Category Archives: - राष्ट्र्यि समाचार

राष्ट्रिय राजनीतिक सामाजिक आर्थिक घटनाक्रम

एउटा बन्द सकिन पा’छैन अर्को बन्दको प्रचार

Banda 2012 चित्रबहादुर केसीको By Salokya, on April 9th, 2012 राष्ट्रिय जनमोर्चाले आज सोमबार गरेको बन्दले यस्ता बन्दहरुको ढोका खोलिदिएको जस्तो छ। हेर्नुस् त माथि यही हप्ताको अर्को बन्दको पोस्टर टाँसिएको! (बन्द कहिले हो भनेर प्रचार चाहिँ नगरौँ होला यहाँ। अपडेटः त्यो समूहले आज सरकारसँग वार्ता गरेर ३० गतेको बन्द फिर्ता लिएछ) यसै पनि अहिलेको मौसम बन्दको मौसम हो। संविधान सभाको म्याद सकिन लाग्दा जहिले नि यस्ता बन्दहरुले हामीलाई दिक्कै बनाउँछन्। बन्दैबन्दले दिक्क भएका राजधानीवासीहरुले बीचमा कयौँ बन्दलाई लोप्पा खुवाइदिएका थिए। तर लामो समयपछि भएको आजको बन्दले प्रभाव भने पारेको छ। त्यसो त पहिले जस्तो ठप्पै हुने बन्द भा’को छैन। पसलहरु खुला छन्, मोटरसाइकलहरु पनि प्रशस्त चलेका छन्। तर स्कूल, कलेज र सार्वजनिक सवारी साधनहरु बन्द भएपछि बन्दको दुःख हुने नै भयो। कस्तो दुःख पाए त सर्वसाधारणले ?माइसंसारको फेसबुक पेजमा सागर प्रसाइँ लेख्छन्- मेरो अमेरिकी दूतावासमा एउटा कार्यक्रम थियो। म ह्लिलचियर प्रयोग गर्नुपर्ने मान्छे हुँ। त्यहाँ जान र आउनलाई मैले ट्याक्सीमा डबल भाडा तिर्नुपर्‍यो।त्यसैगरी पवन खनाल लेख्छन्- मेरो साथीकी छोरीले यो बन्दका कारण तीन घण्टा हिँडेर एक्जाम दिन जानुपर्‍यो। सुमन दाहालको आज जबको इन्टरभ्यु थियो, तर बन्दले जान पाएनन् अनि सुवास आक्रोश पोख्छन्- यस्तो नि बन्द हुन्छ ? कि पूरै बन्द गर्नुपर्‍यो कि पूरै खुल्ला। बाइक हुनेहरु चाहिँ मस्तीले कुदाउने अनि नहुनेहरु चाहिँ मर्कामा पर्ने, यो उचित भएन।  बन्दको प्रभाव ठाउँ अनुसार फरक छ। कलंकी-कालिमाटीतिर पसलहरु अधिकांश खुला थिए। ट्याक्सी र मोटरसाइकलहरु प्रशस्तै चलेका छन्। सार्वजनिक सवारी साधन बस, माइक्रो र टेम्पोहरु भने चलेका छैनन्। कल‌ंकी चोकमा लामो दूरीका बसहरु भने चलेका देखिन्छन्। सुमी निरौला भन्छिन्- बन्दको प्रभाव खासै देखिएन। अनु मगर भन्छिन्- बन्द भन्छ तर पनि सब सामान्य देखिन्छ।बन्द आयोजकहरु भने सडकमा देखिएका छैनन्। तर पर्चा र पम्पलेटिङ अनि भित्ते लेखन भने निकै दिनदेखि गरिएको थियो।उफ्…साह्रै थाकियो, एकछिन बस्छु..!!

साधो सहज समाधि भली

काठमाडौं – स्वामी आनन्द अरुण प्रकाशनको मिति १९ मार्च २०१२ १०:४९ बजे

उत्तरमा हिमालय जस्तै मध्य भारतमा पुरातनकालदेखि नै साधकहरूले प्रकृतिमा शरण लिने र जीवनको परम सत्य खोज्न एक बुद्धक्षेत्र हो – अमरकण्टक । मध्य भारत अत्यन्त गर्मी क्षेत्र हो । विन्ध्य र सतपुरा पहाडीको मध्य १ हजार मिटर भन्दा बढीको उचाइमा घनघोर जंगलले भरिएको, जलप्रभात र अनेक ताल सहित धेरै प्रकारका जडीबुटीको प्राकृतिक सम्पदाले धनी मानिने यो क्षेत्रमा हिउँदमा बिहान हल्का जाडो तर वर्षौ भरी आनन्ददायी मौसम पाइन्छ । मेरा आराध्य शिवपुरी बाबाले प्राप्त गर्नुभएको बोधिज्ञानका कारणले पनि मेरा लागि अमरकण्टकको विशेष आकर्षण छ ।
दक्षिण भारतको कन्याकुमारी नजिकैको गाउँमा जन्मिनुभएका उहाँले १८ वर्षको उमेरमा आफ्नो सबै जायजेथा आफ्नी जुम्ल्याहा बहिनीलाई दिइ अमरकण्टकलाई तपस्यास्थलीको रुपमा रोज्नुभयो । ३२ वर्षको कठिन र अथक तपस्या पश्चात् ५० वर्षको उमेरमा इश्वर साक्षात्कारको त्यो चिरप्रतिक्षित क्षण उहाँले बडो लालित्यपूर्ण र काव्यमय ढंगले भन्नुहुन्थ्यो, ‘फाइनली, द गड केम एज अ फ्ल्याश, अल क्वोसन्स् एन्सर्ड एण्ड अल प्रोब्लम सोल्भ्ड फर एभर ।’ बिजुली चम्केझैं परमात्मा प्रकट भयो र सबै प्रश्नको उत्तर प्राप्त भयो र सबै समस्या सधैका लागि समाधान भए । समस्यै समस्या र प्रश्नै प्रश्नको विषादले ग्रसित बुद्धीजीवीका लागि त्यो स्थितिको कल्पना गर्न पनि कति सुखद हुन्छ – त्यो सुखद अनुभूतिका लागि कुनै पनि मूल्य चुकाउनु पर्‍यो भने पनि त्यो कमै हो । त्यस्तो मानिसलाई भेट्नु जसको मनमा कुनै प्रश्न छैन र कुनै समस्या पनि छैन, दुर्लभ घट्ना हो । त्यस्तो मानिसको दर्शन गर्न पाउनु र सत्संगमा बस्न पाउनु ठूलो सौभाग्य हो ।
अनेक जन्मको पुण्यले मैले पनि यस जन्ममा त्यस्तो व्यक्तिको दर्शन पाएँ र उनको पाउमा शिष्यको रूपमा बस्ने परम सौभाग्य प्राप्त भयो र हाँस्दै रमाउँदै सहज साधना गर्ने शिक्षण पाएँ, ती व्यक्ति हुन् – ओशो । त्यस्तो व्यक्तिको सान्निध्यमा श्रद्धा र ध्यानपर्ूवक बस्दा आफू पनि त्यति नै क्षण सबै प्रश्न र समस्याबाट मुक्त भएको सुखद अनुभूति हुन्थ्यो । तर त्यो आफ्नै साधनाको बलले नभएर त्यस भगवत् चैतन्यको सांन्निध्यको प्रभावले हुने भएकोले त्यो स्थायी हुदैनथ्यो । सांन्निध्यबाट टाढा भएपछि त्यो बिस्तारै हराएर जान्थ्यो ।
अनेक जन्मदेखि कामना, तृष्णा र दुःखै दुःखको दावानलमा जलिरहेको चेतनाले अथक प्रयासपछि जहाँ उन्मुक्ति पाउँछ त्यस क्षेत्रको कणकणमा उन्मुक्तिको त्यो अलौकिक आह्लाद सधैंका लागि तरङ्गित र संरक्षित हुन्छ । कुनै सत्यको खोजीले त्यो संरक्षित अनुुभूतिको तरंगलाई आफ्नै श्रद्धा र पात्रता अनुरुप ग्रहण गर्न सक्छ । यस्ता स्थानहरू मलाई अति प्रिय छन् । परमहंस योगानन्दले आत्मोलब्धि गर्नु भएको कोलकाताको ४ गारापाडा रोडमा अवस्थित उहाँको ध्यान कक्ष, बुद्धले आत्मबोध गरेको बोधगयाको बोधिवृक्ष, ओशोले आत्मबोध गरेको जबलपुरको भवरताल उद्यानको मौलश्री बृक्ष, श्री अरविन्दले तिसौं वर्ष तपस्यारत रही अनेक गहन अनुभूति गरेको पाण्डुचरी आश्रमस्थित उहाको ध्यान कक्ष, बुद्धका अनेक शिष्यले आत्मबोध गरेको श्रावस्तीको जेतवन विहार जस्ता अनेक उर्जा स्थलहरूको म भ्याएसम्म पर्रि्रमण गरिरहन्छु । त्यस्ता पवित्र स्थानमा पुगेपछि थोरै समयका लागि भएपनि आत्मबोध भएकै जस्तो अनुभूति हुन्छ । साधकहरूका लागि त्यस्ता अलौकिक स्थानहरूमा आनन्द र आशीषको अमृतवषर्ा सधै भइरहन्छ ।
शिवपुरी बाबाका म जस्ता भक्तका लागि अमरकण्टक पनि त्यस्तै महातीथ नै हो । त्यो तीर्थको आकर्षण मभित्र प्रबल छ । हुन त कुनै पनि बुद्ध पुरुषले टेकेको ठाउँ नै तीर्थ हुन्छ । तर विशेषरूपले उनीहरू जन्मेको, निर्वाण प्राप्त गरेको, शरीर छोडेको र लामो बसोबास गरेका स्थानहरू त महातीर्थ हुन्छन् । मेरो मनमा एउटा प्रश्न सधै उठ्थ्यो शिवपुरी बाबाले तपस्याका लागि हिमालय र गंगाको सिद्ध क्षेत्र छोडेर किन अमरकण्टक रोज्नभयो ? मलाई अमरकन्टरमा ३ पटक साधना शिविर संचालन गर्ने अवसर मिलेको छ । भरखरै संचालित शिविरपछि पछि मैले यसको उत्तर पाएँ ।
दक्षिण भारतीयका लागि उत्तरी हिमाली जाडो कष्टकर हुन्छ । धेरै हिमालयमा बस्ने योगीहरूलाई पनि जाडोको मौसममा तल झर्ने बाध्यता पर्छ । अमरकण्टकको मौसम भने शरीरलाई कष्ट नगरी वर्षरी आनन्दपूर्वक बस्न सकिने खालको छ ।   अमरकण्टकको वनमा प्रचुर मात्रामा कन्दमूल र जडिबुटी अहिले पनि उपलब्ध छन् जसको आधारमा जोगीहरूलाई सहज जीवन निर्वाह गर्न संभव छ । त्यहा“ विभिन्न प्रकारका स्वास्थ्यवर्धक, औषधीजन्य जडिबुटीहरू अहिले पनि उपलब्ध हुन्छन् जसको सेवनले रोगमुक्त र स्वस्थ रहन मद्दत मिल्दछ । अमरकण्टकका झरना, खोला नालामा प्रचुर मात्रामा ब्राह्मणी बुटी पाइन्छ । ब्राह्मणी बुटी मस्तिष्कको लागि परम औषधी हो । यसले स्मरण शक्तिलाई तीक्ष्ण बनाउँछ, मस्तिष्कलाई शितल राख्छ र तनावजन्य रोगबाट मुक्ति दिलाउँछ । ब्राह्मणी बुटीको जलको सेवनले मानसिक रूपमा विक्षिप्त भएका व्यक्तिहरू पनि ठीक भएका केही घटना त्यहाँका जोगीहरूले सुनाए ।
यसपालिको यात्रापछि थाहा भयो आदि शंकाराचार्यले आठौं शताब्दीमा आफ्ना गुरु श्री गोविन्दपादबाट यहीं दीक्षा लिई तपस्या गरेका रहेछन् । त्यस अतिरिक्त पौराणिक ऋषि मार्कण्डेय, भृगु, दुर्वाशा, कपिल साथै आधुनिक सन्तहरूमा शिवपुरीबाबा र बर्फानीबाबाको तपस्यास्थली यही हो । कबीर र नानकले परस्पर यहीं भेटेको पनि भनिन्छ । धेरै साधकहरूले साधना गरेकाकारणले यो क्षेत्र अलौकिक तरङ्गले तरङ्गितले छ । यो सिद्ध क्षेत्र भइसकेको छ ।
नर्मदा, सोन र जोहिला तीन नदीको अमरकण्टक उद्गम स्थल पनि हो । हिन्दु शास्त्रमा सरस्वतीमा तीन दिन, जमुनाजीमा सात दिन, गंगामा एक दिन स्नान गर्दा जुन शुद्धि हुन्छ नर्मदाको दर्शन मात्रले त्यति नै शुद्ध भइन्छ भन्ने उल्लेख छ । यसबाट पनि नर्मदालाई धेरै महत्व दिएको देखिन्छ । हिन्दु संस्कृतिमा नर्मदा एउटा मात्र यस्तो नदी हो जसको उद्गम स्थान अमरकण्टकदेखि अरब सागरको संगम मीठातर्ठाईसम्म परिक्रमा गर्ने चलन छ । यो परिक्रममा २८५६ किमीको हुन्छ । यस परिक्रमाका आश्चर्यलाग्दा आफ्नै विधान छन् । सनातनकालदेखि आजसम्म अंक्षुण्ण चलिरहेको यो परिक्रमा आकाशवृत्तिमा अर्थात कुनै पैसा या अन्न नबोकिकन गर्ने चलन छ । यो पुरै परिक्रमा पथमा हरेक वासस्थानहरूमा श्रद्धालुहरूले परिक्रमा गर्न आउने सबैकालागि अन्नदानको व्यवस्थाका गरेका छन् । जहां सिदा लिने र आफै पकाएर खाने चलन छ । यो पूर्ण परिक्रमा विधिपूर्वक गर्ने हो भने साढे ७ वर्ष लाग्छ । यो अवधि भर दुइजोर कपडा, ओढ्ने र ओछ्याउने दुइ कम्म्ल र साधारण पूजा साम ाग्री बाहेक अरु केही बोक्न पाइंदैन । लाउने कपडा फाटे भने श्रद्धालुहरूले बाटोमा दान दिदा रहेछन् । आजको यस्तो व्यस्त र उपभोगवादी युगमा लाखौं गृहस्थहरू पनि यस्तो परिक्रमा गर्दा रहेछन् र उनीहरूलाई चाहिने लुगाफाटा, जुत्ता एवं औषधिको पनि मुफ्त मै समुचित व्यवस्था गरिंदो रहेछ । यो चरम स्वार्थमा डुबेको युगमा पनि यस्तो संस्कार हिन्दुहरूमा अझसम्म जीवित छ ।
हिन्दुहरूको नदीप्रति अगाध श्रद्धा छ । उनीहरूका हरेक धार्मिक कार्यहरू नदीकै सेरोफेरमा हुन्छन् । नदीकै सामीप्यमा प्रवास गर्नु, उपासना गर्नु, परिक्रमा गर्नु उनीहरूको जीवनको एक महत्वपूर्ण कार्य हो । तर परिक्रमा गर्ने महात्म्य नर्मदालाई मात्रै प्राप्त छ । नदी एक जीवन्त तीर्थ हो । यदि सात वर्षनदी कै किनारमा बास बसिन्छ, त्यही नदीमा प्रत्येक दिन स्नान गरिन्छ, नदीकै जलले भोजन पकाइन्छ, सात्विक जीवन बा“चिन्छ भने त्यो व्यक्तिको जीवन रुपान्तरण किन नहोस् ? हर्मन हेस्सेको नायक सिद्धार्थ नदीलाई हेर्दा हेर्दै संबुद्ध भएको हो । हजारौं वर्षेखि यस्ता लाखौं श्रद्धालुको भाव तरंगले त्यो नदी र नदीको तटमा रहेका अनेकौं तीर्थस्थलहरू घनीभूत उर्जाका पुञ्ज बन्दै जान्छन् । हिन्दुहरूले सहज रुपान्तरणको एक सशक्त विधि खोजेका थिए । आधुनिक विज्ञानको खोजले पनि के भन्छ भने पानीका प्रत्येक कणले माइक्रोचिप जस्तै लाखौं सूचनाहरू हजारौं वर्षका लागि संग्रह गर्न सक्छन् । यस्तो विज्ञानको बोध हिन्दुहरूलाई थियो । त्यसकारणले जलबाट आचमन गर्ने, जलले शुद्ध गर्ने, जलले पूजा गर्ने चलन उनीहरूले बसाले ।
आज पनि अमरकण्टकको घनघोर जंगलमा अनेक जोगीहरू तपस्यारत छन् । यसपालि मैले भेटेका अनेक जोगी मध्ये बुद्धीजिवीलाई चाख लाग्ने एक विद्वान् वैरागीको चर्चा म यहाँ गर्न चाहान्छु । उनको नाम हो – स्वामी शैलेन्द्र सरस्वती । उनको जीवनी चाखलाग्दो छ । उनले क्वान्टम् फिजिक्समा एमएससी गरी अहमदावादको प्रख्यात आइआइएमबाट म्यानेजमेन्टमा मास्टर्स गरे । भारतका प्रतिष्ठित व्यवसायिक संस्थामा मुख्य व्यवस्थापक भई काम गरिसकेका रहेछन् र सबै सुख सुविधा सहित उनको आय महिनामा लाखौंको थियो । व्यवसायिक सफलताको चरमचुलीमा पुगेपछि उनले जीवनको व्यर्थता, निरसता र असारताको गहन पीडा अनुभूति गरे । जतिसुकै कुशल व्यवस्थापनबाट पनि यो संसारको समस्याहरू र मानिसका पीडा दुर गर्न सकिदैन भन्ने उनलाई बोध भयो । मानिस साहासिक रहेछन् । त्यो सबै छोडछाड गरी सुदूर हिमालयमा उत्तरकाशी, गंगोत्री र अन्ततः गोमुख भन्दा पनि माथि १४ हजार फिट उचाइमा अवस्थित तपोवनमा तपस्यारत हुन गए । प्रसंगवश पाश्चात्य जगत्मा अत्यन्त ख्याति कमाइसकेका महर्षि महेशयोगीसँग उनको हिमालयमै भेट भयो र दुबैमा एक आत्मियता बस्न गयो र महर्षिको आमन्त्रणमा उनले महर्षि विश्वविद्यालयको म्यानेजमेन्ट विभागको विकासको सन्दर्भमा महर्षिसँगै उनको व्यक्तिगत जेटमा विश्व भ्रमणमा लागे र महर्षिकै नाइरोवी, ओस्लो र अमेरिकामा स्थापित महर्षि विश्वविद्यालयमा डिन र विभागीय प्रमुख भई कार्य गरे । तर पाश्चात्य जगत्को त्यो वैभवशाली सफलतामा पनि उनी रमाउन सकेनन् र महेशयोगीस“ग पुनः हिमालयमा गई तपस्या गर्ने अनुमति मागे । महेशयोगीले तपस्या गर्ने सिद्धस्थल अमरकण्टक हो भन्दै त्यहीं गएर तपस्यारत हुने सल्लाह उनलाई दिए । ती वैरागीले अमरकण्टकको नाम पनि सुनेका थिएनन् । खोजतलास गर्दै अन्ततः उनी त्यहाँ पुगे । अमरकण्टकमा प्रसिद्धि र ख्याति कमाएका साधु बाबा कल्याणदासजी महाराजले आफ्नो अति सुविधासम्पन्न कल्याण सेवा आश्रममा उनलाई बस्ने र खानपानको आदरयुक्त सुविधा जुटाइदिए र बेफिक्री साधनामा लाग्ने परिस्थिति बनाइदिए । केही महिना निश्चिन्त भई साधना गरेपछि उनको आफ्ना गुरुसँग वार्तालाप भएछ । महेशयोगी उनको यो सुविधापूर्ण साधनादेखि खुसी भएनन् । सुविधा, मनुष्यको बाहुल्य र सान्निध्य माझ राम्रो साधना हुँदैन, साधना नै गर्ने हो भने अमरकण्टकको वनमा गई कुनै गुफामा निराधार र निराश्रय भई बस भन्ने गुरुआज्ञा पाए । गुरुको आदेशलाई शिरोधार गर्दै उनले बाबा कल्याणदासजीसँग विदा मागे । उनीसँगै दुइटा कम्बल, दुइ गौरिक वस्त्र र दुइ किलो पिठो दान स्वीकार गरी अमरकण्टकको घनघोर जंगल बीच दुइटा रुखमा एउटा कम्बलबाँधी एउटा कम्बल भुइमा ओछ्याई साधनारत भए । उनीसँग पकाउनलाई केही भाडाकुँडा नभएकाले लगाउने धोतीकै एक भागमा पिठो मुछ्ने र त्यसलाई हातले नै थपथपाएर रोटि जस्तो बनाई धुनीमा पकाई त्यसैको साहारामा वर्षौं उनी एक्लै बाँचे । वर्षौं पछि बिरला कम्पनीका एक मेनेजर जो उनी प्रमुख हुँदा उनका कनिष्ट भई कार्य गरेका थिए, खानीको र्सर्वे गर्न आउदा शैलेन्द्रजीलाई जंगलमा भेटेछन् र आफ्नो पूर्व हाकिमको यस्तो दर्रि्र स्थिति देखी धुरुधुरु रुन थालेछन् । उनको यो हाल देखेपछि बडो अनुनय विनय गरी बिरला कम्पनीले बारुद भण्डार गर्न बस्तीबाट टाढा जंगलको बीचमा बनाएको झ्यालै नभएको एक गोदाम घरमा र्सन मनाए छन् । मैले घनघोर जंगलबीचको गोदाम घरमै उनलाई भेटें । जंगली बदेल र भालुको राज भएको त्यो जंगलमा त्यस्ता पढेलेखेका व्यक्तिलाई एक्लै बसेको देख्दा मलाई आर्श्चर्य लाग्यो ।   उनी निराधार, निरालम्ब र निराश्रय भए पनि उनमा एक सम्राट जस्तो गरिमा र  आत्मविश्वास भरिएको थियो । पहिलो भेटमै हामी बीच गहिरो मित्रता र एकअर्काप्रति गहिरो सम्मानको भाव भरियो ।
मैले उनीसँग घण्टौं लामो वार्तालाप गरेको थिएं । पाठकलाई रुचिकर हुने ठानेको त्यही वार्ताको छोटो अंश यहाँ प्रस्तुत गर्दैछु ।
प्र. यहाँ एक्लै बस्दा अरुसँग भेट्न, कुरा गर्न मन लाग्दैन ? ‘कहिले आवश्यक सामान लिन बजार जानुपर्छ । तपाईंजस्तै कोही खोज्दै साधक आयो भने अर्को कुरा हो तर मान्छेसँग भेट्न र मानिसको भिडमा जानुपर्‍यो भने पीडा हुन्छ । एक्लै बस्नमै आनन्द छ ।’
प्र. यहाँ तपाईंका आवश्यकताहरू कसरी पूर्ति हुन्छन् ? ‘वर्षौं मैले हातले बेलेको रोटी धुनीमा सेकेर रमाएर बसेको छु । पिठो सकिन लागेको बेला कसैले अचानक ल्याएर दिन्छन् लुगा फाटेका बेला लुगा आइपुग्छ । इश्वरमा पूर्णआश्रति भएर बसेको छु, सबै आवश्यकता पुरा गर्ने जिम्मेबारी उसैको हो ।’
मैले आफ्नो जीवन र धेरै साधकहरूको जीवनमा पनि यसको प्रत्यक्ष प्रमाण भेट्टाएको छु ।
प्र. तपाई यत्रो विद्वान् व्यक्ति संसारमा के भइरहेको छ भन्ने जान्न अखवार पढ्न, रेडियो सुन्न मन लाग्दैन् ?
‘बिल्कुलै मन लाग्दैन । रेडियो र अखवारमा अधिकांश नराम्रै कुराको चर्चा हुन्छ । त्यसबाट मन अझ खिन्न हुन्छ । मलाई चाहिने लायक कुनै राम्रो खवर छ भने तपाईं जस्तै साधक आएर यहीं मलाई दिइहाल्छन् ।’
प्र. यस्तो एकान्तमा तपाईं त खुब अध्ययन गर्नुहुन्छ होला । के के किताब पढ्नु हुन्छ ?
‘केही वर्षपहिलेसम्म तपाईंजस्तै मेरो पनि पुस्तकप्रति खुव अनुराग थियो । खुब धार्मिक साहित्य पढें, ओशोलाई पनि पढें, खुब आनन्दित भएँ र उहाँको ठुलो प्रशसंक हुँ । तर पछि आएर बोध भयो पुस्तकीय ज्ञान पनि एक बौद्धिक व्यसन मात्र हुँदो रहेछ र बाहिरबाट आएको ज्ञान पनि साधनाको एक स्थितिमा पुगेपछि एक प्रकारको बोझ हुदों रहेछ । प्रारम्भमा केही सहयोगी देखिए पनि आत्मोपलब्धिमा अन्ततः यो बाधकै रहेछ । यो बोध भएपछि भएका सबै किताब बाँडिदिएँ । वर्षौंदेखि मैले केही पढेको छैन र पढ्ने इच्छा पनि छैन ।’
म जस्तो प्रत्येक दिन खोजीखोजी पत्रिका पढी देश र सारा दुनियाँको हाल खबर सुनी दुःखी हुने र नयाँ उत्तम साहित्य देखेपछि किन्नबाट आफुलाई रोक्नै नसक्ने पुस्तक व्यसनीलाई ती योगीका यी शब्दले भित्रैसम्म प्रतिध्वनि हुने एक झापड गालामा हान्यो ।
यस्तै झापड वषौं अघि आफ्ना गुरु ओशोबाट पनि पाएको हुँ । ओशोलाई एकपटक मैले सोधेको थिएँ  ‘आत्मबोधमा अब मलाई कुन चिजले रोकिरहेको छ, गुरु ?’ उहाँले तुरुन्तै उत्तर दिनुभयो, ‘त्रि्रो ज्ञान नै बाधक छ । तिमी सोच्छौ तिमीलाई धेरै थाहा छ तर तिमीलाई केही थाहा छैन ।’
त्यो दिन पनि मैले यस्तै गुरु चड्कन पाएको थिएँ । सामान्यतः बाहिरबाट संग्रह गरेको पुस्तकीय जानकारीलाई नै हामी ज्ञान भन्ने ठान्छौं । तर मेरो यो पनि स्पष्ट अनुभव के छ भने गुरुको सान्निध्यमा आएपछि माछा, मासु, रक्सी, चुरोट छोड्न साधनाको प्रयासबाट सजिलै सकिन्छ तर पुस्तक र अध्ययनको दुर्व्यसनबाट मुक्त कुनै दुस्साहसी मात्र हुन सक्छ ।
प्र. तपाईं प्रवचन र शिक्षण किन दिनुहुन्न ?
‘सन् २०१७ सालमा मलाई आत्मज्ञान हुन्छ भनी मेरो चिनामा लेखिएको छ । अहिले साधनाको काल छ र यस बेला शिक्षण गरे साधना कमजोर पर्छ ।’
यसबाट पनि मैले अर्को धक्का र झापड पाएँ । तर तुरुन्तै मलाई गुरुको वाक्य संझना भयो, अरुलाई सिकाउनु सिक्ने सबैभन्दा राम्रो उपाय हो । मैलेलाई गुरुको आदेश संझिएँ, ‘तिमी सारा विश्वमा गएर शिक्षण देउ तर आफुमा म गुरु हुँ भन्ने अहंबोध कहिल्यै आउन नदेउ । यसो भएमा शिक्षण पनि साधना भएर आउँछ ।’
प्र. तपाई दिनभरी के गर्नुहुन्छ, कसरी दिन काटनुहुन्छ ?
‘५ घण्टा जति सुत्छु । ३ बजेदेखि उठेर ध्यानमा लाग्छु । नुहाउने धुवाउने, खानाका लागि ३ घण्टा जान्छ । बा“की समय म ध्यानमै बस्छु । जीवन व्यवहारका लागि खर्चिने ३ घण्टाले पनि पीडा दिन्छ, त्यो समय पनि साधनामा लगाउन पाए हुन्थ्यो जस्तो लाग्छ ।’
प्र. के ध्यान गर्नुहुन्छ ?
‘गुरुत्वलाई पार गर्दै पृथ्वीबाट माथि उठी उप्रिmने सिद्धि योगको साधना गर्छु ।’
यस्ता सिद्धि जान्ने योगीहरू मैले पहिले पनि भेटेको हुनाले मलाई यसमा कुनै आर्श्चर्य लागेन ।
प्र. तपाईं हावामा तैरिनु पनि हुन्छ कि उफि्रनु मात्रै हुन्छ ?
‘म उफि्रने (होप) मात्रै गर्छु र तैरिन अझ गहन साधना र उच्च साधकहरूको राम्रो समूह चाहिन्छ । गुरुत्व आकर्षणबाट मुक्तिको अनुभूति पनि बडो सुखद छ ।’
प्र. दिनभरी सिद्धि योग नै गर्नुहुन्छ ?
‘हो, मौका मिल्ने बित्तिकै म यही गर्छु ।’
मैले उनको आँखामा गहिरिए हेरें । त्यसमा परमात्माबोधको आत्मविश्वास थिएन । त्यो उनले दाबी पनि गरिरहेका थिएनन् । शायद सन् २०१७ को प्रतीक्षा गरिरहेका थिए । उचित मार्गदर्शन प्राप्त भएन भने ठुलाठुला त्यागी पनि आफ्नो बहुमूल्य साधना साना साना सिद्धिको आकर्षणमा व्यर्थ खर्च गरिदिंदा रहेछन् । समय र उर्जा खर्चेर संयममा बसेपछि हरेक साधकलाई साधनाको मार्गमा अलौकिक देखिने यस्ता खाले अनेक सिद्धि प्राप्त हुन्छन् । सिद्धिको यो खेलबाट मुक्त भइसकेको गुरुको स्पष्ट मार्गदर्शन प्राप्त नभएकाहरू यही प्राप्त सिद्धिको चमत्कारमा लालायित हुन्छन् । यो सिद्धिको घनचक्करमा आफुपनि पर्छन् र अरुपनिलाई यस माखेसांग्लोमा पार्छन् । किनभने कुनै पनि आफूले गर्न नसक्ने खालका कुराबाट जस्तो सुकै बुद्धिमानी भनाउँदाहरू पनि आकर्षित र प्रभावित हुँदा रहेछन् । चाहे त्यसको आध्यात्मिक या मानवीय मूल्य शून्य किन नहोस् ? वार्तालापका बेला स्वामी शैलेन्द्रजीबाट पाएका दुइ झापडको जवाफ् स्वरुप मलाई पनि यो कुरा उनलाई बिन्ती गर्न मन लागेको थियो । तर शिष्टाचारवश मनमनै राखी उनलाई आदरपूर्वक दण्डवत गरेर बिदा लिएँ । पुस्तक भन्दा पनि खतरनाक सिद्धिको दुव्यसनमा फसेका यी परम वैरागीको व्यसन अगाडि मेरो पुस्तक व्यसन फिक्का पर्‍यो । बाटोभरी ओशो, शिवपुरीबाबा, परमहंस रामकृष्ण, रमण महर्षि, कृष्णमूर्तिको कथन याद आयो – सबै प्रकारका सिद्धिबाट सधै सावधान रहनु, यो महाबन्धन हो । कबीरको यो महाकथनले मलाई पछ्याइरह्यो – साधो सहज समाधि भली । (स्वामी अरुण नागार्जुन, काठमाडौंस्थित ओशो तपोवनका संस्थापक हुन् । यो लेख उनको हालै प्रकाशित पुस्तक “सन्त गाथा”बाट लिइएको हो । हामी उनका लेखहरु  “चिन्तन” स्तम्भमा क्रमश: प्रकाशित गर्दै जाने छौं। सं.)

बैद्यको बिरोधकाबीच माओवादीले हतियारको साँचो बुझायो

निर्णयप्रति कांग्रेस र एमाले सकरात्मक
१५ भदौं, काठमाडौं । पार्टी उपाध्यक्ष मोहन बैद्य पक्षको असहमतिका बीच एकीकृत नेकपा माओवादीले लडाकूहरुको हतियार भण्डारण गरिएको कन्टेनरको साँचो सेना समायोजन विशेष समितिलाई बुझाएको छ ।

पार्टीको घोषणा र विशेष समितिको निर्णय अनुसार माओवादीले बिहीबार साँझबाट मुख्य शिविरहरुमा रहेको कन्टेनरको साँचो विशेष समिति अन्तरगतको अनुगमन टोलीलाई हस्तान्तरण प्रक्रिया सुरु गरेको हो । विशेष समिति अन्तरगतको सचिवालयका संयोजक बालानन्द शर्माले भन्नुभयो-’हतियार कन्टेनरको साँचो हस्तान्रण गर्नु अघि हतियार गणना सुरु भएको छ ।’ उहाँका अनुसार अन्मिनले प्रमाणिकरणका गरेका हतियारहरु गणना गरेर मात्र अनुगमन समितिले साँचो लिनेछ ।

हतियारहरु गणनापछि मुख्य शिविरमा रहेका लडाकू कमाण्डरले मुख्य शिविरका कमाण्डरहरले सेना, प्रहरी, सशस्त्र प्रहरी र लडाकूको प्रतिनिधी सम्मिलित अनुगमन टोलीको सचिव-उप सचिव स्तरका सरकारी कर्मचारी)लाई बुझाउने संयोजक शर्माले जानकारी दिनुभयो ।

तर माओवादी जनसेनाका इन्चार्ज बर्षमान पुन अनन्तले भने सवै शिविरमा साँचो बुझाउने प्रकृया सम्पन्न भएको बताउनुभयो । ‘हाम्रो रिपोर्टअनुसार सवै ठाउँमा साँचो बुझाउने काम भयो भन्ने आएको छ’- पुनले भन्नुभयो ।

पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले बिहीबार अपराहृन लडाकू प्रमुख नन्दकिशोर पुन पासाङ र कमाण्डरहरुलाई आफ्नै निवासमा बोलाएर कन्टेनरको साँचो बुझाउन निर्देशन दिनु भएको थियो ।

सरकार गठन पूर्व माओवादीले पार्टी नेतृत्वमा सरकार बने लगतै कन्टेनरको साँचो विशेष समितिलाई बुझाउने र डेढ महिनाभित्र लडाकू समायोजन प्रक्रिया पूरा गर्ने प्रतिवद्धता जनाएको छ । यस्तै प्रमुख तीन दलबीच भएको सहमति अनुसार विशेष समितिको बुधबार बसेको बैठकले लडाकूहरुको हतियार राखिएको कन्टेनरको साँचो बिहीबार विशेष समिति अन्तरगतको अनुगमन टोलीलाई बुझाउने निर्णय गरेको थियो ।

साँचो बुझाउनु जनमुक्ति सेनाको विघटनः बैद्य पक्ष

माओवादीको बैद्य पक्षले क्यान्टेनरको साँचो बुझाउने निर्णय जनमुक्ति सेनालाई निशस्त्र पारी विघटन गर्ने निर्णय भएको ठहर गरेको छ । महाराजगञ्जमा बिहीबार बसेको उपाध्यक्ष मोहन बैद्य पक्षका नेताहरुको बैठकले मोडालिटी र पुनस्र्थापनाको प्याकेज लगायतका विषयमा निर्णय नभई क्यान्टेनरको साँचो बुझाउनु लडाकूमाथि धोका भएको ठहर गरेको हो । भेलापछि बैद्यद्धारा जारी विज्ञप्तीमा भनिएको छ-’पार्टीको केन्द्रीय समिति तथा स्थायी समितिको निर्णय विपरीत हिजो बसेको ‘सेना समायोजन सम्बन्धी विशेष समिति’द्वारा आज दिनको ५ बजे विशेष समितिलाई कन्टेनर र हतियारको साँचो बुझाउने भन्ने आकस्मिक तथा आश्चर्यजनक रुपमा जुन निर्णय गरिएको छ । त्यो जनमुक्ति सेनालाई निशस्त्र पारी विघटन गर्ने निर्णय हो ।’

बैठकले क्यान्टेनरको साँचो बुझाउनु पार्टी स्थायी समितिको निर्णय र विस्तृत शान्ति सम्झौता विपरित भएको ठहर गरेको छ । ‘अहिले नै साँचो बुझाउनु भनेको स्थायी समितिको निर्णय विपरित छ’ उहाँले भन्नुभयो-’यो भनेको लडाकूमाथि धोकाधडी भएको छ । आधात भएको छ ।’

बैद्य पक्षले क्यान्टेनरको साँचो बुझाउने निर्णयको भत्र्सना गर्दै अबिलम्ब खारेज गर्न सबै सम्बद्ध पक्षलाई अपिल गरेको छ । शान्ति प्रक्रियालाई अघि बढाउन आफूहरु प्रतिवद्ध रहेको भन्दै बैद्य पक्षले निर्णय लिन प्रक्रिया गलत भएको भन्दै सच्याउन माग गरेको छ । निर्णय प्रक्रियामा सैन्य इन्चार्ज एवं महासचिव रामबहादुर थापा बादललाई सहभागी नगराएको तथा आफूलाई समेत जानकारी नगराएकोमा बैद्यको आपत्ति छ ।

कमाण्डरलाई निर्देशन दिइरहेका बेला नयाँबजार पुगेका बैद्यले आफ्ना कुरा राख्न माग गरेका थिए । उनले साँचो बुझाउने निर्णय सच्चाउन दबाब दिंदै त्यसो नगरिए सार्वजनिक रुपमै आफ्नो बिरोध हुने चेतावनी दिएका थिए । साँझ बीवीसी नेपाली सेवासँग बैद्यले भने- मैले सेना समयोजन र साँचो बुझाउनहुन्न भनेको हैन, खाली प्रकृया पुगेन भनेर राजनीतिक र मैत्रीपूर्ण बिरोधमात्र गरेको हुँ ।’

हर्षबडाई गर्ने विषय होइनः एमाले

एमालेले कन्टेनरको साँचो बुझाउनुलाई सकारात्मक भनेको छ । तर, मुख्य विषयहरुमा सहमति भइनसकेकोले यसलाई ब्रेक थ्रु भनेर हर्षबडाई गर्नु आवश्यक नभएको उसको भनाई छ । अनलाइनखबरसँग कुरा गर्दै एमाले महासचिव एवं विशेष समिति सदस्य इश्वर पोखरेलले भन्नुभयो-’सहमति अनुसार पहिले नै गर्नु पर्ने काम भएको छ । ढिलै भएपनि हुनुलाई सकारात्मक भन्नै पर्छ तर, यसलाई ब्रेक थ्रु भनेर हर्षबडाई गर्नु आवश्यक छैन ।’ सुरक्षा निकायमा समायोजन गरिने लडाकूहरुको संख्या, मापदण्ड, तह निर्धारण विधि, पुनस्र्थापना प्याजेक लगायतका विषयमा दलहरु अझै विवाद रहेको भन्दै उहाँले तत्काल लडाकू वर्गिकरण प्रक्रिया अघि बढ्न नसक्ने बताउनु भयो ।

अझै आशंका छः कांग्रेस

कांग्रेसले भने अझै शंकाको दृष्टिले हेरेको छ । ‘साँचो बुझाउने विषयमा माओवादी नेताहरुकै फरक-फरक धारणा आइरहेको छ’ कांग्रेस महामन्त्री प्रकाशमान सिंहले भन्नुभयो-’अब लडाकू हस्तान्तरण जस्तै कति पटक साँचो हस्तान्तरणको कुरा सुन्नु पर्ने हो ।’ माओवादीले क्यान्टेनरको साँचो बुझाए नबुझाएकोबारे विशेष समितिको औपचारिक धारणा आएपछि मात्र केही भन्न सकिने उहाँले बताउनु यो ।

निर्णय उत्साहजनकः अमेरिका

काठमाडौंस्थित अमेरिकी दूतावासले लडाकूहरुको हतियार राखिएका कन्टेनरको साँचो सेना समायोजन विशेष समितिलाई बुझाउने माओवादी निर्णयको स्वागत गरेको छ ।

कन्टेनरका साँचो बुझाउने निर्णय उत्साहजनक प्रोत्साहनदायी भएको भन्दै उसले यसले शान्ति प्रक्रियालाई टुङ्गोमा लैजाने माओवादीको प्रतिबद्धतालाई संकेत गरेको बताएको छ । दूताबासले बिहीबार जारी गरेको विज्ञप्तीमा भनिएको छ-’यो एक उत्साहजनक प्रोत्साहनदायी कदम हो र हामीलाई आशा छ यसले शान्ति प्रक्रियालाई टुङ्गोमा लैजाने माओवादी प्रतिबद्धतालाई संकेत गर्दछ ।’ साथै अमेरिकी दूताबासले शान्ति प्रक्रियामो लचकता र रचनात्मक प्रतिबद्धता अपनाउनु पर्ने बताएको छ ।

विज्ञप्तीमा भनिएको छ-’यद्यपि यसका लागि एमाले, नेपाली कांग्रेस र अन्य सबै राजनीतिक पात्रहरूले नेपाली जनता समक्ष उनीहरूले चाहेको र उनीहरू हकदार रहेको शान्ति ल्याउनका लागि सोही किसिमको लचकता र रचनात्मक प्रतिबद्धता अपनाउन जरुरी हुन्छ ।’

तीन दलको बैठक निष्कर्षविहीन

काठमाडौं, माघ ७ । आफूलाई सहमतीय सरकारको पक्षपाति दावी गर्ने मुख्य तीन दलका शीर्ष नेताहरु बहुमतको सरकार गठनमा सकृय भएका छन् । राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि दिएको एक साताको समय सकिन एक दिनमात्र बाँकी रहँदासमेत उनीहरुले सरकारमा आ-आफ्नो दावी छाडेका छैनन् । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा विहीबार विहान बसेको एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुले सरकारमा आफ्नो अडान कायम राखेका थिए । आफ्नो अडानमा पछि हट्न कोही पनि नमानेपछि विहानको बैठक निष्कर्षविहीन भएको छ । बैठकपछि एमाले नेता भरतमोहन अधिकारीले भोली विहान पुनः सहमतिको प्रयास गरिने बताए । बैठकमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति र संविधान लेखन प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन ठूलो दलको हैसियतले सरकारको नेतृत्व आफ्नो दलले पाउनु पर्ने बताए । यसैगरी काङ्ग्रेस सभापति सुशील कोइरालाले माओवादी र एमालेले सरकारको नेतृत्व गरिसकेकोले आफूहरुलाई सहयोग गर्न आग्रह गरे । बैठकमा एमाले अध्यक्ष झलनाथ खनालले भने राष्ट्रिय सहमति भए माओवादी वा काङ्ग्रेसको नेतृत्व आफूहरुलाई मान्य हुने बताए । उनले माओवादी र काङ्ग्रेसले एक अर्कोको नेतृत्व नस्वीकार्ने हो भने एमालेलाई सहमतीय सरकारको नेतृत्व दिन माग गरे । नियमावली संसोधनमा पनि विवाद नयाँ सरकार गठनका लागि गर्नुपर्ने नियमावली संसोधनमा पनि दलहरुबीच विवाद छ । माओवादीले प्रधानमन्त्री पदका लागि राखिने सबै प्रस्तावलाई ‘हुन्छ’ र ‘हुन्न’ भन्ने प्रक्रियाबाट पालैपालो निर्णयमा पुग्ने अर्थात् ‘प्रस्ताव प्रणाली’ कायमै राखी पहिलो चरणमा परिणाम नआए बढी मत ल्याउने दुई उम्मेदवार मात्र दोस्रो चरणमा प्रवेश गर्नुपर्ने अडान राखेको छ । काङ्ग्रेस र एमालेले भने प्रस्ताव प्रणालीबाट १६ पटकसम्म भएका निर्बाचन व्यर्थ भएको तर्क गर्दै राष्ट्रपति निर्बाचनमा जस्तै प्रस्तावित उम्मेदवारमध्ये कुनै एक छनोट गर्ने अर्थात् ‘उम्मेदवार प्रणाली’मा जानुपर्ने बताउँदै आएका छन् । तर, उम्मेदवार प्रणाली अघि बढाउने प्रक्रियामा भने काङ्ग्रेस र एमालबीच नै विवाद छ । काङ्ग्रेसले माओवादीले जस्तै बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच मात्र दोस्रो प्रतिस्पर्धा हुने व्यवस्था गर्नुपर्ने अडान लिएको छ भने एमालेले पहिलो चरणमा कसैको बहुमत नआए समिकरणको मौका दिन दोस्रोपटक पनि सबैको उम्मेदवारी कायम राख्नुपर्ने अडान लिएको छ ।

कांग्रेस महाधिवेशन सुरु

कांग्रेस महाधिवेशन सुरु

 बालकृष्ण अधिकारी

image

 काठमाडौं, १ असोज : नेपाली कांग्रेसको बहुप्रचारित १२औँ महाधिवेशन शुक्रबार राजधानीमा आरम्भ भएको छ । खुलामञ्चमा आयोजित महाधिवेशन उद्घाटन समारोहमा संविधानसभामा प्रतिनिधित्व गर्ने १८ दलका शीर्ष नेता सहभागी भए । झन्डै पाँच घन्टा चलेको कार्यक्रममा ३३ जना वक्ताले बोल्न भ्याएका थिए । बोल्ने क्रममा नेताहरूबीच घोचपेच र आरोप-प्रत्यारोपसमेत चल्यो । अन्य दलका नेताहरूले कांग्रेसलाई महाधिवेशनको शुभकामना दिनुका साथसाथै सामान्य कटाक्ष गर्न पनि चुकेनन् । भाषणका क्रममा हिन्दी भाषाप्रति मोह देखाउने मधेसी दलका केही नेताले हुटिङको सामना गर्नुपर्‍यो । यद्यपि, उनीहरूले हिन्दीमै भाषण गरे ।

६५ वर्ष लामो कांग्रेसको जीवनमा पहिलोपटक संस्थापक नेताको उपस्थितिविना उद्घाटन सत्र सम्पन्न भएको हो । एकमात्र जीवित संस्थापक नेता कृष्णप्रसाद भट्टराईले कांग्रेसलाई ‘निरर्थक र नक्कली संस्था’ भन्दै कार्यक्रममा उपस्थित नहुने घोषणा गरेका थिए । यद्यपि, उद्घाटन समारोहमा बिपी, सुवर्णशमशेर, गणेशमान, गिरिजाप्रसादसँगै भट्टराईको पनि तस्बिर मञ्चमा सजाइएको थियो ।

निर्धारित समयभन्दा झन्डै एक घन्टा ढिलो सुरु भएको महाधिवेशनको कार्यवाहक सभापति सुशील कोइरालाले द्वीप प्रज्वलन गरी उद्घाटन गरेका थिए । कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाले संयुक्त रूपमा पार्टीको झन्डोत्तोलन गरे । ७ चैतमा सभापति गिरिजाप्रसाद कोइरालाको निधनपछि कांग्रेसको नेतृत्व सुशीलले गर्दै आएका छन् ।

उद्घाटन सत्रमा भाग लिन कांग्रेस नेताहरूभन्दा अगाडि एमाले अध्यक्ष झलनाथ खनाल खुल्लामञ्च पुगेका थिए । कांग्रेस नेता देउवा २ बजे मञ्चमा उपस्थित भए । त्यसपछि क्रमशः जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा, नेपाल सद्भावना पार्टीका श्यामसुन्दर गुप्ता, तराई मधेस लोकतान्त्रिक पार्टीका हृदयेश त्रिपाठी खुल्लामञ्च पुगेका थिए । माओवादी अध्यक्ष प्रचण्ड करिब साढे दुई बजे आइपुगे भने सबैभन्दा ढिला संविधानसभाका अध्यक्ष सुवासचन्द्र न्ोम्वाङ पुगेका थिए ।

कांग्रेस महाधिवेशनको अन्तिम समयसम्म बसेका माओवादी अध्यक्ष दाहाल र कांग्रेसका उपसभापति रामचन्द्र पौडेलबीच पटक-पटक भलाकुसारी र हाँसो देखिन्थ्यो मञ्चमा । उनीहरू दुवै प्रधानमन्त्री पदका उम्मेदवार हुन् । सिमसिम पानी परिरहँदा दाहाल र पौडेलले पालैपालो एकले अर्कालाई छाता ओढाइदिएका थिए ।

उद्घाटन सत्रमा नेपाल संास्कृतिक संघका कलाकारहरूले आकर्षक गीत, नृत्य र संगीत प्रस्तुत गरे । कांग्रेस र उसका सिद्धान्तहरू झल्कने विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो । नेपाल सांस्कृतिक संघका कलाकारले ‘बिपी कोइराला यसो भन्नुहुन्छ’ भन्ने नाटक मञ्चमा प्रस्तुत गरिरहँदा मञ्चमा उपस्थित नेताहरू भावुक बने ।

नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले हिन्दी भाषामा सम्बोधन गरेपछि केही समय हुटिङ भएको थियो । महतोलाई हुटिङ गरेपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले माइकमा आएर ‘उहाँलाई -राजेन्द्र) जेमा सजिलो लाग्छ उही भाषामा सम्बोधन गर्न दिन’ आग्रह गरे । त्यसपछि महतोले हिन्दी भाषामै आफ्नो भाषणलाई निरन्तरता दिए । त्यसअघि उद्घाटन कार्यक्रममा उद्घोषण गर्न आएका कांग्रेसका मुख्य सचिव रामचन्द्र पोखरेलले पनि हुटिङ खाए । उनको उद्घोषण नरुचाएर हुटिङ भएपछि कार्यवाहक सभापतिको निर्देशनअनुसार नेविसंघका अध्यक्ष प्रदीप पौडेललाई कार्यक्रम सञ्चालन गर्न दिइयो ।

महाधिवेशनको उद्घाटन सत्रमा बोल्ने सबै राजनीतिक दलका शीर्ष नेताहरूले मुलुकमा सहमति र सहकार्यको विकल्प नभएको धारणा राखे । उनीहरूले राजनीतिक निकास निकाल्न सहमति र सहकार्यमार्फत शान्ति र संविधान निर्माणलाई प्राथमिकता दिनुपर्ने बताएका थिए । नेताहरूले नेपाली जनता र नेपाली राजनीतिको मियोको रूपमा रहेको कांग्रेसले शान्ति र संविधानमा पनि मियो बन्न सक्नुपर्ने बताए ।

कांग्रेसको महाधिवेशनको सफलताको शुभकामना दिन आएका विभिन्न राजनीतिक दलका नेताहरूले कांग्रेसले विगतमा प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरेकोमा मुक्तकण्ठले प्रसंशा गरे । मञ्चमा नेपालका राजनीतिक पार्टीलगायत भारत, बंगलादेश र चीनबाट विभिन्न पार्टीका प्रतिनिधि आएका थिए । अमेरिका, जापान, बेलायतलगायतका देशबाट आएका शुभकामना-सन्देश पढेर सुनाइएको थियो ।

उद्घाटन सत्र सुरु हुनुअघि राजधानीका विभिन्न स्थानबाट कांग्रेसका नेता तथा कार्यकर्ताको र्‍याली खुलामञ्चमा आएको थियो । उद्घाटनस्थलमा आउने झाँकी-जुलुसका लागि औपचारिक मार्ग नतोक्दा कार्यक्रम केही अस्तव्यस्त बन्न पुगेको थियो । कार्यक्रमस्थलमा आउने सवारीसाधनलाई सहिदगेटतर्फको खुल्लाचौरमा पार्किङको व्यवस्था गरिएको थियो । सुरुमा सवारी जाम भए पनि ट्राफिक प्रहरीको सक्रियताका कारण पछिल्लो समयमा यातायात खुकुलो भएको थियो । ट्राफिक व्यवस्थालाई चुस्त बनाउनका लागि विभिन्न एक सय ६७ प्वाइन्ट बनाएर ट्राफिक परिचालन गरिएको थियो । महाधिवेशनस्थलमा स्वास्थ्य सुरक्षा, खानेपानीलगायतलाई व्यवस्थित बनाइएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरीले महाधिवेशनको सुरक्षा दिएका थिए । नेताहरू मञ्चमा प्रवेश गर्नुअघि तालिमप्राप्त कुकुरबाट मञ्चको सुरक्षा जाँच गरिएको थियो ।

 बन्दसत्र दिउँसो मात्र

कसले के भने ?

माधवकुमार नेपाल, प्रधानमन्त्री

प्रतिगामी दाउपेच र अतिवादीप्रति सचेत हुन जरुरी छ । यो महाधिवेशनले यी विषयमा छलफल गरोस् । राजनीतिक शक्तिबीच गहिरो अविश्वास छ । राजनीतिक मतभिन्नतालाई टाढा राख्नुपर्ने अवस्था छ । एमालेको आग्रहमा माओवादीले उम्मेदवारी फिर्ता लिएको घोषण्ाा गरेकाले सहमतिका लागि कांग्रेसले पनि अग्रसरता देखाउनुपर्छ ।

शेरबहादुर देउवा,  वरिष्ठ नेता, कांग्रेस

पुष्पकमल दाहाल : माओवादी

म बिपी र गिरिजाबाबुको लोकतन्त्रप्रतिको प्रतिबद्धतालाई सम्झन चाहन्छु । गिरिजाप्रसाद कोइरालाले मलाई शान्ति-प्रक्रियामा ल्याएको होइन, गिरिजाप्रसाद कोइराला र मैले मिलेर शान्ति-प्रक्रिया सुरु गरेका हौँ । गिरिजाबाबु र प्रचण्डबीच जसरी अन्तरंग सम्बन्ध थियो त्यो आज किन बिगि्रयो भन्ने तपाईंहरूले महाधिवेशनमा छलफल गर्नु होला । शान्ति-प्रक्रिया र संविधानलेखनलाई पूण्र्ाता दिन प्रधानमन्त्रीको रेस छोडिदिएँ, अब म त्यो रेसमा छैन, हाम्रो पार्टीले यो रेस छाड्न आग्रह गर्‍यो । तपाईंहरूले यसलाई कसरी लिनुहुन्छ । यसको समीक्षा गर्ने तपाईंको महाधिवेशनलाई यो छलफलका लागि जिम्मेवारी छाड्छु । कमजोरीका रूपमा लिनुहुन्छ वा राष्ट्रिय सहमतिका लागि गरेको त्याग भन्ने छलफल गर्ने जिममा तपाईंहरूको हो । माओवादी ठूलो दल भएकै कारण्ा यो समस्या आएको छ भने यो लोकतन्त्र हो ? माओवादीलाई निषेध गरे यो देशको लोकतन्त्र घातक हुन्छ । कांग्रेस र एमालेलाई माइनस गरेर पनि लोकतन्त्र सफल हुन सक्दैन ।

  

झलनाथ खनाल : एमाले

कांग्रेस र कम्युनिस्टहरूको एकताले विभिन्न सफलता प्राप्त भएका छन् । दक्षण्िा एसियामा नै पहिलोपटक संसद् पुनस्र्थापना भयो । राजतन्त्रको उन्मूलन गर्‍यौँ । साना-ठूला पार्टीहरू एक भए भने सम्पूण्र्ा गतिरोधको समाधान हुन्छ ।

  

सुवास नेम्वाङ, संविधानसभाका अध्यक्ष

कांग्रेसले शान्ति-प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन, संविधानलेखन प्रक्रियामा निणर्ायक र महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ । शान्ति र संविधान निर्माणमा कांग्रेसलेे निणर्ायक भूमिका खेल्न सक्यो भने मात्र मुलुकले नयाँ गति लिन सक्छ । सहमति, सहकार्य र एकताको विकल्प छैन । स्व. गिरिजाप्रसाद कोइरालाको सपनालाई सार्थकता दिन व्यक्तिभन्दा पार्टी ठूलो हो, पार्टीभन्दा देश ठूलो हो भन्ने भावनाका साथ प्रमुख राजनीतिक दलहरूले काम गर्न सक्नुपर्छ । घरभित्रको झगडा घरभित्रबाटै मिलाउनुपर्छ । मुलुकको समस्या समाधान गर्न कांग्रेसलाई विगतमा जस्तै अहिले पनि राम्रो अवसर छ यसलाई उपयोग गर्न सक्नुपर्छ ।

प्रेमबहादुर सिंह, समाजवाद जनता दल

मुलुकको संक्रमणकालीन अवस्थामा देशकै पुरानो पार्टी कांग्रेसको महाधिवेशन सुरु भएको छ । यो महाधिवेशनले अवरुद्ध शान्ति-प्रक्रिया सुचारु गर्दै निष्कर्षमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्नेछ । शान्ति, समृद्धि र संविधानलेखनमा कांग्रेसको महाधिवेशनले ऐतिहासिक निर्णय लिनेछ । मुलुकले निकास पाए लोकतन्त्र र समाजवाद स्थापित हुनसक्छ । त्यसको नेतृत्व कांग्रेसबाट मात्र सम्भव छ ।

श्यामसुन्दर गुप्ता, नेपाल सद्भावना पार्टी (आनन्दीदेवी)

मुलुकमा भएका सबै ऐतिहासिक आन्दोलनको नेतृत्व कांग्रेसले लिएको छ । लोकतन्त्रको रक्षा कांग्रेसले मात्र गर्न सक्छ । २०६२/०६३ को जनआन्दोलनको म्यान्डेटलाई प्रमुख राजनीतिक दलहरूले छोडेका छन् । सत्ताका लागि प्रमुख दलहरू मिलेर अघि बढ्न सके मात्र मुलुकले निकास पाउँछ ।

कमल थापा, राप्रपा नेपाल

मुलुकको शान्ति-प्रक्रिया र संविधान निर्माण संकटमा परेको छ । प्रजातन्त्रमाथि नै कालोबादल मडारिएका वेला भएको पुरानो शक्ति कांग्रेसको महाधिवेशनले मुलुकको संकटलाई निकास दिन महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ । राष्ट्रियता, प्रजातन्त्रमाथि खतरा आएका वेला बिपी कोइरालाले लिनुभएको मेलमिलापको नीति अचुक औषधि सावित भएको थियो । अहिले पनि कांग्रेसले बिपीको मेलमिलापको नीतिलाई अघि बढाउन सक्नुपर्छ ।

पर्शुराम खापुङ, राप्रपा

कांग्रेसले विगतको विरासतलाई निरन्तरता दिन सक्नुपर्छ । विगतमा लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेजस्तै आगामी दिनमा शान्ति, लोकतन्त्र र संविधान निर्माणका लागि पनि उसले महत्त्वपूर्ण भूमिका खेल्न सक्नुपर्छ ।

चित्रबहादुर केसी, राष्ट्रिय जनमोर्चा

कांग्रेसले प्रजातान्त्रिक आन्दोलनको सधैं नेतृत्व गर्दै आएको छ । अहिले राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमिकता र लोकतन्त्र अप्ठ्यारोमा परेको छ, त्यसलाई निकास दिन सक्नुपर्छ । मुलुकलाई संकटबाट निकास दिन शान्ति र संविधान अनिवार्य छ । त्यसका लागि मुलुकमा प्रजातन्त्रवादी र वामपन्थी शक्तिबीचको एकता आवश्यक छ । विभाजन होइन, एकताले मात्र शान्ति र संविधान निर्माण सम्भव हुन्छ । हाम्रो लक्ष्य कुर्सी मात्र होइन, शान्ति र समृद्धि हो भन्ने कुरा ख्याल गर्नुपर्छ ।

चन्द्रदेव जोशी, नेकपा संयुक्त

अवरुद्ध शान्ति-प्रक्रिया र संविधान निर्माणलाई महाधिवेशनले अघि बढाउन ऊर्जा प्रदान गर्नेछ । मुलुकले निकास पाउनेछ भन्ने सबैको आशा र भरोसा छ । त्यसका साथै कांग्रेस आफ्नो समाजवादी विचारबाट विचलित भएको आवाज सुनिन थालेको छ, महाधिवेशनले लोकतान्त्रिक समाजवादलाई पुनस्र्थापित गरोस् ।

कविर तिमलसेना, जनता दल

देश जटिल र कठिन अवस्थामा छ । शान्ति-प्रक्रिया जीवनमरणको दोसाँधमा छ । यस्तो वेलामा सुरु भएको कांग्रेसको महाधिवेशनले शान्ति र संविधानलाई सुनिश्चित गर्न बल पुर्‍याउनेछ । जनताको जनजीविकाका सवाललाई अझ खरो रूपमा उतार्नेछ ।

राजेन्द्र महतो, सद्भावना पार्टी

मुलुक र गणतन्त्रप्रति अझै ठूलो संकट आउने अवस्था छ । अब आउने चुनौतीको सामना गर्न सक्ने गरी कांग्रेसले आफूलाई यो महाधिवेशनबाट अझ सशक्त बनाउनेछ । महाधिवेशनबाट कांग्रेस गणतन्त्रलाई संस्थागत गर्न सजग रहनेछ । पार्टीलाई एकताबद्ध बनाएर आफूलाई नयाँ दिशाका साथ अघि बढाउन सक्यो भने मात्र शान्ति र संविधान निर्माण पनि अघि बढ्न सक्छ ।

सरिता गिरी, नेपाल सद्भावना पार्टी

लोकतान्त्रिक आन्दोलनको चेतनाको बाहक नै कांग्रेस हो । कांग्रेसको नेतृत्वबाट मात्र मुलुकले पार पाउन सक्छ । पशुपतिको देशमा नीलकण्ठ भएर मुलुकको समस्या समाधान गर्न कांग्रेस अग्रसर हुनुपर्छ ।

लक्ष्मीलाल चौधरी, नेपाल लोकतान्त्रिक समाजवादी दल

बिपी कोइरालाको मेलमिलापको नीतिलाई अंगीकार गरे मुलुकले निकास पाउनेछ । देश डुब्ने खतरा बढेको छ । त्यसका लागि शान्ति-प्रक्रियालाई पूरा गरेर संविधान निर्माण गर्न दलहरूबीच सहमति, सहकार्य र एकता आवश्यक छ ।

सिपी मैनाली, नेकपा माले

शान्ति-प्रक्रिया चिप्लेकीराको गतिमा अघिबढेको छ । जसले जारी शान्ति-प्रक्रिया नै संकटमा परेको छ । यस्तो अवस्थामा कांग्रेसले विगतका कमी-कमजोरीलाई छोडेर मूल्य र मान्यताको राजनीतिलाई आत्मसात् गर्न सक्नुपर्छ । विचार, संगठन र नेतृत्वमा कांग्रेसले एकता ल्याउन सक्नुपर्छ ।

हृदयेश त्रिपाठी, तमलोपा

विभिन्न राजनीतिक दल गणतन्त्रमा जाँदासमेत मुलुकमा गणतन्त्र आएको थिएन । तर, कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले गणतन्त्रमा जाने निर्णय गरेपछि मुलुकमा गणतन्त्र स्थापना भएको हो । उक्त तथ्यलाई आत्मसात् गर्दै कांग्रेसले आफूलाई अघि बढाउन सक्नुपर्छ । प्रमुख राजनीतिक दलका प्रमुख नेताका कारण युगान्तकारी परिवर्तन संकटमा परेको हो । कुर्सी छोडेर मुलुकलाई निकास दिन सबै दल अग्रसर हुनुपर्छ ।

सदानन्द सिंह, कांग्रेस आई

कांग्रेसको लामो संघर्षपछि नेपालमा राजतन्त्रको अन्त्य भएको हो । बिपी कोइराला र जिपी कोइरालाको लामो मिहिनेतले नेपालमा लोकतन्त्रको स्थापना भएको हो । नेपालको प्रजातन्त्र र मुलुकको भरोसा भनेको नै कांग्रेस हो । जनताको सुख-दुःखमा कांग्रेसले मात्र साथ दिन सक्छ । प्रजातन्त्रको अगुवा पार्टी हो कांग्रेस ।

भरत कोषीवारी, बिजेपी

कांग्रेससहितका लोकतन्त्रवादीको एकताबाट नेपालमा राजशाहीको अन्त्य भयो । १० असोजमा नेपालमा सूर्य उदाउनेछ । नेपालमा जारी सबै राजनीतिक गतिरोधको अन्त्य हुनेछ । नेपालमा धेरै रगत बगेको छ । अब रगत होइन हिमालबाट बगेका पानीले खेती गर्नुपर्छ । नेपालमा स्थिर सरकार र संविधान निर्माण होस् । यो सगरमाथाको देश नेपालले विकास र समृद्धिका कारण एक दिन सगरमाथाजस्तै उचाइ लिनेछ ।

डा. गिरी शर्मा, भारतीय कम्युनिस्ट पार्टी

विश्व आर्थिक मन्दीको चपेटामा परिरहेको वेला नेपाल भने शान्ति, संविधान, रोजगारी, शिक्षा, स्वास्थ्यलगायतका चुनौतीको सामना गरिरहेको छ । कांग्रेसले अन्य लोकतान्त्रिक शक्तिलाई समेत साथ लिएर मुलुकको पुनर्निर्माण गर्नेछ । यो काम कांग्रेसबाट मात्र सम्भव छ ।

जोगेन्द्र शर्मा, भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादी

भारत र भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीले नेपालमा भएको लोकतान्त्रिक आन्दोलनमा सधैं साथ दिँदै आएका छन् । आगामी दिनमा पनि नेपालको उन्नति-प्रगतिमा साथ दिनेछन् । सरकार बनाउनु मात्र लोकतन्त्र होइन, शान्ति र प्रगति गर्नु लोकतन्त्र हो । त्यसैले नेपालका राजनीतिक दलका सामु चुनौती छ, मिलेर चुनौतीको सामना गर्नुपर्छ ।

सुरेन्द्र महोन, समाजवादी नेता

कांग्रेसको नेतृत्वमा नेपालमा समाजवादी आन्दोलन सफल भएको छ । त्यसलाई संस्थागत गर्न कांग्रेसले अझ महत्त्वपूर्ण र विगतमा जस्तै नेतृत्वदायी भूमिका खेल्नेछ ।

रत्नेश्वरलाल कर्ण, मधेसी जनअधिकार फोरम

लोकतान्त्रिक आन्दोलनको नेतृत्व विगतमा पनि कांग्रेसले गरेको थियो । अहिले मुलुक कठिन अवस्थाबाट गुजि्ररहेको अवस्थामा मुलुकलाई निकास दिने नेतृत्व कांग्रेसले आगामी दिनमा पनि लिनुपर्छ ।

सूर्यबहादुर थापा, राजपा

मुलुकको कठिन कालखण्डमा समेत प्रजातन्त्रको सन्देश बोकेको पार्टी हो कांग्रेस । तर, अहिले राजनीतिक नेतृत्व असफल भएको अवस्थामा यसको महाधिवेशन सुरु भएको छ । जसले राजनीतिक दलमाथि नै जनताले आशंका व्यक्त गर्न थालेका छन् । संसदीय पद्धति नै असफल पार्ने प्रयास भएको छ । राज्यका सबै अंग खलबलिएका छन् । सामाजिक सद्भावसमेत संकटमा परेको छ । मुलुकको आर्थिक अवस्था गिर्दो छ । इतिहास बोकेको कांग्रेसले विगतबाट पाठ सिकेर मुलुकमा हुन लागेको सम्भाव्य दुर्घटनालाई पार लगाउनेछ । प्रजातन्त्रको रक्षा गर्नुको साथै प्रजातान्त्रिक शक्तिहरूलाई कांग्रेसले समेटेर अघि बढ्नेछ । दलहरूबीच देखिएको असन्तुलनलाई कांग्रेसले चिर्नेछ ।

विजयकुमार गच्छेदार, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक

१२औँ महाधिवेशनले कांग्रेसमा आन्तरिक प्रजातन्त्रलाई सुदृढ गर्न एकताको सन्देश दिन सकोस् । विगतमा पार्टी र सरकार सञ्चालनमा गरेका गल्तीलाई कांग्रेसले सुधार गर्दै जानेछ । पार्टी र आफ्नो स्वार्थलाई छोडेर प्रमुख राजनीतिक दलहरूले मुलुकका लागि २४ घन्टा मात्र समय दिने हो भने सबै समस्याको समाधान हुनेछ । तर, माओवादीले कुर्सीलाई सर्वोपरी ठान्यो । कांग्रेसले अब शान्ति र संविधानका लागि फेरि एकपटक कुर्सीमोह त्यागेर शान्ति र संविधान निर्माणका लागि नेतृत्व गर्न सक्नुपर्छ । 

अरुणापि्रया दर्शना, वातावरणमन्त्री, श्रीलंका 

कांग्रेस नेपालको एक मात्र प्रजातन्त्रवादी पार्टी हो । यसले पटकपटक प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरेको छ । आन्दोलनका उपलब्धिलाई कांग्रेसले संस्थागत गर्दै मुलुकको उन्नतिको नेतृत्व गर्नुपर्दछ ।

कांग्रेस संविधानसभामा दोस्रोे पार्टी भए पनि अब यसलाई सबैभन्दा ठूलो बनाउँछु । माओवादीलाई हामीले घिसारेर ल्याएको भनेको छैनौँ, तर माओवादी आएका त हुन् नि !

सधैँका परिवर्तनका लागि भएका आन्दोलनको नेतृत्व कांग्रेसले नै गर्दै आएको छ । शान्ति र संविधान निर्माणको नेतृत्व पनि कांग्रेसले नै गर्छ ।

सुशील कोइराला, कार्यबाहक सभापति, कांग्रेस

मुलुकको समस्या निकासका लागि बल माओवादीको कोर्टमा छ । पार्टीलाई सबल र सक्षम ढंगले अघि बढाउनुपर्नेछ । १२औँ महाधिवेशनले प्रजातान्त्रिक मूल्यमान्यता, आदर्श, विवेक, अनुशासन र संस्थागत गर्नेछ । व्यक्तिगत नभई संस्थागत ढंगबाट पार्टी अघि बढ्नेछ । महाधिवेशनले सामाजिक, राजनीतिक र आर्थिक समस्यका सम्बन्धमा व्यापक बहस भई स्पष्ट नीति तय गर्नेछ ।

रामचन्द्र पौडेल, संसदीय दलका नेता, कांग्रेस

शान्ति र संविधान सम्पन्न गर्न सहमतिको आवश्यकता छ । कांग्रेस यसमा विमुख भएको छैन । नेपालको राजनीति गतिरोधमा अडि्कएको छ । सहमतिबाट प्रधानमन्त्री चयन अपवादमा हुन्छ । यो अपवादमा कति दिन झुन्ड्याउने हो । प्रधानमन्त्रीको उम्मेदवारी प्रचण्डजीले छाडेँ भन्नुभयोे, अब कहाँ टुंगिन्छ ? यसको पनि परीक्षा गर्नु छ । एमाले र माओवादीबीच भएको सहमतिले मुलुकलाई कहाँ पुर्‍याउँछ यो हेर्नु छ । प्रचण्डले हतियार र हिंसाको राजनीति छाडिदिनुहोस् म यो प्रधानमन्त्रीको उम्मेदवारी त्याग्न तयार छु ।

कांग्रेसको १२औँ महाधिवेशनको बन्दसत्र शनिबार दिउँसोबाट सुरु हुने भएको छ । बिहानैदेखि सुरु हुने भने पनि निर्वाचन समितिले दिउँसो दुई बजेपछि मात्र बन्दसत्र सुरु हुने जनाएको छ । बन्दसत्र भृकुटीमण्डस्थित प्रदर्शनीहलमा हुनेछ ।

Follow

Get every new post delivered to your Inbox.