठाहरु। वार्दलिमा अरु कोठाकाहरु पनि हुलाम् हुल देखिए। परिचय हुदै गयो। तेहि अन्तर क्याम्पस भलिवल खेल्न आएकाहरु पनि रहेछन् तेहाँ। दांगको महेन्द्र बहुमुखि क्याम्पसका केटाहरु र महेन्द्र मोरंगका केटा-केटिहरु। उनिहरु सबैले आजै भिडिसके रे, १-१ गेम। तालिका हेरियो। हाम्रा भोलि बिहानै रहेछन्, २ वटै गेमहरु। हामि हास्यौं – टोलिका बाँकि सदस्यहरु न-आइपुग्दै हामि हारिसकेका हुने भयौं। जित्ने त कुनै अभिलाशा पनि थिएन, सामर्थ्य पनि। हामि जित्नलाई पोखरा गएका पनि हैनौं, खालि सहभागिता जनाउनलाई। Motivations अरु पनि थिए। सरकारि पैसामा प्रतियोगिता हेर्ने र सहर घुम्ने। तैपनि अलिक कम्जोर प्रतिद्वन्दि परे सम्मानजनक हार को आशा पनि थियो। अफसोस्, पहिलो खेल नै ससक्त ताहाचल क्याम्पस संग परेछ। उफ्। धोबि चुटाइ खाइने भो। दोस्रो खेल भने हाम्रै इन्जिनियरिङ अध्ययन संसथानको पस्चिमान्चल क्याम्पससंग परेछ। अलिकता आस लाग्दो। पहिलो त दाजु भाइ जस्तै लाग्ने, दोस्रो धेरै overseer हरु मात्रै पढ्ने र अरु साधारण क्याम्पसमा जस्तो खेलाडि किन्न नमिल्ने भएकोले उनिहरुको टोलि संग अलेलि पौंठेजोरि खेल्न सकिएला कि झैं। एउटा अनुमान् मात्र।
पोखरा सोचे भन्दा न्यानो थियो, माघको दिनमा पनि। Hotel Palace संगको त्यो रात स्मरणिय थियो। बेलुकि आँखा जुधेका पुर्बेली अनुहारहरु र बिहान झिस्मिसेमै सुनिएका सुरिला स्वरहरु।
“त्यो रातो माटो
जौं अव घर नि लै लै घिर्लिङ को बाटो”
“हा हा वारि जमुनापारि जमुना
जमुनाको फेदैमा मनकामना”
मलाइ रहर थियो – उनिहरुका यि सुमधुर भाकाहरुसंगौ आफ्नो स्वर पनि मिसाउने। तर म असमर्थ रहें। उसै त लोक भाका भनेपछि हुरुक्क हुने मान्छे, त्यसमाथि पश्चिम पुगेर सुनिएका गाउंघरतिरकै स्वर तथा भाकाहरु – म रोमान्चित थिएं। तथापि नौलो परिवेस र नौलो ठाउं, आफुलाइ त्यति सहज बनाउन सकिनं। मलाई सोधौं सोधौं पनि लागिरहेथ्यो – कोहि भोजपुरे स्वर पनि सामेल थियो कि ति भाकाहरुमा भनेर। कुनै मौकै परेन। वा मैले मौका कुरिरहनु नै अनुपर्युक्त थियो। सायद मेरा आफ्नै मर्यादाहरुले मेरो रोमान्चकताप्रति प्रहार गरिरहे। र म सिर्फ सुनिरहें। उठेर वार्दलिमा ओर्लन सकिनं। सोचेथेँ अर्को सांझ पक्कै कुनै उपर्युक्त वातवरण तयार होला, जहाँ यि जम्काभेटमा परेका पुर्बेलिहरुसंग सानोतिनो भलाकुसरि गर्न सकियोस् र २-४ लोक भाकाहरुमा रम्न सकियोस्। अफसोस् – माउतेहरुले तेहि बिहान होटेल छाडिदिए र म उनिहरुकै पछि लाग्न बिवस थिएं।
बागवानी वास्तु कला
चीनको बागवानी वास्तु कलाको इतिहास निकै पूरानो छ। बागवानीको विश्व इतिहासमा त्यसले लोकपृय नाउँ कमाएको छ। तीन हजार वर्षभन्दा अघिको चीनको चौ वंशकालमा नै प्रथम दरबारी बगैंचा देखापरेको थियो। चीनको शहरिया बागवानी वास्तु कला विचित्र र विविधतापूर्ण छ। त्यसले विश्वका तीनवटा ठूला बागवानी वास्तु कला प्रणालीहरुमध्ये गौरवान्वित स्थान ओगटिबसेको छ।
चीनको बागवानी वास्तु कलामा विशाल र भव्य शाही उद्यान कुंज र चिटिक्क पर्ने खालको निजी बगैंचा समावेश छन्। ती वास्तु कलामा कृत्रिम सुन्दरता र प्राकृतिक सौन्दर्यलाई एक अर्कासँग आबद्ध हुनेगरी एकै सूत्रमा गासिएको छ। त्यसमा रहेका कृत्रिम थुम्को, मसिनो छाल छचल्कीरहेको पोखरी、हरिया-परिया घाँस、रंगीचंगी फूल、रुखका बोट、विभिन्न आकारमा रहेका मण्डप、ठूला साना आँगन、लामा बरन्डा、ढुंगे/काठे पुल、साइन बोर्ड र लिपी कुंदाइहरु ठीक ठाउँमा एकदमै मिल्ने गरी बनाइएका हुन्छन्। यसबाट ती सबै निर्जीव वस्तुहरु पनि सजीवजस्तै भएका कारण मानिसहरु तीनमा रहँदा आफूलाई नै बिर्सेजस्तो गरी मग्नमस्त हुन्छन्।
चीनको बागवानी वास्तु कलालाई, खासगरी, निम्न तीन किसिमको मनोभावनामा विभाजित गरिएको पाइन्छ। जुन यस प्रकार छन्-
एक: व्यवहारिकता、उच्च सामाजिक जिम्मेवारी、नैतिक मूल्य र राजनीतिक महत्वमा जोड जस्ता विचारधाराद्बारा समाजसँग व्यवहार गर्ने चीनको कन्फ्युयर्स विचारधारामा निहित मनोभाव;दुइ: प्राकृतिक आनन्दले भरिपूर्ण रहने र स्ययम् आफ्नो मनस्थितिलाई शान्त तुल्याउने विषयवस्तु प्रधान रहेको चीनको ताउ धर्म विचारधारामा निहित दन्त्य कथामा वर्णन गरिए जस्तो आनन्ददायी काल्पनिक, स्वर्गीयजस्तो, मनोभाव र तीन: इच्छा अभिव्यक्त गर्नमा जोड अर्थात् उद्यान कुंजका मालिकको इच्छा र माया देखाउनमा विशेष जोड दिने प्राकृतिक मनोभाव। विश्वविख्यात शाही पार्क युआन मिंग युआन、स् छ्वान् प्रान्तको छिंग छंग पर्वतमा अवस्थित कु छांग नामक ताउ धर्मको मन्दिर र केही प्राचीन साहित्यविद्हरुका बगैंचाबाट, बैग्ला बेग्लै गरी, उपरोक्त तीन किसिमका मनोभाव अभिव्यक्त भएको पाइन्छ।
पश्चिमी वागवानी वास्तु कलाभन्दा चिनियाँ वागवानी वास्तु कलामा देखिने भिन्नता के हो भने पश्चिमी वागवानी वास्तु कलाले ज्यामिति र गणित शास्त्रको सिद्धान्तमा बढी ध्यान दिएको छ र त्यो नै वास्तु कलाको प्रधानतामा रहेको हुन्छ भने चिनियाँ वागवानी वास्तु कलाले त प्राकृतिक सौन्दर्यता तथा दर्शकलाई आनन्द दिने र राम्रो लागेको महसुस गराउने कुरालाई मुख्य विषयको रुपमा लिदै प्रकृति र मानिस दुबैलाई एक अर्कासँग आबद्ध तुल्याउने कुरामा बढी जोड दिएको पाइन्छ।
सुचौ शहरका वागवानी वास्तु कला
सन् 1997 मा “विश्व सम्पदा सूची”मा समाबेश गरिएको सुचौ शहरका वागवानी वास्तु कलामा चीनका वागवानी वास्तु कलाको कलात्मक विशेषता केन्द्रीत रुपमा अभिव्यक्त भएका छन्। सुचौ शहरका वागवानी वास्तु कलाको इतिहास 2000 वर्षभन्दा पनि बढी लामो रहिआएको छ। हाल प्रख्यात उद्यान कुंज र बगैंचाको संख्या दशवटाभन्दा अलिक बढी मात्र छ। सुचौ शहरका उद्यान कुंजहरुले प्रायजसो सानो क्षेत्रफल ओगटेको पाइन्छ। तिनले चीनका थांग वंश र सुंग वंशका कविहरुले रचेका कवितामा उल्लिखित शान्त र आनन्दमय मनोभावलाई प्रतिबिम्बित गर्ने गरेकाछन्। तिनमा खासगरी कृत्रिम थुम्काहरु बनाइएका हुन्छन्, स-साना कृत्रिम खोला बनाइएका हुन्छन्, रंगीचंगी फूलहरु लगाइएका र तीनमा विभिन्न प्रकारका चराचुरुंगीहरु पालिएका हुन्छन्। सीमित खाली ठाउँमा कृत्रिम थुम्को, रंगीचंगी फूल, रुखका बोट, मण्डप, पोखरी र स-साना पुल बनाइएको हुँदा यसबाट सानो भए पनि ठूलो देखिने कलात्मक प्रभाव परेको छ। तीमध्ये एकान्तपना र आदिम सरलताका लागि नामी भएका छांग लाङ्ग मण्डप, प्रख्यात सिंह बन, चो चन् अर्थात् निम्न प्रशासकका बगैंचा र ल्यौ युआन बगैंचा आदि समावेश छन्।

चित्रकारीः सुचौ शहरका वागवानी वास्तु कलाको एक झलक
युआन मिंग युआन पार्क
चीनको सबैभन्दा प्रख्यात शाही पार्क र “हजारौं पार्कहरुमध्येको पार्क” कहलिने पैचिंगको युआन मिंग युआन पार्क चीनका सबै ठाउँका फरक-फरक विशेषतायुक्त वागवानी वास्तु कलाको निचोड झिकेर साथै पश्चिमी वास्तु कलाको केही शैलीलाई पनि नक्कल गरेर बनाइएको पार्क हो। पार्कभित्रका वास्तु कला निकै सूक्ष्म र आकर्षक थिए र त्यसमा रहंदा मानिसहरुलाई स्वतः मग्नमस्त भएर आफू प्रकृतिमै डुबे जस्तो भान हुन्थ्यो। आजभन्दा तीन सय वर्षभन्दा अघिको छिंग वंशमा निर्माण गरिएको सो युआन मिंग युआन पार्क तिनताका चीनको सबैभन्दा उत्कृष्ठ शाही पार्क मानिन्थ्यो। जसले यूरोपमा समेत आफ्नो नाउँ कमाएको थियो। यसबाट अठारौं शताव्दिको प्राकृतिक दृश्यावलीयुक्त यूरोपेली उद्यान कुंजको विकासमा पनि केही प्रभाव परेको थियो। तर अफसोसको कुरा के हो भने अति नै शानदार र मनोहर युआन मिंग युआन पार्क सन् 1860 मा चीनमाथि आक्रमण गर्ने बेलायत र फ्रान्सका गठबन्धन सेनाले लगाएको आगोमा ध्वस्त भएको थियो।

देशलाई नैतिक शिक्षाको खाँचो
नेकपा (एमाले) का नेता केपी शर्मा ओलीले देशलाई अहिले नैतिक शिक्षाको खाँचो रहेको बताउनुभएको छ । जिसस कलेज । काठमाडौँ अन्तराष्ट्र्यि विश्वविद्यालयको १६औँ दीक्षान्त समारोहमा नेता ओलीले देशको वर्तमान परिस्थितिमा सबैलाई एकताको सूत्रमा बाँध्नका लागि नैतिक शिक्षाको आवश्यकता रहेकामा जोड दिनुभयो । सो अवसरमा अमेरिकाका डा. प्रियम किन्सेले देश विकासका लागि अरुको भर नपरी आफैंबाट नेतृत्वकर्ताको विकास गर्नुपर्ने बताउनुभयो । अमेरिका प्रा डा. क्लार्क काउडेलले नेपालमा शान्ति ल्याउनका लागि युवावर्ग नै लाग्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा मुस्ताङ्को विकासमा उल्लेखनीय सहयोग पुर्याउने डा. माइकल बेलाई मानार्थ पि.एच.डी पदले सम्मान गरियो । विश्वविद्यालयका प्रमुख लोक भण्डारीको सभापतित्वमा भएको सो समारोहमा २२ जनाले उपाधि प्राप्त गरेका थिए ।
शान्तीदूत गौतम बुद्धको २५५३औँ जयन्ती
शान्तीदूत गौतम बुद्धको २५५३औँ जयन्ती आज मनाइँदैछ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख पूणिर्माकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले एसियाका प्रकाश बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्छन् ।
वि.सं. २००८ जेठ ८ गते बुद्धजयन्तीका दिन सार्वजनिक बिदाको तथा वि.सं. २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो । नेपालको लुम्बिनीमा जन्मेका विश्वशान्तिका अग्रदूत गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ । हालसम्म विश्वका प्रकाशनमध्ये बुद्धसम्बन्धी सबैभन्दा बढी पुस्तक प्रकाशन भएको बताइन्छ ।
तिनमा इङ्ल्यान्डबाट प्रकाशित डेली टेलिग्राफका सम्पादक सर एडबिन आर्नोल्डको ‘एसियाको ज्योति -१८७९)’ तत्कालीन भारतीय संविधान मस्यौदा कमिटीका अध्यक्ष डा.बाबा साहेब अम्बेडकरको ‘बुद्ध र उनको धम्म (१९५७)’ र सन् १९४६ मा साहित्यमा नोबेल पुरस्कारप्राप्त जर्मन उपन्यासकार हर्मन हेस्सेको ‘सिद्धार्थ (१९२२)’ प्रसिद्ध छन् ।
यसैगरी जर्मनीका माथेरा न्यानातिलोकाले ‘बुद्धिस्ट डिक्सनरी’ (१९५०), ‘विश्वमा बुद्ध’ (१९०६), फ्रान्सका डा.वाल्पोला राहुलको ‘बुद्धको विचार’ (१९५९), इटलीका जिसेप्पे टिउचिलेको ‘मुस्ताङको भ्रमण’ -१९६९) आदि पुस्तकले बुद्धलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । विश्वका अति प्रसिद्ध अक्सफोर्ड, क्याम्बि्रज, हार्वर्ड आदि विश्वविद्यालयमा बौद्ध दर्शन अध्ययनअध्यापन हुँदै आइरहेको छ । त्रिभुवन विश्वविद्यालयले पनि स्नातकोत्तर (एमए) मा बौद्ध शिक्षाको अध्यापन गर्दै आएको छ । बुद्धका उपदेशलाई धर्मका रूपमा भन्दा पनि समाजका उन्नतिका लागि आवश्यक पर्ने अर्थशास्त्र, चिकित्साशास्त्र, राजनीतिशास्त्र आदिका मार्गदर्शन तत्वका रूपमा बढी सान्दर्भिक हुने मत रहेको छ ।
अन्तर्जगत्का कुशल चिकित्सक तथा बाहृय जगत्का कुशल वैज्ञानिक बुद्धले आफ्नो ८० वर्षे जीवनकालमा ८४ हजार पटक प्रवचन दिए जुन ‘विनय’, ‘सुत्त’, ‘अभिधम्म’, ‘त्रिपिटक’ आदि पुस्तकमा सङ्ग्रृहित छ । सम्राट् अशोकले इ.पू. २४९ मा ‘हित बुद्ध जातेती लुम्बिनी ग्रामे’ भनी ब्राहृमी लिपिमा पाली भाषामा लेखेको अशोकस्तम्भ पत्ता लागेको एक शताब्दी नाघिसेको छ । तत्कालीन वेस्टर्न कमान्डर जनरल खड्गशम्शेर राणाले सिकार खेल्न जाँदा सन् १८९६ मा लुम्बिनीमा उक्त स्तम्भ देखी पुरातत्व विशेषज्ञ डा.फुररको सहयोगमा चर्चामा ल्याइएको थियो । यसपछि सन् १९५६ मा चौथो विश्व बौद्ध सम्मेलन नेपालमा आयोजना गरिएको थियो भने सन् १९६७ मा संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव उ थान्तको नेपाल आगमनबाट लुम्बिनी विकासको बृहत्तर योजना आरम्भ भएको पाइन्छ ।
महापुरुष बुद्ध जन्मेका देश
एउटा सानो भूपरिवेष्ठित र अल्पविकसित राष्ट्रका लागि आˆनो स्वतन्त्रता र सार्वभौमिकता प्राण भन्दा प्यारो हुन्छ तर यो कुरा मुलुकभित्र शान्ति र स्थिरता कायम रहेमा मात्र सम्भव हुन्छ । विश्वमा बढ्दै गएको अशान्ति, कलह र युद्धको विभिषिका मानवमात्रका लागि गम्भीर चुनौतिको विषय हो । कमजोर मुलुकहरूलाई आर्थिक सहायताको नाममा आˆनो राजनीतिक हतियार बनाउन खोज्ने केही धनी तथा सम्पन्न राष्ट्रहरूको कुटिलचालले साना र कम विकसित मुलुकहरूलाई सारै नै चिन्तित बनाएको छ । गौतमबुद्ध जसले अहिंसा परमोधर्मको विचार धाराले संसारलाई आफूप्रति आकषिर्त गरायो र विश्वलाई नै शान्ति एक मात्र जिउने आधार हो, शान्ति बिना कुनै पनि कार्य सफल हुन सक्दैन भन्ने भावना जगायो, उसैको जन्मभूमि नेपाल युद्धभूमिमा परिणत भयो । विश्वभरि शान्तिको दीप ज्योति फैलाउने बुद्धको देशमा एउटा नेपालीले अर्को नेपालीलाई हत्या गरी रगतको खोला बगाउँदा यो महामानव बुद्धको जन्मस्थल नेपाल भन्नलाई समेत लाजलाग्दो अवस्थाको सिर्जना भयो । नेपालीका बिरुद्ध नेपालीले हतियारबन्द युद्ध गरे । नेपाली नेपालीबीचको लडाईमा जित्ने अरू कोही भए, हार्ने नेपाली मात्र भए । सिपाही मरे पनि माओवादी मरे पनि नेपाली युवाको रगत पोखिए । नेपाली भूमिमा नेपालीको रगत लत्पतिँदा सुन्दर, शान्त हिमाली राज्य सङ्कटमा पर्यो ।
अहिले पनि मुलुकमा अशान्तिको बादल मडारिएको छ । मानिसको अपहरण, हत्याहिंसा, आतङ्क, चोरी, डकैतीजस्ता घटना भइरहेका छन् । आर्थिक, सामाजिक, प्रशासनिक हरेक क्षेत्र छिया छिया भएको छ । निजी क्षेत्र पीडाग्रस्त छ । विकासका भौतिक पूर्वाधारहरू ध्वस्त छन् । सर्वसाधारण गरिब तथा निमुखा जनता यति त्राहिमाम् भएका छन् कि उनीहरू गाँस, बास , कपासको समस्याले
भन्दा शान्ति सुरक्षाको अभावले पिरोलिएका छन् । मुलुकमा शान्ति सुव्यवस्था, दिगो विकास कायम गर्ने र मुलुकको अखण्डता तथा स्वतन्त्रता जोगाउने चिन्ता कसैमा देखिँदैन । हामी कहाँ राजनीतिक परिवेश बिडम्बनापूर्ण, दिशाहीन तथा उच्छृङ्खल रहनु सम्पूर्ण समस्याको जडको रूपमा देखा परेको छ । यस देशका जनताले राष्ट्र नै समाप्त हुने खालको बिडम्बनापूर्ण परिस्थितिको सामना गर्नु पर्ला भनेर सायद सपनामा पनि चिताएका थिएनन् होला । नेपालको इतिहासमा नभएको र नघटेको दुर्भाग्य तथा बिभत्स पीडा आज नेपालीले भोग्न बाध्य छन् ।
खोसिएको लोकतन्त्र पुनःस्थापना गर्न सक्रिय राजतन्त्रको अन्त्य गरी शान्तिसुरक्षा र अमन चैनको दिशामा मुलुकलाई प्रवेश गराउने उद्देश्यले १२ बुँदे समझदारीअनुसार जनआनदोलन-२ ले सफलता हासिल गर्यो । २८ चैत २०६४ मा नेपालमा प्रथमपटक संधिवानसभा निर्वाचन सम्पन्न भई राजतन्त्रको अन्त्य हुनुका साथै सन् २००८ मई २८ -१५ जेठ, २०६५) देखि विश्व मानचित्रमा नेपाल पनि गणतन्त्रात्मक राष्ट्रको रूपमा स्थापित हुन पुगेको छ । संविधानमा निर्वाचनपछि राजनीतिलगायत अन्योलता, दण्डहीनता जस्ता सबै समस्याको समाधान भई मुलुकमा दिगो शान्तिसुरक्षा स्थापित होला भन्ने अपेक्षा गरिएको थियो तर निर्वाचनपछिका दिनहरूको अवलोकन गर्दा शान्ति होइन हिंसा र अराजकता बढेकै पाइन्छ । दिनदिनै आन्दोलन, चक्का जाम, हत्याहिंसाका घटना भइरहेको, सामान्य निहुँमा पनि सडक जाम गर्ने, टायर बाल्ने, बन्द गर्ने गर्दा आम जनताले सुख होइन दुःखै दुःख पाएका छन् । नीति, नियम र विवेकको मान्यता हराउँदै गएको समाजमा असन्तोष, भय र त्रास डरलाग्दो अवस्थामा पुगेको छ । कतिखेर कहाँ के हुन्छ, आˆनो गन्तव्यतिर पुग्न सकिन्छ सकिँदैन भन्न सक्ने अवस्था छैन । ‘एक मधेस एक प्रदेश’ तथा संघीयता जस्ता नारा अझ डरलाग्दो देखिन्छ । हिंसा र अराजकताले जातीय तथा साम्प्रदायिकरूपमा एक आपसमा बैमनस्यता बढ्दै छ । राष्ट्रियता र अखण्डतामाथि नै खतरा बढ्न थालेको पाइन्छ ।
बुद्धले आˆनो व्यक्तिगत सुखलाई त्यागेर समस्त मानव जातिलाई दुःखबाट मुक्ति दिलाउने जीवनको मार्ग देखाएका थिए । आˆनो चाहना तथा वासनामाथि नियन्त्रण गरेर नै वास्तविक सुख प्राप्त गर्न सकिन्छ भन्ने उनको मान्यता थियो । सत्य, अहिंसा, क्षमा, दया एवं परोपकारको भावनालाई उनले व्यवहारिकरूप प्रदान गरेका थिए । उनी खाली उपदेश मात्र दिनु हुन्नथे, बरू स्वयं त्यसअनुसार आचरण पनि गर्नुहुन्थ्यो । उनको जीवन कुनै एक व्यक्ति, जाति, समाज एवं राष्ट्रका लागि होइन बरू सारा विश्वका लागि प्रेरणाको स्रोत थियो तर हाम्रा नेता तथा महानेताहरूका कारण आज मुलुक बुद्धको उपदेश विपरीत मार्गतिर गइरहेको छ ।
विधि, नियम र विवेकको मूल्य कतै बाँकी रहेको देखिँदैन । शान्तिपूर्ण र मर्यादित ढङ्गले उठेका जायज आवाज कसैले पनि सुन्दैन । त्यसैले जस्तोसुकै मात्र भए पनि सम्बद्ध पक्षलाई झुकाउन र सम्झौता गराउनका लागि जबर्जस्त सडकमा उत्रने गरिन्छ । सामाजिक सद्भाव, एकता र सहकार्यको संस्कृति नै हराइसकेको अवस्था छ । सहमतिका यस्ता शब्द अन्तरिम संविधानमा उल्लेख भए पनि ‘मेरो गोरूको बाह्रै टक्का’ को अवस्था छ । राज्यले जनताको जिउज्यानको सुरक्षा दिन सकेको छैन । सरकार उत्तरदायीपूर्ण कार्यशैलीमा प्रस्तुत हुन सकिरहेको छैन । अराजकता र दण्डहीनताले व्यापकता पाइरहेको छ । स्थिति अराजक र बिष्फोटक नभएसम्म सरकारले सुन्दै सुन्दैन । राज्यसत्ताको जिम्मेवारी बोकेकाहरू जसले सविधान लेखनको अर्जुन दृष्टि राख्नुपथ्र्यो, त्यस्तो नगरी धर्मनिरपेक्ष भनिसकेपछि एउटा धर्ममाथि हात हालाहाल गरी अनावश्यकरूपमा झन्झटमा फस्ने काम गरिन्छ ।
मुलुकलाई जनादेशअनुसार नयाँ संविधान दिनेतर्फ नलागेकाले संविधानसभा राजनीतिक अराजकता र आन्दोलनको शिकार बनिरहेको छ । अन्धकारमय भविष्य डरलाग्दो र कहालिलाग्दो स्थितिमा सचेत नागरिक हत्पत्ति निदाउन सकेका छैनन् । प्रत्येक रात भोलिका दिन कसरी बित्ने हो भनेर छटपटाउनु परेको छ । तसर्थ, शान्तिलाई तार्किक निष्कर्षमा पुर्याउने जिम्मेवारी पाएका नेताहरूले शान्ति, हिंसा बिनाको अवस्था मात्र नभई न्यायको उपस्थिति पनि भए मात्र शान्ति सार्थक हुन्छ । दिगो शान्ति सुरक्षाको स्थापना र नयाँ नेपाल निर्माणको सन्दर्भमा गणतन्त्र राष्ट्रिय पीडाको कारक नबनोस् । त्यसकारण, सबैले आ-आˆनो स्वार्थ त्यागेर सह-अस्तित्वको मार्गमा अग्रसर हुनुपर्ने आजको आवश्यकता हो तर मान्छेको विचारधारा तथा राजनीतिक यति तल्लोस्तरमा झरेको छ कि शान्ति कै लागि बुद्धले पुनर्जन्म लिई आयो भने उनलाई समेत राजनीतिमा हुलेर उनको हातमा बन्दुक थमाइदिन बेर छैन ।



