|
बालबालिकाहरु पनि प्रकृतिका सुन्दर फूल जस्तै हुन् जो परिवार रुपी फूलबारीमा फूलिरहेका हुन्छन् । धेरै बालबालिकाहरु निकै सानो उमेर देखिनै प्रकृतिमा रमाउने गर्दछन् भने केहि अलि ठूला भइ प्रकृतिबारे बुझे पछि यस प्रति आकर्षीत हुन्छन् । फूलबगैंचाको हकमा धेरै जसो बालबालिकाहरु विभिन्न आकार र रंगमा फूल्ने फूल, उक्त फूलहरुमा आउने किराहरु जस्तै- पुतली, मौरी, भमरा, चरा आदि प्रति आकर्षीत हुन्छन् र तिनलाई खुब नियाल्ने तथा तिनको पछि पछि कुद्ने गर्दछन् । यसरी प्रकृतिसंग खेल्दा उनीहरुको अवोध दिमागमा विभिन्न तरङ्गहरु उत्पन्न हुन्छन् र अन्त्यहिन प्रश्नहरु सोध्न थाल्छन् जस्तै- यो के हो,
किन, कसरी आदि । बालबालिकाहरुको यस्तो जिज्ञासाको स्वागत गर्नु पर्दछ किनकी उनीहरुलाई प्रकृति प्रति आकर्षण गराउने र प्रकृतिबारे सिकाउने यो सुवर्ण अवसर हो । उनीहरुका हरेक जिज्ञासाहरुको जवाफ यसरी दिनु पर्छ कि उनीहरु आफैं फूलबिरुवा, र यस् सम्बन्धी काम गर्न जागरुक होउन् । उदाहरणका लागि यदि बालबालिकाले पुतली किन फूलमा बस्छ भनेर सोधे भने, रस चुस्न बस्छ भनेर एक बाक्यमा जवाफ नटुङग्याउनु होस् । यो जिज्ञासालाई धेरै लम्ब्याउन सकिन्छ र उनीहरुको चेतनास्तर बढाउन सकिन्छ।
तेसो भए कसरी बालबालिकाका जिज्ञासाहरुलाई कसरी लम्ब्याउन र उनीहरुलाई फूलबिरुवा प्रति आकर्षीत गर्न सकिन्छ
पुतली किन फूलमा बस्छ ?
यसरी जवाफ दिनुहोस् -
-किनकी तिमीलाई पुतली मन परे जस्तै पुतलीलाई फूल मन पर्छ ।
-किनकी पुतली फूलको मिठो खानेकुरा चोर्न आएको हो ।
-किनकी पुतली र फूल तिम्रो ममी-बाबा जस्तै मिल्ने साथी हुन् र पछि आउने साना नयाँ बोटबिरुवाका ममी-बाबा हुन।
-किनकी पुतलीले फूललाई उ जस्तै अर्को सानो बिरुवा बनाउन सक्ने शक्ती दिन्छ ।
-किनकी फूल बिना पुतली बाँच्न सक्दैन र पुतली बिना नयाँ बोटबिरुवाहरु बन्न सक्दैन ।
-तिमीले हुर्काएको फूलमा झन् धेरै पुतली आउँछन् र त्यो फूलले अझ धेरै नयाँ बिरुवा उत्पादन गर्न सक्छ किनकी तिमी पनि पुतली र फूल जस्तै सुन्दर छौ ।
यस्ता जवाफ दिएर उनीहरुलाई मोहीत गर्नु पर्दछ ताकि उनीहरु आफ्नो छुट्टै बिरुवा र छुट्टै बगैंचा लगाउन इच्छुक होउन । उनीहरुका लागि बेग्लै सानो फूलबारी बनाइदिँदा उनीहरुमा अझ बढि अभिरुची र जाँगर बढाउन सकिन्छ । अरुको अगाडि उनीहरुको कामको प्रसंसा गर्नुहोस्, उनीहरुले हुर्काएका र फलाएका बोटबिरुवा तथा फलहरु अरुलाई देखाउनुहोस् । यसो गर्दा उनीहरुमा अझ उत्साह बढ्दै जान्छ । बोटबिरुवाहरुका उम्रिए देखि फल्ने समय सम्मका सबै प्रकृयाहरु बिरुवा बढ्दै जाँदा सम्झाउँदै जानुहोस् । यसो गर्दा उनीहरुलाई बुझ्न सजिलो हुनुको साथै प्रत्यक्ष्य रुपमा ब्यावहारीक ज्ञान पनि बढ्दै जान्छ । बालबालिकाका लागि छुट्याएर दिन मिल्ने गरी पर्याप्त जग्गा छैन भने उनीहरुलाई गमलामा पनि आफू संगसंगै सिकाउन सकिन्छ । प्राय गार्जेनहरु बालबालिका फूलबारीमा गए भने, नआउ तथा नजाउ तिमीलाई मतलबको कुरा होइन यो, तिमी सानो छौं, तिमीले सब बिगार्छौ आदि भनेर निरुत्साहीत गर्ने गर्दछन । यसो गर्नु गल्ती मात्र नभएर उनीहरुको बाल-मनोभावनाको हत्या गर्नु र बाल अधिकारको समेत हनन गर्नु हो । कृपया, यसो नर्गर्नु होला ।
|